वर्षाका कारण डेंगु संक्रमण बढ्दो : एक सातामै थपिए ३४८ नयाँ संक्रमित

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण
  • पानी जम्ने ठाउँमा लामखुट्टे बढ्दै गएकाले आगामी केही दिनसम्म संक्रमणदर बढ्न सक्ने देखिएकाले सतर्कता अपनाउन विज्ञहरूको सुझाव 

मौसमका कारण बिस्तारै घट्ने अपेक्षा गरिए पनि असोजको वर्षापछि ठाउँ–ठाउँमा पानी जमेका कारण डेंगु संक्रमण अझै केही समय कायमै रहन सक्ने देखिएको छ । पछिल्लो एक सातामै ३४८ नयाँ संक्रमित थपिएका छन् । विज्ञहरूले पानी जम्ने ठाउँमा लामखुट्टे बढ्दै गएकाले आगामी केही दिनसम्म संक्रमणदर बढ्न सक्ने भन्दै सतर्कता अपनाउन सुझाएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार १७–१८ असोजको वर्षापछि उपचारका लागि अस्पताल आउनेको संख्या बढेको छ । बर्सातपछि फैलने र लामखुट्टेले टोक्ने क्रम बढेको इडिसिडीले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५१ जनामा संक्रमण देखिएको छ । पछिल्लो एक सातामा बागमतीमा मात्रै ३३२ जनामा डेंगु संक्रमण देखिएको छ । त्यसभन्दा अघिल्लो साता यो संख्या २३० थियो । पछिल्लो एक सातामा कोशीमा ५१, मधेशमा १९, गण्डकीमा ३०, लुम्बिनीमा ३१, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार वर्षापछि डेंगु संक्रमणदर केही बढेको छ । उनका अनुसार चाडबाड र बाढीपहिरोका कारण पहिल्यै संक्रमित केही बिरामी अस्पताल आउन सकेका थिएनन् र अहिले ती उपचारका लागि आउन थालेका कारण पनि तथ्यांक धेरै देखिएको हो । 

‘अहिले डेंगु संक्रमण अझै बढ्दो क्रममा छ । मौसमी कारणले अब बिस्तारै घट्ने अपेक्षा गर्न सकिन्छ । तर, अझै १५–२० दिनसम्म अझै बढ्ने सम्भावना छ किनभने वर्षाले ठाउँ–ठाउँमा पानी जमेकाले लामखुट्टे बढिरहेका छन् । केही समय अझै सावधानी अपनाउनुपर्ने देखिन्छ,’ उनले भने । 

हालको तापक्रम डेंगु वासस्थान र फैलाउनका लागि उपयुक्त भएको र ठाउँ–ठाउँमा पानी जमेका कारण डेंगु फैलिन सक्ने विज्ञहरूको भनाइ छ । नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र स्थानीय तहहरूले चलाएको घरदैलो अभियान अहिले रोकिएको छ ।

यस वर्ष हालसम्म पाँच हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट मृृत्यु हुनेको संख्या तीन पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार १ जनवरीदेखि १० अक्टुबरसम्म कोशीमा ७८९, मधेशमा १२०, बागमतीमा १,३३९, गण्डकीमा १,४८६, लुम्बिनीमा ९७९, कर्णालीमा ३५० र सुदूरपश्चिम प्रदेशमा ६७१ जनाका डेंगु संक्रमण पुष्टि भएको छ ।

बाढीपहिरोपछि खानेपानीको स्रोत फोहोर हुँदा फैलन सक्छ झाडापखाला 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार पछिल्लो समयको भारी वर्षापछि झाडापखाला र अन्य सरुवा रोगको जोखिम पनि कायमै छ । यद्यपि, अहिलेसम्म कतै जोखिम देखिएको छैन । वर्षापछि झाडापखाला र हैजाजस्ता रोग फैलने भएकाले सतर्क हुन र विशेषत: खानेपानीमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ । बाढीपहिरोपछि खानेपानीको मुहान तथा स्रोत फोहोर हुने र त्यहाँबाट हैजाजस्ता संक्रामक रोग फैलन सक्ने जानकार बताउँछन् ।

त्यसैबिच केही समयअघि हैजा फैलिएको बारा र पर्सामा यसविरुद्धको खोप खुवाइने भएको छ । हैजाको सम्भावित जोखिम रहेको भन्दै स्वास्थ्य मन्त्रालयले हैजाविरुद्धको खोप वितरण थालेको हो । पर्सामा २६ असोजदेखि र बारामा २८ असोजदेखि खोप कार्यक्रम सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार खोप एक वर्ष उमेरमाथिका सबैलाई खुवाइनेछ । दुई जिल्लामा १० लाख १८ हजार १०० मात्रा खोप खुवाइने मन्त्रालयले जनाएको छ ।

See More On

सुझावित समाचार