चुनावका लागि आयोगले माग्यो सात अर्ब ८१ करोड

बजेट मागसहितको आयोगको प्रस्ताव अर्थ मन्त्रालयमा, अंक घटाएर निकासा गर्ने पक्षमा अर्थका अधिकारी

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगबाट बजेट रकम मागसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले चुनावका लागि आयोगबाट बजेट मागको प्रस्ताव आएको र अंकमाथि छलफल गरेर टुंगो लगाउने बताए । ‘आयोगबाट अंक नै तोकेर बजेट निकासाका लागि माग गरिएको पत्र आएको छ । तर, अहिले नै यसलाई अन्तिम अंक मान्न मिल्दैन । थप छलफल गरेर टुंगो लगाउँछौँ,’ उनले भने । 

अर्थ मन्त्रालयका अधिकारी आयोगले माग गरेर बजेट घटाएर निकासा गर्ने पक्षमा छन् । ‘आयोगबाट माग भएको रकमको आकार ठुलो देखिन्छ । यसलाई घटाउन बजेट महाशाखाले आयोगसँग छलफल गरिरहेको छ । प्रस्तावितभन्दा घटेरै बजेट निकासा हुन्छ,’ अर्थका एक उच्च अधिकारीले भने । 

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले बजेटको विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको, तर टुंगो लाग्न बाँकी रहेको बताए । ‘विगतको तुलनामा बढी बजेट मागेका होइनौँ । फागुनमा हुने निर्वाचनमा मौसम प्रतिकूलताको जोखिम रहेकाले ढुवानी खर्च बढ्न सक्छ भन्ने अनुमान गरेका छौँ । त्यसबाहेक मितव्ययिता अपनाउने नै सोचेका छौँ,’ प्रवक्ता भट्टराईले भने । 

विगतका निर्वाचनको दाँजोमा मतपेटिका र कर्मचारी संख्या कम हुने उनको भनाइ छ । ‘हामीले यसपालि मतपेटिका किन्दैनौँ, कागजपत्र पनि किन्दैनौँ । बढी खर्च हुन सक्ने भनेको ढुवानीमा हो,’ उनले भने । 

चालू आर्थिक वर्ष ०८१/८२ मा सरकारले निर्वाचन आयोगलाई नियमित खर्चबापत ६१ करोड २३ लाख मात्रै बजेट विनियोजन गरेको छ । जेन–जी आन्दोलनपछि संसद् विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएपछि आयोगलाई निर्वाचनका लागि अतिरिक्त खर्च चाहिने भएको हो । 

सरकारले चुनाव र पुनर्निर्माणका लागि पुँजीगत र चालू बजेट रोक्का गरेर एक खर्ब १९ अर्ब स्रोतको जोहो गरिसकेको छ । त्यसैले, निर्वाचनका लागि स्रोत अपुग नहुने अर्थ मन्त्रालयले जनाएको छ ।

निर्वाचन प्रणालीलाई सकेसम्म मितव्ययी बनाउन राजनीतिक दल, आयोग र सरकारले प्रयास गर्नुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको भनाइ छ । ‘राजनीतिक दल, सरकार र निर्वाचन आयोगले सकेसम्म चुनावलाई कम खर्चिलो बनाउने प्रयास गर्नुपर्छ । न्यूनतम खर्चमा चुनाव गराउने उपाय लगाउनुपर्छ,’ उनले भने, ‘बढी खर्च हुने जनशक्ति र ढुवानीमा हो । कतिपय सामग्री मौज्दात नै होलान् । मतदान केन्द्रमै मतगणना हुनुपर्ने व्यवस्था गरेर ढुवानी खर्च बचाउन सकिन्छ । इच्छाशक्ति भयो भने चुनाव खर्चलाई मितव्ययी बनाउन गाह्रो काम छैन ।’

कतिपय खर्च कानुन संशोधन गरेर घटाउन सकिने यादवको भनाइ छ । ‘कतिपय कानुनी व्यवस्थाले पनि मितव्ययिता कायम राख्न चुनौतीपूर्ण छ । कानुन संशोधन गरेर मिलाउन सक्नुपर्छ,’ यादवले भने, ‘राजनीतिक दललाई सहमति गराउन सके मितव्ययी बनाउन सहज हुन्छ । सुरक्षामा बढी खर्च गर्नुभन्दा स्थानीयलाई नै बढी जिम्मेवार बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’

राष्ट्रिय सभाका १८ सदस्यका लागि ११ माघमा निर्वाचन

  • राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेसहित एमालेका आठ, माओवादीका सात, एकीकृत समाजवादी, जसपा नेपाल र लोसपाका एक–एक र राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम गरी १९ सांसदको पदावधि २१ फागुनमा सकिँदै 

२१ फागुनमा पदावधि सकिन लागेका राष्ट्रिय सभाका १८ सदस्यको ठाउँमा नयाँ सदस्य चयनका लागि सरकारले ११ माघमा निर्वाचन तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लागेका एकतिहाइ सदस्यको ठाउँमा पदपूर्तिका लागि निर्वाचनको मिति तोकेको हो । नियमत: पदावधि सकिनुभन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन गरेर नयाँ सदस्य चुन्ने अभ्यास छ ।

५९ सदस्यीय राष्ट्रिय सभाको एकतिहाइ सदस्यको निर्वाचन प्रत्येक दुई वर्षमा हुने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार पदावधि सकिन लागेका १८ सदस्यका लागि निर्वाचनको मिति तोकिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

२१ फागुनबाट पदावधि सकिन लागेकाहरूमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेसहित विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहाल, प्रमुख सचेतक गोपाल भट्टराई, इन्दिरादेवी गौतम, देवेन्द्र दाहाल, भगवती न्यौपाने, शारदादेवी भट्ट र सुमित्रा बिसी छन् । त्यस्तै, माओवादीबाट निर्वाचित नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान छन् । एकीकृत समाजवादीका बेदुराम भुसाल, जसपा नेपालबाट मृगेन्द्रकुमार सिंह र लोसपाका शेखरकुमार सिंह छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको पनि पदावधि सकिँदै छ ।

संसद् सचिवालयका अनुसार १८ सदस्यका लागि निर्वाचन हुनेछ भने गौतमको ठाउँमा एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, पालिका प्रमुख र उपपप्रमुखहरू मतदाता हुन्छन् भने प्रदेश–प्रदेशमै मतदान हुन्छ ।

निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले आवश्यक तयारी अगाडि बढाएको छ । ‘अन्तिम मतदाता नामावलीको तयारी गरिरहेका छौँ । प्रदेशमा मतदान केन्द्र तोक्ने, निर्वाचन अधिकृत खटाउने, सामग्री व्यवस्थापन, मतपत्र छाप्नुपर्ने काम पनि अगाडि बढाउँछौँ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने । 

सुझावित समाचार