- जेन–जी पुस्ताको परिवर्तनको आकांक्षा सम्बोधनतिर नलागी प्रमुख दलका नेताहरू पुन: नेतृत्व ‘कब्जा’को शक्ति–संघर्षमा उत्रेका छन्, जसका आधारमा उनीहरूबिच एकता–विभाजन तथा गठन–पुनर्गठनको नयाँ अध्याय सुरु भएको छ
जेन–जी आन्दोलनपछि राजनीतिमा रूपान्तरण र नेतृत्व हस्तान्तरणका लागि तीव्र दबाब सिर्जना भए पनि प्रमुख दलका शीर्ष नेताहरू आफ्नो वर्चस्व कायम राख्ने दौडधुपमा छन् । सत्ता र पार्टी संगठन नियन्त्रणमा लिन नेतृत्व तहमा भएको शक्ति–संघर्षले दलहरूभित्र आन्तरिक विवाद र अविश्वास निम्त्याएको छ ।
नेताहरूमा देखिएको सत्ताकेन्द्रित राजनीतिक दौड एकता–विभाजन तथा पुनर्गठनतिर छ । कतिपय दलभित्रको असन्तुष्टि जुनसुकै वेला विस्फोट हुने अवस्थामा छ । विभाजन हुन बाँकी दलमा पनि सम्भावित फुट र नयाँ गुटबन्दीका रेखा कोरिएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले अन्य साना दल–समूहसँग एकताको घोषणा गरेका छन् । तर, माओवादी र एकीकृत समाजवादीभित्रका असन्तुष्ट समूह अलग ध्रुवीकरण र पार्टी निर्माण प्रक्रियामा जुट्न थालेका छन् ।
कांग्रेसमा आसन्न महाधिवेशनलाई लिएर संस्थापन पक्ष र इतर समूहबिचको शक्ति–संघर्ष चरम विन्दुमा पुगेको छ । कांग्रेस नेताहरूको महाधिवेशनमाथिको नजर संगठन सुदृढीकरणभन्दा पद र प्रतिष्ठाको प्रतिस्पर्धाउन्मुख बन्दै गएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष र महामन्त्रीबिचको विवाद सतहमा पोखिएको छ । दुवै पक्ष अलग–अलग भेला र छलफलमा व्यस्त छन् । ‘राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवलशमशेर राणा होस् यसरी गुट– उपगुटका भेला तत्काल बन्द गर्नुहोस्,’ नेता ज्ञानेन्द्र शाहीले लेखेका छन्, ‘यस्तो अवस्थामा राष्ट्रवादीहरू एक ढिक्का हुने हो फुटेर होइन जुटेर अगाडि बढ्ने हो । यदि तपाईंहरू मिलेर जान सक्दैनौ भने युवारूको भविष्य बर्बाद गर्ने तपाईंहरूको अधिकार छैन ।’
यसरी हुँदै छ आज माओवादी–समाजवादी एकता सम्मेलन
पार्टीभित्रका असन्तुष्ट पक्ष छाडेर माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले बुधबार पार्टी एकता घोषणा गर्दै छन् । भृकुटीमण्डपमा आयोजना हुने एकता घोषणालगत्तै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकता घोषणा, घोषणापत्र र आन्तरिक विधान पारित गर्ने र केन्द्रीय समिति गठनलगायतका काम गर्ने तयारी छ । घोषणापत्रमा पार्टी बनाउनुको उद्देश्य, आधारभूत सिद्धान्त र आमनीति तथा प्रतिबद्धता उल्लेख छ ।
शीर्ष नेताहरूले मंगलबार साँझ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) टुंगो लगाएका छन् । एकता राष्ट्रिय सम्मेलन नयाँ पार्टीको नामसहित चुनाव चिह्न पाँचतारे तारा घोषणा गरिनेछ । यस्तै, पार्टीको संयोजक र सह–संयोजक पनि घोषणा हुनेछन् । माओवादी संयोजक प्रचण्ड एकीकृत पार्टीको संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहसंयोजक रहनेछन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेसपा, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी–समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादी पार्टी एकतामा सहभागी छन् । एकताका लागि ती पार्टी–समूहले आ–आफ्नो पाटी–समूहभित्र निर्णय गराइसकेका छन् ।
पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको उनीहरूको ठहर छ ।
पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तत्कालीन कार्यदिशा पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने रहेको छ । आन्दोलनको स्वरूप मूलत: शान्तिपूर्ण हुने, परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत आवश्यकताअनुसारका सबै मोर्चाहरू आन्दोलनका मोर्चा हुनेछन् ।
एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साबिकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय समिति गठन गर्ने तयारी छ ।
पार्टीका केन्द्रीय संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति (पोलिटब्युरो), सचिवालय र कार्यसंयोजन समिति हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सह–संयोजक रहनेछन् ।
कुनै पनि सदस्य दुई तहको समितिमा रहन पाउने भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुनेछ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने समझदारी छ । एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजक, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने सहमति छ ।
पार्टी समितिहरू र जनसंगठनमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिने भएको छ । पार्टीको तहगत कार्यकारी समितिहरूमा केन्द्र, भौगोलिक र गैरभौगोलिक प्रदेश, जिल्ला, पालिका र वडा कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिकस्तरका समितिहरू संगठन समितिको रूपमा रहनेछन् ।
माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले एकता सहमतिलाई अनुमोदन गरेको छ । बैठकमा प्रचण्डले एकता सहमतिबारे जानकारी गराएका थिए । त्यसपछि अनुमोदनका लागि प्रस्तुत भएको थियो । बैठकमा प्रचण्डले नेता जनार्दन शर्मालाई एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए । ‘विचार गर्नुस्, तपाईं फर्कनुस् । अझै अगाडि जानुपर्छ भनेर अध्यक्षले अपिल गर्नुभएको छ । देशभक्तहरू एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभयो । नेतृत्वको टिम निर्माण गर्ने कुरा पनि बताउनुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने । एकताले राष्ट्रिय मुक्ति आन्दोलनका लागि शक्तिशाली आधार तयार भएको उनले जिकिर गरे ।
प्रचण्डले पूर्वउप्रधानमन्त्री एवं एमालेका पूर्वउपाध्यक्ष भीम रावलसँग पनि एकताबारे छलफल भइरहेको जानकारी दिएका छन् । मंगलबार बिहान मात्रै पनि एकताबारे महत्वपूर्ण छलफल भएको उनले बताए । बैठक स्रोतका अनुसार प्रचण्ड र नेपालले रावललाई एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । रावलले साथीहरूसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।
यस्तै, पार्टी पुनर्गठनको घोषणा गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग पनि छलफल भइरहेको प्रचण्डले बताएका छन् । ‘भीम रावल, झलनाथ खनाल, घनश्याम भुसालसँग पनि कुराकानी भइरहेको छ । कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा विकसित भएको प्रमाणको रूपमा यो एकता रहेको छ,’ सापकोटाले भने ।
जनार्दन शर्माले थाले नयाँ अभियान
माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समितिले एकीकृत समाजवादीलगायतका दल–समूहसँग एकता गर्ने सहमति अनुमोदन गरेकै दिन पार्टीका पूर्वउपमहासचिव एवं सचिवालय सदस्य जनार्दन शर्मा भने बाहिरिएका छन् । माओवादी बैठक चलिरहेको वेला शर्माले ललितपुरमा पत्रकार सम्मेलन गरेर ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा माओवादी नेताहरू राम कार्की र अञ्जना बिसंखेलगायतका नेता सहभागी थिए ।
शर्माले माओवादी आन्दोलनका बाँकी रहेका कार्यभार पूरा गर्दै वाम आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने दाबी गरे । देशभर ‘प्रगतिशील अभियान नेपाल’ सञ्चालन गरेर क्षमतावान् र योग्य युवा नेतृत्वलाई राजनीतिमा ल्याउन योगदान गर्ने आगामी कार्यभार रहेको उनले बताए । उनले जेन–जी आन्दोलनको भावनाअनुसार पार्टी पुनर्गठन गर्ने प्रक्रिया थाले पनि बिचमै त्यसलाई छाडेर एकीकृत समाजवादीलगायतका दल र समूहसँग एकता प्रक्रिया थालेकोमा असहमति रहेको बताए ।
‘पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा जवाफदेही बनाउने, पार्टीभित्र विधिपद्धति लागू गर्ने र पार्टीलाई समग्र रूपले पुनर्गठन र पुनर्संरचना गरेर अगाडि बढ्ने बहस गरिरहेका छौँ । तर, भ्रष्टाचार र सुशासनको जगमा भएको जेन–जी विद्रोहअनुसार पार्टीलाई रूपान्तरण गर्ने हाम्रा कोसिसहरू पार्टीभित्र छलफल भएनन्,’ पार्टी परित्यागको कारण बताउँदै शर्माले भने, ‘आज झन् भद्रगोल र विधिविहीन बनाएर, एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने अभिप्रायका साथ नाटक गरिएको छ । जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागविपरीत एकता गर्ने काम भइरहेको छ, यसमा सहमत हुन सकेनौँ ।’
उनले माओवादीसहित आठ दल र समूहको एकता प्रक्रिया अहिलेको परिस्थितिसँग सुहाउँदो नभएको पनि बताए । ‘प्रचण्डले पार्टी पुनर्गठन गर्नुपर्छ भनेर अगाडि बढ्नुभएको थियो, तर अहिले फेरि जेन–जी आन्दोलनको मर्मविपरीत एकताको कुरा गर्नुभएको छ । यसले राजनीति र देशका संरचनालाई कुनै योगदान गर्न सक्दैन,’ उनले भने । उनले एकताका नाममा माओवादी पार्टीप्रति जनता र मतदातामा घृणा फैलाउने काम भइरहेकोसमेत आरोप लगाए । माओवादी अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा सहभागी हुन गरेको अपिलतर्फ संकेत गर्दै उनले तत्काल सम्भावना नरहेको पनि बताए । ‘प्रचण्ड र माधव नेपालको एकतालाई जनताले अस्वीकार गरिसकेका छन् । यस्तो अभियानमा हामी सहभागी हुन सकेनौँ,’ उनले भने ।
०७४ को निर्वाचनअघि एमाले र माओवादीको एकता प्रक्रिया अघि बढाउन शर्मा माओवादीतर्फबाट खटिएका थिए । त्यतिवेला पार्टीको नाम र चुनाव चिह्न नै त्याग गर्न तयार रहेका शर्माले अहिलेको एकता प्रक्रियामा असन्तुष्टि जनाउनुको अर्थ नरहेको भन्दै माओवादी नेता तथा कार्यकर्ताले विरोध पनि गरिरहेका छन् । त्यसप्रति पनि शर्माले जवाफ दिए, ‘नेकपा बनाउन हस्ताक्षर गरेको विषयसँग अहिलेको कुनै साइनो र तुक छैन । त्यतिवेला बृहत् वामपन्थी एकता गरेर राजनीतिक अस्थिरतालाई समाप्त गर्न खोजिएको थियो । समाजवादको सपना पूरा गर्ने, वामपन्थीको धु्रवीकरण गर्ने र देशलाई समृद्धिको दिशामा अगाडि बढाउने उद्देश्य थियो । त्यसले परिणाम पनि दियो । जनताले झन्डै दुईतिहाइ मत दिए । तर, नेताहरूले त्यो उपलब्धिलाई स्वीकार गर्न सकेनन् र कुर्सी स्वार्थका लागि वाम ध्रुवीकरणलाई विघटन गरिएको थियो ।’
युवा पुस्तामा राजनीतिक नेतृत्व अभियान चलाउने
शर्माले खासगरी युवालाई राजनीतिक नेतृत्वमा ल्याउने गरी देशभर प्रगतिशील अभियान चलाउने जनाएका छन् । ‘राष्ट्रलाई माया गर्ने, देशलाई समृद्ध गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शितालाई आत्मसाथ गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध भएको अभियान सञ्चालन गर्न गइरहेका छौँ,’ उनले भने ।
अभियानबाट नयाँ पुस्ताको अगुवाइमा सहभागितामूलक संरचना निर्माण हुने र आफू पर्दापछाडि बसेर योगदान मात्रै गर्ने उनले जानकारी दिए । ‘देशव्यापी अभियानबाट नयाँ पुस्ताको अगुवाइमा नयाँ अनुहार र समावेशितालाई आत्मसाथ गरी जनताप्रति उत्तरदायित्व हुने गरी सहभागितामूलक संरचना निर्माण हुनेछ,’ उनले भने, ‘यसका लागि हामीले मद्दत गर्नेछौँ । क्षमतावान् र योग्य नयाँ पुस्तामार्फत जानुपर्छ भन्ने प्रतिबद्धता हो । यही अभियान देशभर लैजानेछौँ ।’
राम कार्कीले भने– दर्ज्यानी चिह्न मिल्काएर समाजवादको अभियानमा जुटौँ
शर्मासँगै पत्रकार सम्मेलनमा उपस्थित माओवादी नेता राम कार्कीले पनि युवालाई नेतृत्वमा ल्याउन मद्दत गर्ने बताए । ‘हामी केही थान पार्टी गठन गर्न गइरहेका छैनौँ,’ उनले भने, ‘हामी पहिला आफ्नो कमीकमजोरी स्वीकार गरेर कञ्चन हुन्छौँ, सफा हुन्छौँ । र, एकीकृत अभियान सुरु गर्छौँ ।’
समाजवादीको भुसाल समूह पुनर्गठनमा, झाँक्री समूह एमाले फर्किने तयारीमा
माओवादीसँग एकता गर्ने पार्टी निर्णयमा असहमत एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठन, रूपान्तरण र ध्रुवीकरणको मोडल अघि सार्ने भएका छन् । त्यसका लागि बुधबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गरिएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य डा. विजय पौडेलले बताए । उनका अनुसार बुधबार अभियान घोषणा हुनेछ, तर पार्टी पुनर्गठन प्रक्रिया भने केही समयपछि सुरु गरिनेछ ।
विगतको वामपन्थी आन्दोलनको समीक्षा, अबको वाम आन्दोलनको बाटो र संगठनको चरित्र बताउन विशेष पत्रकार सम्मेलन आयोजना गरिएको भुसालनिकट पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । यो समूह र माओवादीको जनार्दन शर्मा समूहबिच सहकार्यको गृहकार्य छ । माओवादीलगायतका शक्तिसँग एकता गर्ने पार्टी निर्णयमा असन्तुष्ट रहेको भए पनि महासचिव घनश्याम भुसाल समूहतिर नलागेको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री समूहले भिन्दै पत्रकार सम्मेलन बोलाएको छ । एकीकृत समाजवादीमा आबद्ध क्रान्तिकारी साथीहरूको नाममा बबरमहलस्थित होटेल बसेरामा बिहान १० बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
महाधिवेशनबारे कांग्रेसमा दुई समूहका छुट्टाछुट्टै प्रस्ताव
कम्युनिस्ट पार्टीहरूमा मात्र होइन, विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा पनि महाधिवेशनको मिति र प्रक्रियालाई लिएर आन्तरिक भाँडभैलो मच्चिएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा लामो प्रयास र शीर्ष नेताहरूबिचको अनौपचारिक संवादपछि पनि समझदारी नबनेपछि केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षले महाधिवेशनको अलग–अलग मिति र कार्यतालिका प्रस्ताव गरेका छन् ।
बैठकमा महामन्त्री गगन थापाले आगामी १६ देखि १९ पुसमा १५ औँ महाधिवेशन गर्ने गरी प्रस्ताव पेस गरेका छन् । जबकि संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले २७ देखि ३० वैशाख ०८३ मा महाधिवेशन आयोजना गर्ने कार्यतालिका पेस गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिने भए पनि विधानअनुसार एक वर्ष लम्ब्याउन सम्भव हुन्छ ।
बैठकमा प्रस्तावहरू महामन्त्रीले पेस गर्ने अभ्यास रहे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले थापाले पेस गरेको प्रस्तावलाई औपचारिक एजेन्डा बनाएका छैनन् । उनले थापा र यादव दुवैलाई महाधिवेशनका सम्बन्धमा धारणाका रूपमा अलग–अलग कार्यतालिका पेस गर्न अनुमति दिएका हुन् । कांग्रेस केन्द्रीय कार्यालयको विज्ञप्तिमा बैठकमा कुन एजेन्डामा छलफल भयो भन्ने खुलाइएको छैन, धारणा राख्ने नेताको मात्र नाम उल्लेख छ ।
कांग्रेसमा संस्थापन पक्ष वैशाख र महामन्त्री थापा र विश्वप्रकाश शर्मा तथा शेखर कोइराला पक्ष पुसभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुवै समूहबिच अलग–अलग र केन्द्रीय कार्यसम्पादन समितिमा समेत सहमति नजुटेपछि कार्यवाहक सभापति खड्काले बहुमत–अल्पमत विधिबाट महाधिवेशनको मिति टुंगो लगाउने गरी छलफल अगाडि बढाएका छन् । संस्थापन पक्ष केन्द्रीय समितिमा बहुमतको बलमा इतर समूहलाई गलाउने रणनीतिमा छ । इतर पक्षले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई दबाबको हतियार बनाएको छ । तैपनि दुवै पक्ष सहमतितिर उन्मुख छैनन् ।
बैठकपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री थापा र सहमहामन्त्री यादवले व्यक्तिगत रूपमा महाधिवेशनको कार्यतालिका पेस गरेको बताए । उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एजेन्डाबारे केही बताएका छैनन् । ‘कार्यवाहक सभापतिले महामन्त्री र सहमहामन्त्री दुवैलाई व्यक्तिगत धारणाका रूपमा महाधिवेशनको कार्यतालिका राख्न दिनुभएको हो, पार्टीका तर्फबाट कहिले महाधिवेशन गर्ने सवालमा औपचारिक एजेन्डा प्रस्तुत भएको होइन,’ नेता सिटौलाले भने, ‘कार्यवाहक सभापतिले केही पनि बोल्नुभएको छैन, अहिलेलाई छलफल प्रक्रिया मात्र अगाडि बढेको छ ।’
महाधिवेशनलाई आत्मसमीक्षा र पुनर्जन्मको अवसरका रूपमा अथ्र्याउँदै महामन्त्री थापाले १६ पुसमा नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनको विकल्प नहुने बताए । ‘राष्ट्रिय राजनीतिमा आएको उथलपुथलपछि हुन लागेको महाधिवेशनलाई साधारण अधिवेशनजस्तो केवल आन्तरिक प्रक्रिया ठान्न मिल्दैन । यो नै हाम्रो नैतिक पुनर्जन्मको अवसर हो,’ थापाले प्रस्ताव राख्दै भनेका छन्, ‘त्यही मञ्चबाट हामी देशलाई भन्न सक्छौँ–हामीले गल्ती गरेका थियौँ, हामीले जनआवाज सुनेका छौँ, अब हामी सुधार गर्न तयार छौँ । र, यो अधिवेशनमार्फत कांग्रेसले सन्देश दिन सक्छ– अब पार्टीभित्र भ्रष्टाचार र स्वार्थको कुनै स्थान छैन, पारदर्शिता र जवाफदेहिता अनिवार्य हुनेछ, नेतृत्वको हस्तान्तरण र पुस्तान्तरण नियमित र स्वाभाविक हुनेछ ।’
प्रतिनिधिसभा निर्वाचनअगावै महाधिवेशन गर्नुपर्नाका कारण खुलाउँदै थापाले मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन् भनेर पर्खेर नबस्ने बताए । साथै उनले दुई महामन्त्रीले भाग नलिने सर्तमा भए पनि महाधिवेशन आयोजना गर्नुपर्ने भन्दै चुनौतीको भाषा प्रयोग गरेका थिए । ‘यदि तिमीहरू दुईजनाले यसपटकको महाधिवेशनको रेसमा भाग लिन पाउँदैनौ भनेर महाधिवेशनतिर लैजाने हो भने पनि हामी तयार छौँ । त्यो कुराले गाँठो खुल्छ भनेर वाचाबन्धन गरेर जाऊँ,’ बैठकमा उनले भनेका थिए ।
थापालगत्तै संस्थापनका तर्फबाट सहमहामन्त्री यादवले महाधिवेशनको काउन्टर कार्यतालिका प्रस्ताव प्रस्तुत गर्दै अहिलेको अवस्थामा पार्टी चुनावमा होमिनुको विकल्प नभएको बताए । लगत्तै उनको प्रस्तावलाई नेता सिटौलाले समर्थन जनाउँदै आफ्ना धारणा प्रस्तुत गरेका थिए । सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा सम्पूर्ण तयारीका साथ कांग्रेसजस्तो पार्टी नहोमिँदा देशमा चुनावको वातावरण नै नबन्ने सिटौलाको भनाइ थियो ।
नेता सिटौलाले अहिलेलाई महाधिवेशनको एजेन्डा स्थगित गरी चुनावलाई मात्र एजेन्डा बनाएर छलफल गर्न प्रस्ताव गरेका थिए । ‘निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका फटाफट अगाडि बढिरहेको छ, अब केही समयमै समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने वेला आउँछ, त्यसवेला महाधिवेशन गर्ने कि उम्मेदवारहरूबारे छलफल चलाउने ? निर्वाचनमा जानका लागि पार्टीले घोषणापत्र बनाउनुपर्छ, कार्यक्रम तय गर्नुपर्छ, देशमा भएको यत्रो घटनाको समीक्षा गरेर जनतामा जानुपर्छ,’ सिटौलाले भने, ‘कांग्रेसजस्तो ठुलो दल नै चुनावमा नहोमिएर महाधिवेशनका नाममा आन्तरिक झगडा र प्रतिस्पर्धामा लाग्ने हो भने देशमा कसरी चुनावी वातावरण बन्छ ? अनि झगडा गरेर चुनावमा जाँदा कांग्रेसको हालत के हुन्छ ? त्यसैले अहिलेको एजेन्डा महाधिवेशन होइन, पार्टीलाई माथिदेखि तलसम्म एकताबद्ध बनाएर चुनावमा होमिने हो ।’
त्यस्तै, सिटौलाले महामन्त्री थापाले पार्टीलाई कमजोर बनाएर आफू मात्र पपुलिस्ट बन्न सामाजिक सञ्जालमा विभिन्न अभियान चलाउने गरेको र अरू नेताहरूको मानमर्दन गर्ने गरेको आरोपसमेत लगाएका थिए ।
मंगलबार बैठकमा महामन्त्री थापा र सहमहामन्त्री यादवले अलग–अलग कार्यतालिका पेस गरेपछि कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता कृष्णप्रसाद सिटौलासहित डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले धारणा राखेका थिए । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
थापानिकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बैठकमा महामन्त्रीले प्रस्ताव राख्ने कांग्रेस परम्परा रहेको बताए । ‘महामन्त्रीले राख्ने प्रस्ताव पार्टीको प्रस्ताव हो, व्यक्तिको होइन, अरूले महामन्त्रीले राखेको प्रस्तावमाथि छलफलमा भाग लिने हो, त्यसैले अरू कसैले प्रस्ताव भन्दै दाबी गरेको छ भनेचाहिँ बरु व्यक्तिगत धारणा हो,’ उनले भने ।
सिवाकोटीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा निर्णय नगरी अरू जुनसुकै विषयमा छलफल गरे पनि त्यसको वैधानिकता नहुने बताए । ‘विधानअनुसार विशेष महाधिवेशन माग गरेर ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ, त्यसलाई विधानअनुसार टुंगो नलगाई अरू विषयमा छलफल गरियो भने वैधानिक हैसियत शून्यबराबर हुन्छ,’ उनले भने ।
सिटौलासहित पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. प्रकाशशरण महतलगायतका नेताहरू तत्काल महाधिवेशन नगर्ने पक्षमा छन् । उनीहरू अहिलेलाई महाधिवेशन कम्तीमा वैशाखसम्म सारेर आफूहरूमध्येबाटै सर्वसम्मत देउवाको उत्तराधिकारी छनोट गरेर अनुकूल वातावरणमा मात्र महाधिवेशनमा जाने योजनामा छन् । त्यसका लागि उनीहरूले गृहकार्यका लागि पर्याप्त समय खोजिरहेका छन् ।
उनीहरूको त्यही स्वार्थको दबाबले कार्यवाहक सभापति खड्का दबाबमा परेका छन् । खड्का पनि नेतृत्वको भावी आकांक्षी भएकाले तत्काल नियमित वा विशेष महाधिवेशन आयोजना गर्न हच्किएका छन् । उता, महामन्त्री थापा र शर्मा तथा इतर पक्षका नेता डा. कोइराला भने देउवा पक्ष एकीकृत नभएको र संस्थापन पक्षको शक्ति क्षयीकरण भएकै अवस्थामा महाधिवेशन गराउने पक्षमा छन् । शर्माले थापालाई पनि नेतृत्वमा स्विकार्न तयार रहेको संकेत गरिसकेका छन् ।