उत्तराखण्ड बाढीपहिरोमा १९ नेपाली बेपत्ता औपचारिक सूचनाको पर्खाइमा नेपाली दूतावास

परिवारजनबाट प्राप्त विवरणअनुसार जाजरकोटका १३, बर्दियाका ४ तथा जुम्ला र रोल्पाका १–१ गरी १९ बेपत्ता छन्

शनिबार, २४ साउन, २०८२
डिजिटल संस्करण

भारतको उत्तराखण्डमा मंगलबार र बुधबारको बाढीपहिरोमा कम्तीमा १९ नेपाली परेका छन् । तर, दिल्लीस्थित नेपाली दूतावासले नेपाली नागरिक बेपत्ता भएको सूचनाका आधारमा बुझ्ने प्रयास भइरहेको बताएको छ ।

परिवारजनबाट प्राप्त विवरणअनुसार जाजरकोटका १३, बर्दियाका चार तथा जुम्ला र रोल्पाका एक–एक गरी १९ जना बेपत्ता छन् । तीमध्ये जाजरकोटका पाँच तथा जुम्ला र रोल्पाका एक–एक गरी सातजनाको शव फेला नपरे पनि मृत्यु भइसकेको भनी आफन्तबाट जानकारी आएको जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

नेपालीहरूको अवस्थाबारे अझै औपचारिक रूपमा जानकारी प्राप्त भइनसकेको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले बताए । ‘बाढीपहिरो गएको क्षेत्रमा शुक्रबार बल्ल सञ्चार साधनले काम गर्न थालेको छ,’ उनले भने, ‘उत्तराखण्ड प्रहरीसँग नेपालीको अवस्थाबारे विवरण मागेका छौँ, तर अझै आधिकारिक रूपमा विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।’ 

दूतावासले शुक्रबार विज्ञप्ति जारी गरी उद्धार गरिएका र मृत्यु भएकामध्ये कुनै पनि नेपाली नागरिक नरहेको जनाएको छ । उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरणअनुसार २० साउनको बाढीपहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट दुईजनाको शव निकालिएको छ ।

त्यस्तै, २१ साउनमा पौडीगढवालको बागोडामा पहिरो गएको थियो । बाढीपहिरोमा पाँचजना नेपाली हराइरहेको दूतावासलाई विवरण प्राप्त भएको जनाएको छ । घाइते भएका चारजना नेपालीमध्ये तीनजना घर फर्किसकेका छन् भने एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । 

बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्था, हराइरहेका नेपालीको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको नेपाली दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 

सुझावित समाचार