काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को आयोजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ।
काठमाडौं अनामनगरको निर्देशनालयमा मंगलबार अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले छापा हानेको हो। निर्देशनालयले खरिद गरेका पाइप हिनामिना गरेको उजुरीपछि टोलीले छापा हानेको अख्तियार स्रोतले जानकारी दिएको छ।
निर्देशनालयले खरिद गरेको डक्टाइल आइरन पाइपमा हिनामिना गरेको उजुरी अख्तियारमा परेको थियो। ‘खानेपानी वितरणका लागि बिच्छ्याइने करिब दुई किलोमिटर लम्बाइको डक्टाइल आइरन पाइप हिनामिना भएको सूचनापछि टोलीद्वारा छापा हानिएको छ,’ अख्तियार स्रोतले भन्यो।
ती पाइपहरूको स्टोर दाखिला नगरिएको र हिनामिना भएको आशंका छ। जसको मूल्य करोडौँ हुन आउँछ।
अख्तियार टोलीले निर्देशनालयबाट पाइप खरिद, स्टोर दाखिलालगायतका कागजातहरू नियन्त्रणमा लिएर आएको छ। यसबारे थप अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ।