कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानको हमला, करिब साढे तीन लाख नेपाली त्रासमा

मंगलबार, १० असार, २०८२
डिजिटल संस्करण

इरानले सोमबार राति कतारको दोहास्थित अमेरिकी सैन्य अड्डा (अल उदिद एयर बेस)लक्षित मिसाइल हमला गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई अमेरिकाविरुद्ध इरानको ‘प्रतीकात्मक’ आक्रमण भनेका छन् । त्यसैले तनाव नबढ्ने उनीहरूको आकलन छ ।

कतारमा करिब साढे तीन लाख नेपाली कार्यरत छन् । इरानको आक्रमणपछि उनीहरूमा डर र त्रास बढेको छ । कतारस्थित नेपाली दूतावासले उनीहरूलाई सतर्क रहन सूचना जारी गरेको छ ।

कतारको अल उदिद एयर बेसमा रहेको अमेरिकी सेनामाथि आक्रमण गरेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)लाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएको छ । अमेरिकाले इरानका परमाणु केन्द्रमा हवाई हमला गरेपछि इरानले मिसाइलमार्फत कतार र इराकमा रहेका अमेरिकी सैन्य शिविरमा जवाफी आक्रमण गरेको हो । मिसाइल प्रहारमा कुनै मानवीय क्षति भएको छैन ।

सोमबार राति कतारको दोहास्थित अमेरिकी सैन्य अड्डामा इरानको मिसाइल आक्रमण । तस्बिर : रोयटर्स

दोहास्थित आफ्नो हवाई आधारमा इरानले आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ । कतारले पनि इरानी हमला भएको र आफ्नो वायु रक्षा प्रणालीले त्यसलाई असफल पारेको जनाएको छ । आक्रमणपछि कतारले आफ्नो हवाई सेवा बन्द गरेको छ । मध्यपूर्वका अन्य देशले पनि केही समय हवाई सेवा बन्द गरेका थिए ।

सोमबार कतारको राजधानी दोहामा ज्वालाहरू देखिएका र सुरुमा यो हवाई रक्षा प्रणाली हो वा क्षेप्यास्त्र हो भनेर पत्ता लगाउन कतारलाई गाह्रो परेको अलजजिराले उल्लेख गरेको छ । मिसाइल प्रहारपछि ठुलो विस्फोट पनि सुनिएको थियो । तस्निम समाचार संस्थाका अनुसार इरानले उक्त कारबाहीलाई अमेरिकाविरुद्ध विजयको घोषणा भनेको छ ।

इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अल उदिद हवाई अड्डामा गरिएको क्षेप्यास्त्र आक्रमण कतारको आवासीय क्षेत्रहरूभन्दा टाढा भएको बताएको छ । इरानको पछिल्लो कदमले कतारसँगको सम्बन्धमा कुनै परिवर्तन नआउने तेहरानले जनाएको छ । ‘मित्रवत् र भ्रातृ राष्ट्र कतार र यसका महान् जनतालाई कुनै खतरा छैन र इस्लामिक गणतन्त्र इरान कतारसँग न्यानो र ऐतिहासिक सम्बन्ध कायम राख्न र निरन्तरता दिन प्रतिबद्ध छ,’ परिषद्ले एक विज्ञप्तिमा भनेको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा भएको इरानी आक्रमणको निन्दा गरेका छन् । ‘हामी यसलाई कतारको सार्वभौमिकता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको गम्भीर उल्लंघनका रूपमा लिन्छौँ,’ उनले भनेका छन् । प्रवक्ताका अनुसार कतारको हवाई रक्षा प्रणालीले इरानी मिसाइलहरू रोक्न सफल भएको छ ।

इरानबाट इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई पनि लक्षित गरी मिसाइल प्रक्षेपण गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । अमेरिकाले ती मिसाइलहरूको ट्र्याकिङ गरिरहेको जनाइएको छ । तर, इराकको कुन आधार शिविरलाई हमला गरिएको छ भन्नेबारेमा केही खुलाइएको छैन । इरानी आक्रमण र अमेरिकाले चाल्ने कदमबारे अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र जोइन्ड चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले घटनाक्रमलाई नजिकबाट निहालिरहेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । तेहरानबाट अन्य हमला हुने आशंकामा दोहाको सशस्त्र सेनाले सतर्कता र सावधानी अपनाएको छ । सोमबारको हमला खाडीमा रहेका अमेरिकी अड्डाहरूविरुद्ध इरानी प्रतिशोधको सुरुवात मानिएको छ र यसले मध्यपूर्वमा थप अशान्ति चर्किने संकेत गरेको छ ।

इरानी आक्रमणको अमेरिकाले कस्तो प्रतिक्रिया दिने हो भन्ने चासो छ । इरानी हमलालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च सुरक्षा अधिकारीसँग परामर्श थालेका छन् । यद्यपि, इरान यसभन्दा अगाडि नबढे जवाफी कारबाही नगर्ने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै कतिपय अन्तर्राष्ट्रिय समाचार संस्थाले प्रसारण गरेका छन् । अल उदिद मध्यपूर्वमा रहेको सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा हो, जुन १९९६ मा स्थापित भएको थियो । यस अड्डामा लगभग १०० विमानका साथै ड्रोनहरू पनि छन् । करिब १० हजार सैनिक बस्ने यो अड्डाले अमेरिकी केन्द्रीय कमान्डका लागि अग्रणी मुख्यालयको रूपमा काम गर्दछ । हालैमा दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कतार भ्रमणका क्रममा अल उदिद सैन्य अड्डा गएका थिए ।

भारतीयसँगै इरानबाट फर्किन मसाद पुगे ११ नेपाली, सबै एकसाथ आउन नपाउने
इरानको मसाद पुगेर उद्धारको पर्खाइमा रहेका ११ नेपाली एकसाथ आउन नपाउने भएका छन् । केहीको कागजी समस्याका कारण उद्धारमा ढिलाइ हुने भएको हो । भारतीय दूतावासको समन्वयमा इरानका विभिन्न ठाउँबाट उनीहरू सोमबार बिहान मसाद पुगेर उद्धारको पर्खाइमा छन् । ११ मध्ये केहीको मंगलबार उद्धार हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘मसाद सहर पुगेका ११ मध्ये केहीको मंगलबार उद्धार हुन्छ । अन्यको पनि कागजी समस्या टुंगिएपछि उद्धार हुनेछ,’ प्रवक्ता क्षेत्रीले भने, ‘भारतीय दूतावासको सहयोगमा उद्धार हुने उहाँहरू भारत हुँदै स्वदेश फर्किनुहुनेछ ।’ भारतले इरानबाट आफ्ना नागरिकलाई चार्टर उडानबाट उद्धार गर्दै आएको छ जसको नाम अपरेसन सिन्धु भनिएको छ । 

इरानबाट उद्धार हुन लागेका नेपालीहरू विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, विष्णु बन्जाडे, राजु खनाल, सुमन गैरे, यज्ञ मरासिनी, हरि थापा, गायत्री कार्की र उत्सव थापा छन् । तर, उनीहरूमध्ये कागजी समस्या क–कसको छ भन्ने खुल्न सकेको छैन । 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानस्थित भारतीय दूतावासको सहयोगमा त्यहाँबाट ११ नेपाली फर्काउने प्रक्रिया सुरु भएको सोमबार संसद्लाई जानकारी गराइन् । ‘इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ । बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन दोहास्थित नेपाली राजदूतावासमार्फत पहल गरिरहेका छौँ,’ उनले भनिन् । 

अध्यागमन कानुनसम्बन्धी मुद्दामा तेहरानस्थित थुनामा रहेका महेश डाँगी, बालकृष्ण खड्का, पुष्कर खत्री, मदन डाँगी र गोविन्द डाँगीको रिहाइ र उद्धारका लागि पनि हरसम्भव प्रयास भइरहेको सरकारले जनाएको छ ।

इजरायलमा ९१८ नेपाली सम्पर्कमा, फर्किन चाहने ३५ मात्रै
इजरायलमा रहेका नेपालीमध्ये सोमबारसम्म नेपाली दूतावासको विद्युतीय दर्ता फारममा ९१८ जनाले नाम दर्ता गराएका छन् । ‘यो स्वदेश फर्कन चाहनेको संख्या होइन, दूतावासको सम्पर्कमा आउनुभएका नेपालीहरूको संख्या हो । स्वदेश फर्किन पाए हुन्थ्यो भन्ने संख्या हालसम्म ३५ हाराहारीमा मात्र छ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने, ‘तर, हामीले हरेक परिस्थितिको गम्भीरतापूर्वक अध्ययन गरेका छौँ र हरसम्भव कदम चाल्नुपरेमा त्यसका लागि सामथ्र्यले भ्याएसम्मको तयारी गरिरहेका छौँ ।’ इजरायलमा ५५ सयदेखि सात हजार नेपाली रहेको अनुमान छ । 

मिसाइल आक्रमणले नेपालीमा डर र त्रास सिर्जना भएको छ : राजेन्द्र कुमार (आरके) शर्मा एनआरएन अभियन्ता, कतार 
इरानी मिसाइल आक्रमणले यहाँ बस्ने नेपालीमा डर र त्रास पैदा गरेको छ । सचेत हुनुपर्ने अवस्था छ, आत्तिहाल्नुपर्नेचाहिँ देखिँदैन । कतार सरकारले सूचना जारी गर्दै नागरिकहरूलाई विकसित घटनाक्रमबारे आधिकारिक सूचना फलो गर्न र नआत्तिन आग्रह गरेको छ । नेपालीहरू कतारमा बस्न थालेको २५–३० वर्ष भयो । कतारमा पहिलोपटक मिसाइल आक्रमण भएका कारण त्रास भएको छ । कतारमा करिब साढे तीन लाख नेपाली छौँ । कतारमा धेरै देशका नागरिक छन् । त्यसैले मानिसलक्षित आक्रमण हुँदैन भन्नेमा विश्वस्त छौँ । एनआरएन अभियन्ता र दोहास्थित दूतावास नेपालीहरूको बारेमा जानकारी लिइरहेका छौँ । आवश्यक सहयोग गर्न अग्रसर छौँ । 

कतारस्थित नेपाली दूतावासले भन्यो– सतर्क रहनू

कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भनेको छ । कतारमा साढे तीन लाख नेपाली रहेको अनुमान छ । ‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ । नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरासमेत अवगत गराउन चाहन्छौँ,’ सूचनामा भनिएको छ । इजरायल र इरान द्वन्द्वबिच अमेरिकाले इरानतर्फ आक्रमण तेज पारेपछि इरानले सोमबार जवाफी हमलास्वरूप कतारस्थित अमेरिकी सैन्य अड्डामा हवाई हमला गरेको हो । 

सुझावित समाचार