सुदूरपश्चिम महोत्सवको तयारी सुरु

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

करिब दुई दशकदेखि धनगढीमा हरेक वर्ष सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष आगामी २२ मंसिरबाट सुरु हुने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी सुरु गरिएको जनाएको छ।

संघका अध्यक्ष पुस्करराज ओझाले एउटा मूल आयोजक समिति र अन्य २३ वटा उपसमिति गठन गरेर महोत्सव सञ्चालनको तयारीका काम थालिएको जानकारी दिए। महोत्सव सञ्चालन गर्न करिब तीन करोड लाग्ने, सात लाख मानिसले अवलोकन गर्ने र महोत्सवमा करिब १५ करोडको व्यावसायिक कारोबार हुने संघले अनुमान गरेको छ।

महोत्सवस्थलमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, लत्ताकपडा, अटोमोबाइल्स, होटेल, सूचना–प्रविधि, विद्युतीय उपकरण आदिका पाँच सयवटा स्टल रहने अध्यक्ष ओझाले जानकारी दिए। कृषि र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कृषि, महिला उद्यमी, स्थानीय खानाका परिकारका लागि ५५ वटा स्टल निःशुल्क उपलब्ध गराइने उनले बताए।

‘महोत्सवले सुदूरपश्चिमको आर्थिक विकासका लागि यहाँका सम्भावनाको खोजी र उजागर गर्दै आएको छ। यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपानको संरक्षण र संवर्द्धनमा पनि महोत्सवले टेवा पुर्याएको छ,’ ओझाले भने, ‘यो महोत्सवले शिथिल रहेको यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरेका छौँ।’

१० दिनसम्म चल्ने महोत्सव प्रवेशको टिकट दर एक सय रुपैयाँ राखिएको छ। विद्यार्थी र खेलाडीका लागि ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई भने प्रवेश निःशुल्क रहने संघले जनाएको छ। टिकट बिक्रीको आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष ओझाले बताए।

सुझावित समाचार