- मृत भेटिएका नेपाली : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका– ५ का मेरे कार्की र दोलखा गौरीशंकर गाउँपालिका– ९ का पदम तामाङ
- बेपत्ता विदेशी : इटालीका पाउलो कोको र मार्कस किचर्लर, जर्मनीका ज्याकोब श्राइवर, फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडी र क्यानडाका मार्को डी मार्सेलो
दोलखाको रोल्वालिङ हिमशृंखलाअन्तर्गतको यलुङ री हिमालमा गएको हिमपहिरोमा परेका आरोहीमध्ये दुई नेपालीको शव फेला परेको छ । पाँच विदेशी आरोही अझै बेपत्ता छन् ।
दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोका अनुसार उद्धार टोलीले कठिन भौगोलिक परिस्थितिबिच दुई नेपाली पथप्रदर्शकको शव निकालेको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका– ५ का मेरे कार्की र दोलखा गौरीशंकर गाउँपालिका– ९ का पदम तामाङको शव फेला परेको हो ।
‘हिमपहिरोमा परेकाहरूको पहिचान खुलेको छ, दुईजना नेपालीको शव निकालिएको छ,’ उनले भने, ‘बाँकी विदेशी आरोहीहरूको खोजीकार्य जारी छ ।’
हिमपहिरोमा बेपत्ता विदेशी आरोहीमा इटालीका पाउलो कोको र मार्कस किचर्लर, जर्मनीका ज्याकोब श्राइवर, फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडी र क्यानडाका मार्को डी मार्सेलो रहेको डिएसपी महतोले बताए । हिमपहिरो गएको क्षेत्रमा उनीहरूको शव खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हिमपहिरोमा परी गम्भीर घाइते अवस्थामा फेला परेका चारजनाको मंगलबार बिहान उद्धार गरिएको डिएसपी महतोले बताए । उनका अनुसार गम्भीर घाइते अवस्थामा यलुङ री बेसक्याम्पमा रहेका दुई फ्रान्सेली आरोहीहरू इस्वेल्ली सोलंगे र डिडिअर अरमन ब्रेटनको उद्धार गरिएको हो । युलङ री बेसक्याम्पबाटै नेपाली पथप्रदर्शक सोलुखुम्बु सल्लेरीका लाक्पा शेर्पा र गोरखा धार्चेका सुनबहादुर गुरुङलाई पनि गम्भीर अवस्थामा उद्धार गरिएको छ । विदेशी आरोहीहरूको एरा अस्पताल र नेपाली पथप्रदर्शकको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
अन्य सामान्य घाइते तीन फ्रान्सेली र तीन नेपालीको ना गाउँबाट उद्धार गरिएको डिएसपी महतोले बताए । सबैको अवस्था सामान्य छ । महतोका अनुसार तीन विदेशी आरोहीमा दुई महिला र एकजना पुरुष छन् । जसमा फ्रान्सका क्यारोल फुचस र थावन इश्वेली सोलुंगे तथा डिडिआर अरमन्ड बेटिअर छन् । त्यस्तै, उद्धार गरिएका नेपालीमा बाराका छुल्ठिम डोल्मा गुरुङ, ठेगाना नखुलेका निमा ग्याल्जेन शेर्पा र स्याङ्जाका राज गुरुङ छन् ।
ड्रिम्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा रहेको आरोहण टोली सोमबार बिहान हिमपहिरोमा परेको थियो । ५६३० मिटर अग्लो यलुङ री आरोहणका लागि सोमबार बिहान आठ विदेशी आरोही र सात नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए ।
बेपत्ता भएका भनिएका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ सुरक्षित
‘यलुङ री’ हिमालको हिमपहिरोमा बेपत्ता भनिएका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ भने सुरक्षित छन् । दाजु पेम्बाका अनुसार फुर्वा तेन्जिङसहितको टोली पहिल्यै आरोहण सकेर फर्किसकेको थियो । ‘भाइ फुर्वा तेन्जिङसहितको टोली पहिल्यै आरोहण सकेर फर्किसकेको थियो । उनी फर्किएपछि अर्को टोली हिमपहिरोमा परेको हो । अहिले ऊ गाउँमै छ र उद्धार कार्यमा सक्रिय छ,’ उनले भने । यसअघि दोलखाका प्रहरी प्रमुख डिएसपी महतोले हिमपहिरोमा फुर्वा तेन्जिङ बेपत्ता भएको बताएका थिए । तर, पछिल्लो जानकारीअनुसार उनी सुरक्षित रहेको पुष्टि भएको छ । २४ वर्षका फुर्वा तेन्जिङले अहिलेसम्म नौपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता छ ।
गोरखामा हिमपातका कारण पदमार्गमा फसेका दुई पर्यटकको मृत्यु
गोरखाको चुमनुब्री गाउँपालिका– १, पाङबोचेस्थित पाङबारी पिक आरोहणमा जाँदा वर्षा र हिमपातका कारण पदमार्गमा फसेका दुई पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार इटालियन नागरिक ६७ वर्षीय स्तेफानो फर्रोनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको मृत्यु भएको हो । पाङबारी क्षेत्रमा पाँच दिनदेखि बेपत्ता उनीहरू मंगलबार हिउँले पुरिएको अवस्थामा मृत भेटिएको श्रेष्ठले बताए । सात हजार पाँच मिटर अग्लो पाङबारी हिमाल आरोहणका लागि गएका उनीहरू आरोहण गर्न नसकेपछि पहिलो शिविरबाट फर्कने क्रममा बाटोमै हिउँमा फसेका थिए ।