पूर्वमन्त्री सुमना श्रेष्ठले पुराना दलहरू रिफर्म होलान् र राजनीतिक निकास पाइएला भन्ने आशा राख्नु मूर्खता हुने बताएकी छिन् । उनले फेसबुकमार्फत पटक–पटक नेतृत्वमा पुगेर देशलाई निराशाबाहेक केही दिन नसकेकाहरू एकजुट हुनु केवल चुनावी समीकरण मिलाउनका लागि मात्रै भएको उल्लेख गरेकी छिन् । तर, परिवर्तन ल्याउने भनिएकाहरू भने अझै पनि छिन्नभिन्न भएकोमा उनको गुनासो छ ।
उनले लेखेकी छिन्–
राजनीतिक निकासविना कुनै पनि आन्दोलन संस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर, पुराना दलहरू रिफर्म होलान् र राजनीतिक निकास पाइएला भन्ने आशा राख्नु मूर्खता हो। पटक–पटक नेतृत्वमा पुगेर देशलाई निराशाबाहेक केही दिन नसकेकाहरू एकजुट हुँदै छन्, चुनावी समीकरण मिलाउनका लागि ।
परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्नभिन्न। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ । यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हरएक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देख्दछु।
सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि ? पार्टीलाई दिशा दिन एक नेता हाेइन एउटा परिषद् (काउन्सिल अफ लिडर्स) बनाए कस्तो होला ? कुनै एक नायकको अनुहार अगाडि राख्नुको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न ?
हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिँडेर बजारलाई ठिक्क नियमनमा राखी समृद्धि ल्याउने सरकार हो । यस्तो जनताको मुद्दा बोक्ने ‘वैकल्पिक’ राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात् गर्न सबैले मनन गरौँ।