आज पनि दिनभर पानी पर्ने : शुक्रबार रातिदेखि केही कम हुँदै शनिबारबाट थामिने

हिउँ र कुहिरोमा हेलिकोप्टर नउडाउन क्यानको निर्देशन

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

बंगालको खाडीमा विकसित भएको मोन्था नामक चक्रवात,  पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव एकसाथ देखिँदा वर्षा र हिमपातले जनजीवन प्रभावित बनेको छ । चक्रवातका कारण गण्डकीदेखि पूर्वी भूभागसम्म बुधबार रातिबाट लगातार पानी परिरहेको छ भने त्यसभन्दा पश्चिम क्षेत्रमा चक्रवातको असर नरहे पनि पश्चिमी वायुका कारण बादल लाग्नुका साथै केही ठाउँमा वर्षा भएको छ । बिहीबार दिउँसोभन्दा राति ठुलो पानी परेकामा शुक्रबार पनि दिनभर पर्ने र राति केही कम हुँदै शनिबारबाट थामिने मौसमविद्हरूले बताएका छन् । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले न्यूनचापीय प्रणालीका रूपमा भित्रिएको चक्रवातले शुक्रबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा वर्षा हुने बताए । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात पनि हुनेछ । ‘यो प्रणाली शनिबारसम्म रहने देखिन्छ । तर,  शुक्रबार रातिबाट पानी पर्ने क्रम कम हुन्छ । यद्यपि, शनिबार बिहान कोशी र मधेशमा वर्षाको सम्भावना छ,’ उनले भने, ‘शनिबार दिउँसोबाट देशभर मौसममा सुधार हुन्छ ।’

काठमाडौं उपत्यकासहित देशका धेरैजसो क्षेत्रमा बिहीबार दिनभर पानी पर्दा सडक र हवाई यातायात पनि प्रभावित बन्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बिहीबार अपराह्न पौने ५ बजेसम्म प्रभावित बनेकामा त्यसपछि मात्र पुन: उडान भएको थियो । बाढीपहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार र शुक्रबार राति बिपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमन निषेध गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्ने क्षेत्रमा गाडी एकतर्फी  चलिरहेका छन् । हिमाली क्षेत्रको पदयात्रा गत मंगलबारदेखि प्रभावित रहेकामा पछिल्लोपटक स्थानीय प्रशासनले सूचना नै जारी गरेर बन्द गरेका छन् ।

२४ घन्टा (बुधबार राति ८ बजेदेखि बिहीबार राति ८ बजेसम्म ) लुम्बिनीका रुपन्देही र कपिलवस्तु, बागमतीमा काठमाडौं, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक, मधेशको सिराहा र कोशीका उदयपुर, खोटाङ, संखुवासभालगायत जिल्लामा ४० देखि ५८ मिलिमिटरसम्म पानी पर्यो । यो अवधिमा सबैभन्दा धेरै पानी ललितपुरको लेलेमा ५८ मिलिमिटर मापन भएको छ ।

हिउँ र कुहिरोमा हेलिकोप्टर नउडाउन क्यानको निर्देशन
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हिउँ वा घना कुहिरो रहेको क्षेत्रमा व्यावसायिक रूपमा हेलिकोप्टर उडान नगर्न निर्देशन दिएको छ । सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा हेलिकोप्टर कम्पनीका पाइलट, सञ्चालक र प्राधिकरणका अधिकारीबिचको छलफलपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो । 

हिउँ पर्ने ठाउँमा सञ्चालन हुने हेलिकोप्टरमा ‘बियर पअज’ नामक विशेष उपकरण अनिवार्य रूपमा जडान गर्नुपर्ने र उच्च उचाइमा हुने उडानका लागि जमिनमा ‘मार्सलर’ (संकेत) राख्नुपर्ने भनिएको छ । त्यस्तै, हिउँले ढाकिएको हेलिप्याड प्रयोग गर्नुअघि त्यसमा रहेको हिउँ र अन्य वस्तु पूर्ण रूपमा सफा गर्नुपर्ने मापदण्ड पनि कायम गरिएको छ । प्राधिकरणले सबै निजी हेलिकोप्टर कम्पनीलाई हिमाली क्षेत्रमा उडान गर्दा विशेष सावधानी अपनाउन पनि भनेको छ । 

बुधबार बिहान मात्र सगरमाथा आधार शिविरनजिकै लोबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटनामा परेपछि प्राधिकरणले सुरक्षा उपाय कडा बनाएको हो । हिउँमा फसेका विदेशी पर्यटक ल्याउन गएको हेलिकोप्टरमा क्याप्टेन विवेक खडका मात्र थिए । उनी सकुशल छन् ।

यस्तो छ आजको मौसम प्रक्षेपण

दिउँसो : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमतीका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठुलो वर्षाको पनि आकलन छ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा बाक्लो हिमपातको पनि आकलन छ ।

राति : कोशी, मधेश र बागमतीका धेरै स्थान, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेशका थोरै स्थान र बागमतीका एक–दुई स्थानमा ठुलो वर्षाको पनि आकलन छ । कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थान तथा गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ । 

See More On

सुझावित समाचार