हुलाकी सडक निर्माणमा लापरबाही गर्ने श्रेष्ठ कन्स्ट्रक्सनको ठेक्का रद्द गराउने निर्णय

मंगलबार, २१ साउन, २०८२
डिजिटल संस्करण

हुलाकी सडक निर्माणमा बेवास्ता गर्दै लापरबाही गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरी अर्को कम्पनी नियुक्त गर्न मोरङमा सर्वपक्षीय निर्णय भएको छ । जिल्ला प्रशासन मोरङमा सोमबार मोरङ ४ नम्बर क्षेत्रका संघीय सांसद तथा पूर्वसामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सिडिओ इन्द्रदेव यादव, जिल्लाका सबै राजनीतिक दल, सडक विभाग, हुलाकी राजमार्ग आयोजना र जनप्रतिनिधिहरूसहितको सर्वपक्षीय बैठकबाट विराटनगरको हाटखोलादेखि कटहरी गाउँपालिकाको नयाँबजारसम्म जम्मा सात किलोमिटर हुलाकी सडक निर्माणमा हदैसम्म लापरबाही गरेको भन्दै ठेक्का रद्द गरी अर्को निर्माण कम्पनीमार्फत काम अगाडि बढाउनुपर्ने निर्णय भएको हो । 

विराटनगरदेखि पूर्व कटहरीको नयाँबजारसम्मको करिब सात किलाेमिटर हुलाकी सडक निर्माण गर्न २४ कात्तिक २०७६ मा श्रेष्ठ कन्स्ट्रक्सन प्रालि हैटौँडाले  निर्माण सम्झौता गरेको थियो । तर, ६ वर्ष बितिसक्दा पनि सडकको प्रगति अझै ३०  प्रतिशत मात्रै भएको छ ।  अधुरो सडक निर्माण नहुँदा स्थानीयले मात्र नभएर हुलाकी मार्गमा आवतजावत गर्ने सबै सवारीसाधन र  यात्रुले हदैसम्मको सास्ती भोग्नु परिरहेको छ। दुईपटक म्याद थप गरिसक्दा पनि श्रेष्ठ कन्स्ट्रक्सनले अझै सडक निर्माण सम्पन्न गरेको छैन । 

पटक–पटक निर्माण सम्पन्न गर्न जिल्ला प्रशासनमार्फत स्थानीय र दलहरूले निर्माण कम्पनीलाई चेतावनीसहित  आग्रह गरे पनि बेवास्ता गरेकोले ठेक्का रद्द गरी अर्को निर्माण कम्पनी नियुक्त गर्नुपर्ने निर्णय भएको मोरङका सिडिओ इन्द्रदेव यादवले बताए । सिडिओ यादवका  अनुसार सर्वपक्षीय बैठकमा भएको निर्णयअनुसार  हुलाकी सडक निर्माणमा हदैसम्म लापरबाही गरेको र पटकपटक चेतावनी दिँदा पनि बेवास्ता गरेकोले सर्वपक्षीय निर्णयअनुसार जिल्ला प्रशासन मोरङले श्रेष्ठ कन्स्ट्रक्सनको ठेक्का रद्द गर्न संघीय सडक विभागलाई पत्र लेखेर जानकारी गराएको छ । सिडिओ यादवले भने, ‘पटकपटक चेतावनी दिइसकेको र दुईपटक म्याद थप गरिसक्दा पनि सात किलाेमिटर सडक अलपत्र छ, यसैले अब म्याद नथप्न र ठेक्का रद्द गरी कानुनअनुसार कारबाही गर्न सडक विभागलाई छलफलको निर्णयअनुसार लेखिपठाइदिएका छौँ ।’   

बैठकमा सहभागी पूर्वमन्त्री, पालिका अध्यक्ष, वडाध्यक्ष, दलका नेता र स्थानीयवासी सबैले सडक नबन्दा सर्वसाधारण, बिरामी, विद्यार्थी तथा कृषि उत्पादनको ढुवानीमा समेत बाधा पुगेको भन्दै तत्काल लापरबाही गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर विकल्प खोज्नुपर्ने सुझाव दिएको थियो । मोरङको विराटनगरदेखि पूर्व कटहरी गापको नयाँबजारसम्मको सात किलाेमिटर हुलाकी सडक  अलपत्र हुँदा रंगेली हुँदै झापाको माईधारसम्म निर्माण भइसकेको हुलाकी सडकको पनि सहज उपयोग हुन पाएको छैन ।   

झापादेखि मोरङको रतुवामाई, रंगेली हुँदै हुलाकी मार्गबाट विराटनगर आउँदा मोरङको कटहरी गापाको कर्सिया–कदमाहा–नयाँ बजार हुँदै विराटनगर टेक्न जुनसुकै सवारीसाधनलाई निकै  मुस्किल पर्छ । वर्षाको समयमा त झन् हुलाकी राजमार्गको हालतले यात्रा अझै सकसपूर्ण हुन्छ। जसले गर्दा कटहरी करिडोरमा रहेका दजनौँ उद्योगहरूको उत्पादनसमेत प्रभावित हुँदै आएको छ।
 

सुझावित समाचार