जुम्लाका सामुदायिक र संस्थागत २६ वटा विद्यालयलाई फुटबल वितरण गरिएको छ। अखिल नेपाल फुटबल संघको सहयोग तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय अध्यक्ष पंकजविक्रम नेम्वाङको उपस्थितिमा जुम्लाका २६ वटा सामुदायिक र निजी विद्यालयलाई ६२५ वटा फुटबल वितरण गरिएको हो ।
अध्यक्ष नेम्वाङले फिफा फुटबल फर स्कुल (एफफोरएस) लन्च कार्यक्रमअन्तर्गत जुम्लामा पहिलोपटक सहरदेखि गाउँका विद्यालयलाई बल वितरण गरिएको बताए । उनले भने, ‘फुटबलका माध्यमबाट बालबालिकाको सर्वांगीण विकास, सामाजिक एकता र कुलतबाट मुक्त गर्न बल वितरण गरिएको हो । ७७ वटै जिल्लाका एक हजार ७५ वटाभन्दा बढी विद्यालयमा फुटबल वितरण गर्दै छौँ । कर्णालीका १० जिल्लाका ६५ वटा विद्यालयमा बल वितरण गर्नेछौँ । जसमध्ये सबैभन्दा बढी जुम्लाका २६ विद्यालयमा ६२५ वटा बल वितरण गरिनेछ ।’
सहरदेखि ग्रामीण भेगसम्म फुटबलको विकास गर्न र खेलका माध्यमबाट सामाजिक एकता, आर्थिक विकासमा टेवा पुर्याउन एन्फाले खेल गतिविधिमा जोड दिएको अध्यक्ष नेम्वाङले बताए । एक औपचारिक कार्यक्रममार्फत विद्यालयका बालबालिकालाई फुटबल वितरण गरिएको एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले बताए । उनले भने, ‘जिल्लामा १८० बढी विद्यालय छन् । तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातारासी गाउँपालिकाका २६ वटा मावि, निमावि र आधारभूत विद्यालयलाई ६२५ वटा बल वितरण गरिएको छ । मावि विद्यालयलाई २५ वटा, निमावि विद्यालयलाई १० देखि १५ वटा र आधारभूत विद्यालयलाई पाँचदेखि सातवटा बल वितरण गरिएको छ ।’
प्रतिबल ५५ सय रुपैयाँसम्म मूल्यबराबरको बल निःशुल्क वितरण गरिएको हो । एन्फाका अध्यक्ष बुढ्थापाका अनुसार केल्मी ब्रान्डका प्रतिबल ५५ सयका दरले ३४ लाख ३७ हजार पाँच सय रुपैयाँबराबरका बल हस्तान्तरण गरिएको छ । विद्यालयमा स्तरमा नियमित अभ्यास गर्नुका साथै प्रतियोगिता पनि हुन् भन्ने उद्देश्यले फुटबल वितरण गरिएको हो ।
चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले नगरपालिकाले खेल क्षेत्रको विकासका लागि सघन सहरी विकास कार्यालयसँग समन्वय गरी जुम्लामा रंगशाला निर्माण गरिरहेको बताइन् । अबको ५–६ महिनामा जु्म्लाको आफ्नै रंगशाला निर्माण हुँदै छ । उनले भनिन्, ‘जुम्लामा फुटबलको विकासमा एन्फाका अध्यक्ष बुढ्थापाको योगदान अनुकरणीय छ । खेलको संस्थागत विकासका लागि सबै एकजुट हुनुपर्ने आवश्यक छ ।’