नेपाली महिला फुटबलमा विभागीय टोलीकै दबदबा छ । राष्ट्रिय टोलीमा विभागीय टोली एपिएफ एफसी, नेपाल पुलिस र त्रिभुवन आर्मीले वर्चस्व राख्दै आएको छ । राष्ट्रिय महिला लिगमा होस् या अन्य प्रतियोगितामा, उनीहरूले उपाधि जित्दै आएका छन् । छिटपुट रूपमा कहिलेकाहीँ अन्य टोलीले उपाधि जितेको छ । झापामा चलिरहेको महिला गोल्डकपमा पनि विभागीय टोलीकै वर्चस्व देखिएको छ । अहिले विभागीय टोलीले नै कब्जा गर्ने लगभग निश्चित भएको छ ।
प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसले संकटा क्लबमाथि २–० को जित निकाली फाइनल स्थान पक्का गरेको छ । संकटाको हारसँगै फाइनलमा दुई विभागीय टोली पुग्ने निश्चित बनेको हो । शनिबार एपिएफले आर्मीको सामना गर्नेछ । यो खेलको विजेताले पुलिसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पुन: एकपटक महिला फुटबलको उपाधि भिडन्त विभागीयबिच हुने भएको हो । फाइनलमा विभागीय डर्बी नै हुने पुलिस क्लबका प्रशिक्षक भोला सिलवाल बताउँछन् ।
झापामा विभागीयबाहेकका अन्य पाँच टोली कमजोर देखिए । तुलनात्मक रूपमा राष्ट्रिय महिला टोलीको उमेर समूह र केही सिनियर राष्ट्रिय महिला टोलीका सदस्य समावेश गरेर बनाएको संकटा दर्बिलो देखियो । तर, शुक्रबार दुधे रंगशालामा संकटा पुलिससँग २–० ले पराजित हुन पुग्यो । पुलिसको जितमा राष्ट्रिय महिला टोलीमा भर्खर मात्र डेब्यु गरेकी मिना देउवा र स्टार स्ट्राइकर रेखा पौडेलले समान एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको संकटाले दोस्रो हाफमा पुलिसको आक्रामक खेललाई विफल बनाउन नसक्दा सेमिफाइनलबाट नै बाहिरन पुग्यो ।
खेलको ६९औँ मिनेटमा पुलिसका लागि मिना देउवाले पहिलो गोल गरिन् । ३७ यार्ड टाढाबाट पुलिसकी डिफेन्डर पूजा रानाले प्रहार गरेको फ्रिकिकमा मिनाले हेडिङ गोल गरिन् । संकटाकी समीक्षा मगरले पूजालाई फल गरेपछि पुलिसले फ्रिकिक पाएको थियो । खेलको ८२औँ मिनेटमा पुलिसले स्ट्राइकर रेखाको गोलसँगै जित हात पार्यो । संकटाकी कप्तान याशोदा शाहीले क्लियर गर्न नसकेको बललाई रेखाले संकटाकी गोलरक्षक सुशीलाकुमारी चौधरीलाई बिट गर्दै गोल गरेकी हुन् ।
संकटालाई जित्न निकै गाह्रो भयो : भोला सिलवाल, प्रशिक्षक, पुलिस
संकटासँग जित निकाल्न निकै गाह्रो भयो । उमेर समूहका प्राय: राष्ट्रिय खेलाडी थिए । राम्रो टिमसँग खेल हुँदा स्कोर जहिले पनि यस्तै कम नै हुन्छ । मैले अनुभवी खेलाडी निरू थापालाई मैदान प्रवेश गराएँ । हामीमाथि पनि दबाब आएपछि मिडफिल्ड खाली देखेकाले निरूलाई पठाएकी हुँ । त्यसपछि तालमेल मिलेजस्तो भयो । तर, संकटाविरुद्धको खेल त्यति सहज थिएन । फाइनलमा हामी आक्रामक खेल नै खेल्छौँ ।
पुलिसलाई चुनौती दियौँ : रवीन्द्र सिलाकार, प्रशिक्षक, संकटा
पुलिससँगको खेलमा हामी रणनीतिक र प्राविधिक रूपमा अगाडि नै थियौँ । पहिलो हाफसम्म हामीले पुलिसलाई दबाबमा राखी चुनौती दियौँ । तर, फिनिसिङ नहुँदा समस्या भयो । हामीसँग युवा स्ट्राइकर भए पनि अनुभवको कमी छ । विपक्षीको डिफेन्स अनुभवी थियो । राष्ट्रिय टिमको डिफेन्स समालेको डिफेन्स थियो । यो खेल जुनियर भर्सेस सिनियर राष्ट्रिय टोलीको जस्तो थियो । जसमा जुनियरलाई सिनियरसँग खेल्न त गाह्रो नै हुन्छ ।