रास्वपाको हस्ताक्षर संकलनमा प्रहरीको हस्तक्षेप

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण
रास्वपाको हस्ताक्षर संकलनमा प्रहरीको हस्तक्षेप

प्रहरीले भाँचिदिएको रास्वपाको माइक

प्रधानमन्त्री केपी ओली आएका वेलामा झापाकोे दमकमा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित प्रधानमन्त्री ओलीको निवासनजिकै क्याम्पस मोडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो । 

रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोधन साँधेको भन्दै केही समयदेखि हस्ताक्षर संकलन गरिरहेको छ । प्रधानमन्त्री ओली दमक आएको समयमा उनी सवार हुने सडकनजिकै हस्ताक्षर संकलन गर्दा प्रहरीले हस्तक्षेप गरेको रास्वपा झापा– ५ का सभापति भेषराज भट्टराईले बताए ।

माइकमा बोलेर हस्ताक्षर संकलन गर्दै गर्दा प्रहरी आएर माइक खोस्दै भाँचिदिएको उनले बताए । ‘हामीमाथि हस्तक्षेप भयो । के शान्तिपूर्ण रूपमा हस्ताक्षर संकलन गर्न पनि नपाइने हो ?’ उनले भने, ‘प्रहरीले हामीमाथि दुर्व्यवहार गर्यो ।’ जिल्ला प्रहरी कार्यालय झापाले भने हस्तक्षेप नभई समान्य सम्झाइ–बुझाइ गरेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले प्रधामन्त्री हिँड्ने सडकमै माइकिङ गरेकोे हुँदा सम्झाइ–बुझाइ गरेको बताए । ‘हस्तक्षेप भएको होइन । त्यो सामान्य हो । प्रधानमन्त्री भ्रमण गर्ने बाटोमा माइकिङ गरेकाले सम्झाइ–बुझाइ मात्र गरेका हौँ,’ उनले भने ।

See More On

सुझावित समाचार