न्युजिल्यान्डका तीन सहरमा सांगीतिक टुर गर्दै मंगोलियन हार्ट

आइतबार, १२ साउन, २०८२
डिजिटल संस्करण

नेपालको चर्चित तथा लोकप्रिय ब्यान्ड मंगोलियन हार्ट पहिलोपटक न्युजिल्यान्ड टुरमा निस्कँदै छ। सन् १९९२ मा स्थापना भएको यस ब्यान्डले सन् २०२५ को विशेष टुरअन्तर्गत न्युजिल्यान्डका तीन प्रमुख सहरहरू क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा आफ्ना दर्शक–श्रोतामाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएको हो।

न्युजिल्यान्डमा पहिलोपटक टुर गर्न पाउँदा उत्साहित छ, ब्यान्ड । टुरलाई भव्य बनाउन गज्जब तयारी गरिरहेको बताउँछन् ब्यान्डका म्यानेजर तथा गितारिस्ट बोबी लामा। ‘हामी नयाँ र पुराना दुवै गीतहरू प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा छौँ। दर्शकको मायाले नै आज हामीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म ल्याएको हो,’ लामाले भने।

मंगोलियन हार्टको आठ सदस्यीय टोली यही जुलाई २९ मा काठमाडौंबाट न्यूजिल्यान्डका लागि प्रस्थान गर्नेछ। यस टुरको आयोजना स्थानीय इभेन्ट कम्पनी ‘सम्बन्ध इभेन्ट्सद्वारा गरिएको हो। सांगीतिक यात्राका क्रममा ब्यान्डले आफ्ना सुपरहिट गीतहरूको प्रस्तुति दिनेछ भने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई सांस्कृतिक उत्सवको रूप दिने लक्ष्य लिइएको छ।

नेपाली संगीतप्रेमीहरूका लागि यो टुर एक अविस्मरणीय अवसर बन्ने आयोजकको विश्वास छ। ब्यान्डको टोली आगामी अगस्ट १५ मा नेपाल फर्किनेछ र त्यसपछि अगस्ट २० मा मिजोरम, उत्तर–पूर्व भारतमा आफ्नो प्रस्तुति दिन जानेछ।

गायक राजु लामा लिड भोकलिस्ट रहेको यो ब्यान्डमा बोबी लामा रिदम गिटार, भूपेन्द्र बज्राचार्य लिड गिटार, सन्तोष थापा ड्रम, विनय महर्जन बाँसुरी, बाबुराजा महर्जन परकसन (मादल), पवन कपाली बास गिटार र निरेन्द्र रञ्जित साउन्ड इन्जिनियर रहेका छन्।

सुझावित समाचार