सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल च्यालेन्जको मंगलबार पहिलो दिन पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई र भुवनकुमार रोका संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । पार–६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले सात अन्डर ६१ को उत्कृष्ट स्कोर बनाए । दुवैले दिनेश प्रजापतिलाई तीन स्ट्रोकले पछि पारेका छन् । तेस्रो स्थानमा रहेका दिनेशले चार अन्डर ६४ को स्कोर गरेका छन् । नम्बर एक गल्फर भुवन नगरकोटी तीन अन्डर ६५ स्कोरसहित चौथो स्थानमा छन् । रामे मगर दुई अन्डर ६६ स्कोरमा पाँचौँ स्थानमा रहेका छन् । साबिक विजेता रवि खड्काले छैटौँ स्थान छन् ।
दुई वर्षपछि गल्फ कोर्समा
चोटमुक्त भएर दुई वर्षपछि घरेलु सूर्य नेपाल टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरेका छन् । बोगीरहित कार्ड बनाउने क्रममा उनले तेस्रो र चौथो होलको बर्डी प्रहार गरेका छन् । उनले फ्रन्ट नाइन दुई अन्डर ३२ गरे । ब्याक नाइनमा उनले १०औँ र ११औँ त्यसपछि १३ देखि १५औँ होलमा लगातार तीन बर्डी प्रहार गरे । सूर्यले पाँच बर्डीले प्रहार गरी ब्याक नाइन पाँच अन्डर २९ स्कोर गर्न सफल भए । भुवनले प्रभावशाली प्रदर्शन गरी फ्रन्ट नाइनमा पाँच अन्डर २९ को नतिजा निकाले । उनले पहिलो, चौथो, छैटौँ, सातौँ र आठौँ होलमा बर्डी हात पारे । यसपछि उनले १०औँ, १३औँ र १४औँ होलमा समान एक सट बचाए । उनले ब्याक नाइन दुई अन्डर ३२ स्कोर गरेका थिए ।
एमेच्योरमा नोर्बु अगाडि
एमेच्योरमा फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभन पार ६८ को स्कोरमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । उनीहरूले बलराम पौडेल र निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । बलराम र निश्चयले एक ओभर ६९ स्कोर गरे । ७२ होलको चार दिनसम्म चल्ने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योरले सहभागिता जनाइरहेका छन् । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलका लागि स्थान बनाउनेछन् । विजेताले एक लाख १० हजार र उपविजेताले ७० हजार पाउनेछन् ।