२३ र २४ भदौको जेन–जी प्रदर्शनमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबारदेखि कार्यादेशअनुसार काम थाल्ने भएको छ । बुधबार शपथ लिएका आयोग अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यद्वय पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको आयोगलाई बुधबारै सरकारले राजपत्रमा सूचना प्रकाशित गरी पाँच कार्यादेश तोकेको छ ।
‘भोलि (बिहीबार)देखि हामीले काम सुरु गर्छाैँ,’ अध्यक्ष कार्कीले भने, ‘कार्यादेशअनुसार नै जाँचबुझको कामलाई अघि बढाउँछौम् ।’ सरकारले बुधबार राजपत्रमा सूचना प्रकाशित गरी आयोगलाई तोकेको कार्यादेशमा २३ र २४ भदौको आन्दोलनमा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिन गर्ने उल्लेख छ । त्यस्तै, घटना हुनुको कारणबारे जाँचबुझ गरी सोको यकिन राय सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश छ ।
बानेश्वरमा भएको बर्बर बल प्रयोग घटनामा राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउने/ल्याउने भन्ने विषय भने प्रस्ट छैन । कार्यादेशको तेस्रो बुँदामा भनिएको छ, ‘भौतिक तथा मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि राय दिने ।’ आयोगले क्षतिबारे पीडित पक्षसँग निवेदनसमेत लिनेछ ।
त्यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझाव पेस गर्ने र सुझाव कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने कार्यादेश छ । भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रणको विरोधमा २३ भदौमा बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले दमन गर्दा १९ युवाको मृत्यु भएको थियो । सरकारी दमनका कारण भोलिपल्ट झन् धेरै मान्छे आन्दोलनमा उत्रिएपछि निवर्तमान केपी ओली नेतृत्वको सत्ता पल्टिएको थियो ।
कलिला युवकमाथि टाउको र छातीमा गोली हानिएको घटनामा ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग उठिरहेको छ । राजपत्रको सूचनामा भने राजनीतिक नेतृत्वमाथि छानबिन गर्ने÷नगर्ने प्रस्ट छैन । यद्यपि, आयोगले कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने उल्लेख छ । आयोग अध्यक्ष गौरीबहादुर कार्की छानबिन निष्पक्ष हुने बताउँछन् । ‘हामीले क–कसलाई छानबिनको दायरामा ल्याउने भन्ने कुरा जाँचबुझबाट खुलेको तथ्यका आधारमा हुने हो । घटनामा क–कसको प्रत्यक्ष संलग्नता छ, क–कसको आदेश छ, सोही आधारमा अनुसन्धान निर्देशित हुन्छ,’ उनले भने ।
५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको थियो । अध्यक्ष कार्कीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग तथा सदस्यद्वय शर्मा र भण्डारीले अध्यक्ष कार्कीसँग शपथ लिएका छन् । अध्यक्षलाई मन्त्रीसरह र सदस्यलाई राज्यमन्त्रीसरहको सुविधा हुने सूचनामा उल्लेख छ । आयोगमा सहसचिवसहितका सात कर्मचारी गृह मन्त्रालयले खटाउनेछ । आयोगलाई कार्य प्रारम्भ गरेको मितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । आयोगमा खटिने कर्मचारीले पनि २५ प्रतिशत भत्ता पाउनेछन् । आयोगको कार्यालय बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको कार्यालयमा राखिएको छ ।
गोली हान्न आदेश दिनेमाथि कारबाही गर्न बालेनको माग
जेन–जीको आन्दोलनमा युवा तथा विद्यार्थीमाथि गोली हान्न आदेश दिनेलाई कारबाहीको दायरामा ल्याउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माग गरेका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा उनले यो विषय उठाएका हुन् । बालेन सचिवालय स्रोतका अनुसार आन्दोलनमा गोली हान्नेमाथि अविलम्ब कारबाहीको माग उनले उठाएका थिए । जवाफमा प्रधानमन्त्रीले जाँचबुझ आयोग गठन भइसकेको र आयोगमार्फत त्यो विषय अघि बढ्ने बताएकी थिइन् ।
भेटमा अन्य विषयमा पनि छलफल भएका छन् । मेयर शाहका स्वकीय सचिव भूपदेव साहका अनुसार जेन–जी आन्दोलन, सहिदको परिवारको पुनस्र्थापना, घाइतेको उपचार, आन्दोलनमा भएको दमनको जाँचबुझ र कारबाहीलगायत विषयमा छलफल भएको थियो । ‘आन्दोलनको विषय र त्यसभन्दा पछाडिका घटनाक्रमहरूको विषयमा कुराकानी भयो,’ उनले भने ।
यसबाहेक संघ सरकार र काठमाडौं महानगरबिचको समन्वयका विषयमा पनि छलफल भएको स्वकीय सचिव साहले बताए । अघिल्लो सरकारसँगको तिक्ततापूर्ण सम्बन्धले काम गर्न नपाएको गुनासो गरेका मेयर शाहले नयाँ सरकारसँग सकारात्मक सहयोग र समन्वयको अपेक्षा गरेका छन् ।
‘मेयर साबले हामी संघ सरकारसँग समन्वय र सहयोग गर्न तयार छौँ, हामी तपाईंलाई सहयोग गर्छाैँ भन्नुभयो । महानगरको स्थितिबारे जानकारी गराउनुभयो,’ स्वकीय सचिव साहले भने, ‘संघ सरकारबाट पनि सहयोगको अपेक्षा राख्नुभयो । प्रधानमन्त्रीलाई महानगरले सहयोग गर्ने र प्रधानमन्त्रीले महानगरलाई गर्ने सहयोगबारे कुरा भयो ।’
आयोग अध्यक्ष गौरीबहादुर कार्की भन्छन्– हामीले क–कसलाई छानबिनको दायरामा ल्याउने भन्ने कुरा जाँचबुझबाट खुलेको तथ्यका आधारमा हुने हो । घटनामा क–कसको प्रत्यक्ष संलग्नता छ, क–कसको आदेश छ, सोही आधारमा अनुसन्धान निर्देशित हुन्छ ।
यस्ता छन्आयोगका कार्यादेश
- २३ र २४ भदौमा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने
- घटनाका सम्बन्धमा जाँचबुझ गरी यकिन रायसुझावसहितको प्रतिवेदन पेस गर्ने
- भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने
- भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझाव पेस गर्ने
- प्रतिवेदनमा उल्लेख भएका सुझाव कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने