- सहिद स्मारक ‘ए’ डिभिजन लिगको सट्टा राष्ट्रिय लिग आयोजना गर्ने एन्फाको निर्णयले कम्तीमा १२ सय खेलाडी मैदानबाहिरै हुने अवस्था
चार वर्षमा चारपटक हुनुपर्ने सहिद स्मारक डिभिजन लिग एकपटक मात्र गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले उल्टै अधिकांश खेलाडीले खेल्नै नपाउने गरी राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेपछि विरोध सुरु भएको छ । एन्फाअन्तर्गतको नेपाल खेलाडी संघको नेतृत्वमा राष्ट्रिय फुटबल खेलाडीहरूले बिहीबार सातदोबाटोस्थित एन्फाको मूलगेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका पदकसमेत झुन्ड्याएर विरोध गरेका हुन् ।
१७ कात्तिकमा एन्फा र ‘ए’ डिभिजन खेल्ने १४ क्लबबिच राष्ट्रिय लिग मात्रै खेलाउने सहमति भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सट्टा राष्ट्रिय लिग गर्दा १२ सयदेखि बढीमा २१ सयसम्म खेलाडी खेल्ने अवसरबाट वञ्चित हुने खेलाडीहरूको चिन्ता छ । राष्ट्रिय लिग गर्दा जम्मा ३८० ले मात्रै खेल्ने अवसर पाउँछन् । एन्फाको यस्तो नीतिका कारण खेल्नै नपाउने भएपछि खेलाडीहरू विरोधमा उत्रिएका हुन् ।
तीन तहमा आयोजना हुने सहिद स्मारक डिभिजनलाई फुटबल विकासको मेरुदण्ड मानिन्छ । एन्फाले हरेक वर्ष ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग आयोजना गर्छ । तीनै लिगमा १४–१४ क्लबले सहभागिता जनाउँछन् । एउटा क्लबले लिगमा कम्तीमा पनि २३ खेलाडी अनुबन्ध गर्र्नैपर्ने नियम हुन्छ । बढीमा ५० जनासम्म राख्न पाउँछन् । पछिल्लोपटक मात्रै ‘ए’ डिभिजन लिग खेल्ने खेलाडी संख्या कम्तीमा पनि ३५० थियो । यसैगरी ‘बी’ र ‘सी’ डिभिजनमा पनि कम्तीमा ३५० कै हाराहारीमा खेलाडीले खेल्ने गरेका छन् । त्यस्तै, तीनै डिभिजन लिगअघि एन्फाले ‘सी’ डिभिजन छनोट लिग पनि आयोजना गर्छ । यो भने खुला छनोट हो । यसमा जति पनि टिम सहभागी हुन्छन्, उनीहरूले पनि २३ खेलाडीलाई टिममा समावेश गर्नुपर्छ । यस छनोटबाट अन्तिममा दुई टिम ‘सी’ डिभिजन लिगमा छनोट हुन्छन् ।
तर, राष्ट्रिय लिग आयोजना हुँदा १० टोलीले मात्रै एक सिजनमा प्रतिस्पर्धा गर्नेछन् । जसमा एक टिमले कम्तीमा २३ खेलाडी राख्न पाउँछ । बढीमा कति भनेर खुलाइएको छैन, तर अधिकतम ३८० खेलाडीले मात्रै रोजगारी पाउने खेलाडीहरू बताउँछन् ।
‘ए, बी र सी डिभिजनका १४–१४ गरी कुल ४२ क्लबको उपस्थिति पुन: अर्को वर्ष नहुने पक्का भएको छ । यसो हुँदा क्लबबाट न्यूनतम ३० र अधिकतम ५० गर्दा १२ सय ५० देखि २१ सय खेलाडी खेल्नबाट वञ्चित हुने भएका छन्,’ नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने । उनी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा देशलाई स्वर्ण पदक जिताएका खेलाडी हुन् । त्यतिवेला उनी राष्ट्रिय फुटबल टिमको कप्तान थिए ।
एन्फाको निर्णयले बेरोजगार बनाउने मात्रै होइन, आफूहरूको वृत्तिविकासमा पनि असर पर्ने खेलाडीहरूको गुनासो छ । खेलबाट टाढा हुनुपर्ने, अभ्यास र खेल नहुँदा आफ्नो उमेर नै ढल्किँदै जाने र जीविकोपार्जन गर्न बिदेसिनुपर्ने बाध्यता निम्तिने फुटबलर अञ्जन विष्टले बताए । उनी देशका लागि कीर्तिमानी १३ गोल गरेका खेलाडी हुन् ।
‘धर्नामै बस्नुपर्ने यस्तो दिन आउँछ जस्तो लागेको थिएन, यो नेपाली फुटबलका लागि दुर्भाग्य हो,’ उनले भने, ‘समयमा लिग नहुँदा धेरै खेलाडी पलायन भएका छन् । मेरै दाइ (रञ्जन विष्ट) पनि बिदेसिनुपरेको छ । यस्तो विडम्बनालाई एन्फाले राम्रोसँग बुझोस् ।’
खेलाडी एन्फाअगाडि आन्दोलनमा उत्रिँदा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ भने उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडालगायत पदाधिकारीसँग चितवनमा थिए । महासचिव किरण राई पनि हेटौँडा पुगेका थिए । अध्यक्ष नेम्वाङले आफ्नो चारवर्षे कार्यकालमा चारपटक गर्नुपर्ने सहिद स्मारक डिभिजन एकपटक मात्र आयोजना गरेका छन् ।
एन्फाले भने क्लबहरू राष्ट्रिय लिगतर्फ उन्मुख भएपछि निर्णय गरिएको दाबी गरेको छ । एन्फा प्रवक्ता सुरेश शाहले क्लबहरू तयार भए निर्णयमा पुनर्विचार गर्न सक्ने बताए । ‘मैदानमा हुनुपर्ने खेलाडी सडकमा संघर्ष गरिरहेका छन् । यो दु:खद हो, हामी पनि चिन्तित छौँ,’ उनले भने, ‘एन्फाले लिग नगर्ने कहिल्यै भनेको छैन । ‘सी’ डिभिजन लिग आयोजना गरेपछि ‘बी’ डिभिजन गर्न नै दुई वर्ष लाग्यो । ‘ए’ डिभिजन लिग खेल्न १४ क्लब तयार छन् भने हामी आयोजना गर्न तयार छौँ । हामी खेलाडीसँग पनि छलफल र वार्ता गर्छाैँ ।’
खेलाडीको आन्दोलनमा पूर्वकप्तान विराज महर्जनसँगै १३औँ सागमा स्वर्ण पदक जिताएका गोलकिपर विकेश कुथू, वर्तमान टोलीका एरिक विष्ट, रोहित चन्द, सनिस श्रेष्ठ, सन्तोष खत्री, टिकेन्द्र थापा, आदित्य शाक्य तथा राष्ट्रिय टिमका पूर्वखेलाडी विशाल श्रेष्ठ, रूपेश केसीलगायत थिए । त्यस्तै, प्रशिक्षक तथा पूर्वखेलाडी राजेश मानन्धर र गौरव बस्नेतलगायत चर्चित अनुहार प्रदर्शनमा सहभागी भएका थिए ।
चार वर्षमा मात्र एकपटक लिग
एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि चार वर्षमा चारपटक हुनुपर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग एकपटक मात्र भएको छ । नेम्वाङ ६ असार ०७९ मा चार वर्षका लागि निर्वाचित भएका थिए । पहिलो वर्षमै शीर्ष डिभिजन लिगको आयोजना गरेका उनले पछिल्लो दुई वर्षमा मात्रै एउटा साइकल पूरा गरेका हुन् ।
नेपालका लागि अस्ट्रेलियन प्रशिक्षक म्याट रसले लिग निरन्तर नभएका कारण आफूलाई टिम सम्हाल्न निकै गाह्रो भएको प्रतिक्रिया नै दिएका थिए । लगातार खराब प्रदर्शनपछि उनले पछिल्लो साता मात्रै राष्ट्रिय टिमको प्रशिक्षक पदबाट कार्यकाल नसकिँदै राजीनामा दिएका छन् ।