नयाँ पत्रिकाकर्मी पराजुलीलाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

यस वर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट नयाँ पत्रिकाकर्मी रोहितराज पराजुलीलाई सम्मान गरिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले स्थापना एवं सञ्चालन गर्दै आएको सो पुरस्कारबाट मंगलबार पराजुलीलाई सम्मान गरिएको हो।

३ जुन अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसर पारी घान्द्रुकमा आयोजना गरिएको पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन समापन समारोहमा २५ हजार राशीसहितको सो पुरस्कार पराजुलीलाई अर्पण गरिएको हो। पत्रकारिताको माध्यमबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने पत्रकारलाई प्रत्येक वर्ष समितिले यो पुरस्कार दिँदै आएको छ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य ऋषिराम भण्डारी, आयोजक समितिका अध्यक्ष ललित गुरुङ, प्रतिभा छनौट समितिका संयोजक राजबहादुर गुरुङ, अन्नपूर्ण १० का अध्यक्ष गौतम गुरुङ, ११ का अध्यक्ष हिमबहादुर गुरुङलगायतले सो पुरस्कारबाट पराजुलीलाई सम्मान गरेका थिए।

२०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका पराजुली २०६६ सालदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आबद्ध छन्।

पराजुली यसअघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार, २०८०  र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड २०८० बाट पुरस्कृत भइसकेका छन्।                                                                                                                                                                            
 

सुझावित समाचार