मितेरी सहकारीका अध्यक्ष पनि ३५ लाख धरौटीमा रिहा

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण
मितेरी सहकारीका अध्यक्ष पनि ३५ लाख धरौटीमा रिहा

ललितपुरको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ

कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको ललितपुरको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ पनि ३५ लाख धरौटीमा छुटेका छन् । सिआइबीले अध्यक्ष गुरुङलाई भने एक महिनाअघि मात्रै फरार प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । उनी बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकामा बिहीबारको आदेशअनुसार ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । 

सिआइबीले सो सहकारीमा १४ करोड २९ लाख रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको थियो । सहकारीकी पूर्वव्यवस्थापक ज्योति गुरुङले संस्थाको पैसा मिटरब्याज तथा क्रिप्टोमा लगानी गरेर डुबाएकी थिइन् । ज्योति हाल फरार छिन् । उनी कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी हुन् । 

ठगीबाट जोगिन धनराजले ज्योतिसँग कागजी रूपमा मात्र सम्बन्धविच्छेद गरेको आरोप लाग्दै आएको छ । सहकारीको रकम आफूले तिर्ने भनेर धनराजले समेत सहकारीको बैठकमा पटकपटक प्रतिबद्धता जनाएका थिए । अनुसन्धानको क्रममा धनराजले पनि सहकारीबाट गैरकानुनी रूपमा पैसा निकालेको खुलेको थियो । तर, उनलाई सत्ताको आडमा जोगाएको भन्दै प्रहरीकै आलोचना भएको छ । 

सोही सहकारीको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ज्योति भण्डारी र सुवास खत्री भने कारागार चलान भएका छन् । उनीहरूले ज्योति गुरुङमार्फत सहकारीको पैसा हिनामिना गरेका थिए । 

सहकारी ठगीमा प्रत्यक्ष रूपमा संलग्न धेरै सञ्चालक धरौटीमा छुट्दै आएकामा मितेरीका अध्यक्ष पनि छुट्नुलाई सत्तानिकट व्यक्ति मुछिएका मुद्दा कमजोर बनाउन खोजिएको आशंका गरिएको छ । बुधबार मात्र राप्रपा सांसद गीता बस्नेत १५ लाख धरौटीमा छुटेकी थिइन् । उनी पूर्वी नवलपरासीको छिपछिपे सहकारी चितवनको सनराइज सहकारीको ठगीकी आरोपी हुन् । 

सुझावित समाचार