पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानव अधिकार आयोगलाई मकवानपुर महासंघको ध्यानाकर्षण

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघ मकवानपुरले गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशलाई ध्यानकर्षण पत्र बुझाएको छ ।

महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेर पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै ध्यानाकर्षण गराएको हो ।

महासंघले आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई पत्रकार सुरेश रजकको हत्याका विषयमा छानबिन गर्न महासंघ मकवानपुरले माग गरेको छ । 

तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण भएको महासंघको ठहर छ ।

ध्यानाकर्षण पत्रमा पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भएदेखि नै निष्पक्ष छानबिन गरिरहेको बताए । आयोगले चैत १५ को घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उनले बताए । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उनको भनाइ छ ।

सुझावित समाचार