तीनवटा मोबाइल चलाउँथे अध्यागमन प्रमुख भट्टराई : एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसामार्फत हुने मानव तस्करीको संगठित गिरोह चलाएको आरोपमा अख्तियारको छानबिनमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसँग तीनवटा मोबाइल भेटिएका छन् । जसमध्ये एउटा मोबाइल उनले भिजिट भिसाको सेटिङका लागि मात्र प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । 

अख्तियारले उनका तीनवटा मोबाइल र एउटा ल्यापटप जफत गरी परीक्षणका लागि डिजिटल ल्याबमा पठाएको छ । एउटा मोबाइल अफिसियल र एउटा नियमित व्यक्तिगत सम्पर्कका लागि प्रयोग गर्ने उनले सेटिङमा प्रयोग गर्ने एउटाबाट भने ट्राभल एजेन्सी, मेनपावर र कोर टिमका कर्मचारीसँग मात्र सम्पर्क गर्दै आएको स्रोत बताउँछ । सम्भावित छानबिन छल्न उनले त्यसरी गोप्य नम्बर प्रयोग गरेका हुन् । तीन मोबाइल र ल्यापटपको प्रतिवेदन आएपछि यसमा संलग्नमाथि विस्तृत अनुसन्धान गर्ने अख्तियारको तयारी छ ।

गृहमन्त्री रमेश लेखककै सचिवालयको प्रत्यक्ष संलग्नतामा केही महिनायता भिजिट भिसामा असुली बढेको सूचनाका आधारमा गत मंगलबार अख्तियारले अध्यागमनमा छापा हानेर उनलाई समेत नियन्त्रणमा लिएको थियो । यसअघिका अध्यागमन प्रमुखलाई चार महिनामै हटाएर मन्त्री लेखकले विवादास्पद पृष्ठभूमि भएका भट्टराईलाई गत असोजमा विमानस्थल अध्यागमनको प्रमुख बनाएका थिए । मन्त्रीको सचिवालयले छानी–छानी अध्यागमनमा कर्मचारी पठाएपछि रेट बढाएर सेटिङ चलाइएको थियो । जहाँ दिनमै औसतमा ५० लाख रुपैयाँ असुली हुने गरेको अख्तियारको सूचना छ । 

यसमा गृह नेतृत्व नै अनुसन्धानको राडारमा छ । अध्यागमनमा कुनै पनि कर्मचारी मन्त्रीको सचिवालयबाट स्वीकृत नभई सरुवा नहुने प्रणाली बनाइएको मन्त्रालय स्रोत बताउँछ । विगतमा भिजिट भिसाको सेटिङ धन्दामा संलग्न देखिएपछि प्रहरीले मुद्दा दायर गरेका अधिकृत विमल पौडेललाई नै मन्त्री लेखकले आफ्नो सचिवालयमा राखेका छन् । विगतमा कारबाही गरेर हटाइएका अधिकृतलाई समेत चलखेलका आधारमा फेरि अध्यागमनमा पठाइएको थियो । 

अख्तियारले पहिलो चरणमा अध्यागमन प्रमुख रहेका भट्टराईमाथि र दोस्रो चरणमा अन्यमाथि छानबिन गर्ने तयारी गरेको छ । सहसचिव भट्टराईसहित ट्राभल एजेन्सी सञ्चालक बालकृष्ण ढकाल तथा भिजिट भिसाको पैसा व्यवस्थापन गर्ने खगेन्द्र सुवेदी र कविता पौडेललाई पनि आयोगले नियन्त्रणमा लिई सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको छ । उनीहरूको पनि मोबाइल प्रहरीले नियन्त्रणमा लिएर परीक्षणमा पठाएको छ । उनीहरूको खातामा महिनामै करोडौँ लेनदेन हुने गरेको थियो । उनीहरूले सो पैसा निकालेर सहसचिव भट्टराईलाई घरमै लगेर बुझाउने गरेको स्रोत बताउँछ । यस्तो धन्दा संस्थागत र संगठित शैलीको भएको अख्तियारका अधिकारीहरूले बताएका छन् । छानबिन छल्नकै लागि तह–तह बनाएर आर्थिक लेनदेन हुने गरेको थियो । 

अख्तियारले अन्डरकभर अपरेसन चलाएर प्रमाणहरू संकलन गरी सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि निगरानी भइरहेको सूचना पाएपछि गृह मन्त्रालयले सोही दिन उनलाई हटाउने निर्णय गरेको थियो । तर, रमाना नलिँदै उनी पक्राउ परेका हुन् । 
 

सुझावित समाचार