६१ किलो सुन तस्करीमा संलग्न चलाउने र चिनियाँविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६१ किलो सुन तस्करीसम्बन्धी बहुचर्चित काण्डमा संलग्नउपर सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करी गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुर स्थापित गर्दै त्यसमा संलग्न प्रमुख व्यक्ति जीवन चलाउने र चिनियाँसहित एक दर्जन व्यक्तिविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

२ साउन ०८० मा विमानस्थलबाट ६१ किलो सुन तस्करी भएको घटना बाहिरिएको थियो। राजस्व अनुसन्धान विभागले सुनसहित संलग्न केहीलाई नियन्त्रणमा लिएर छानबिन थालेको थियो। तस्करीमा संलग्नविरुद्ध प्रहरीले मुद्दा चलाइसकेको छ। तस्करीको सम्बद्ध कसुर स्थापित भएपछि विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीमा संलग्न दिलीप भुजेलसहितविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न १६ असोज ०८० मा विभागमा पत्राचार गरेको थियो। भुजेल अवैध रूपमा सुन भन्सार चोरीपैठारी, नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुर तथा संगठित अपराधसमेतको मुद्दाका प्रतिवादी हुन्। यसपछि विभागले उनीविरुद्ध छानबिन थालेको थियो।

तस्करीमा संलग्नउपर सम्बद्ध कसुरमा अभियोजन भएको मुद्दाको प्रकृति, बरामद भएको दसी एवं वित्तीय कारोबारको विश्लेषणबाट प्राप्त तथ्य एवं कम्पनीको जायजेथाका साथै प्रतिवादीका नाममा चलअचल सम्पत्तिसमेतको विश्लेषण विभागले गरेको थियो।

प्रतिवादीमध्येका जीवन चलाउनेका नाममा विभिन्न ३२ कित्ताको जग्गा देखिएको छ। तिनको मूल्य १५ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेकोमा जग्गा खरिद गर्दा रजिस्ट्रेसन दस्तुरबापत कुल ४५ लाख ९५ हजारसहित १५ करोड ७६ लाख ४६ हजार रुपैयाँ हुन आउने विभागको हिसाब छ। चलाउने सञ्चालक रहेको मष्टा ग्रुप प्रालिको चुक्ता पुँजी १५ करोड रहेको देखिएको छ। सामानको मौज्दात रकम ६ करोड ६४ लाख ४६ हजार, लिन बाँकी रकम ७४ करोड ५१ लाख १३ हजार, प्रालिको नाममा रहेको जग्गाको मूल्य ३० करोड ९८ लाख ७५ हजार र घरको मूल्य ५४ लाख २३ हजार रुपैयाँ रहेको आरोपपत्रमा उल्लेख छ। 

लाभग्राही स्वामित्व (बेनिफिसियल ओनरसिप)को रूपमा उपयोग गरेको सम्पत्ति कसुरबाट प्राप्त गरेको घरजग्गाको खरिद मूल्य दुई करोड रुपैयाँ र ती घरजग्गा खरिद गर्दा नौ लाखको रजिस्ट्रेसन दस्तुर तिरेको देखिएको छ। सबै गरेर एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ रुपैयाँ देखिएको छ। यसका अतिरिक्त विदेशबाट अवैध तरिकाले आयात गरेको ६० किलो ७१६ ग्राम सुनको तत्कालीन अवस्थाको प्रतितोला मूल्य एक लाख १२ हजार पाँच सयका दरले ५८ करोड ५६ लाख नौ हजार ५६८ रुपैयाँ हुन आउने हिसाब विभागको छ। 

त्यसैगरी, हिमालयन बैंकमा कसुरबाट प्राप्त जोरजम्मा गरी कारोबारसमेतबाट निःसर्ग गरेको रकम तीन करोड ५२ लाख रुपैयाँ देखिएको छ। सबै गरेर कुल दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो हिसाब विभागले निकालेको छ। यो रकम सम्पत्ति शुद्धीकरण भएको विभागको दाबी छ। यसैलाई बिगो कायम गरेर चलाउनेलाई विभागले प्रतिवादी कायम गरेको छ। चलाउने सम्पर्कमा नदेखिएको भन्दै फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ।

अलेक्स भन्ने याओ पुचेङ, अलि भन्ने ली वेन त्सुङ, रोगर भन्ने ली नेङकाइ, डिङ सेग फा, टाँसी भन्ने थुप्तिङ छिरिङ, हर्कराज राई र ली चछ्याङका हकमा विदेशबाट अवैध तरिकाले आयात गरिएको ६० किलो ७१६ ग्राम सुनको तत्कालीन अवस्थाको मूल्यका हिसाबमा आउने ५८ करोड ५६ लाख नौ हजार ५६८ रुपैयाँ संयुक्त बिगो कायम गरिएको छ। प्रतिवादी चिनियाँमध्ये अधिकांश नेपालको जेलमा रहे पनि दुई महिनाअघिको जेन-जी आन्दोलनमा जेल ‘ब्रेक’ हुँदा अधिकांश भागेका देखिएको छ।

दावा छिरिङ, दिलीप भुजेल, सुमन खरेल र भोलासाह सोनालाई मतियार र कानुनी व्यक्तिका रुपमा मष्टा ग्रुपसमेतलाई कुल एक अर्ब २७ करोड ६८ लाख ५७ हजार ९४७ रुपैयाँ बिगो कामय गरी मुद्दा दायर भएको छ।

सुझावित समाचार