सल्यानमा चालू आर्थिक वर्षमा क्षयरोगका १६७ बिरामी फेला परेका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म क्षयरोगका १६८ जना नयाँ बिरामी फेला परेका स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।
स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै छत्रेश्वरी गाउँपालिकामा ३९ जना क्षयरोगी फेला परेका छन्। कपुरकोट गाउँपालिकामा २८, त्रिवेणी गाउँपालिकामा १८ तथा कालिमाटी गाउँपालिका र शारदा नगरपालिकामा समान १७÷१७, बागचौर नगरपालिकामा १४ जना क्षयरोगका बिरामी फेला परेका कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए।
यस्तै, सिद्ध कुमाख गाउँपालिकामा १०, बनगाड कुपिण्डे नगरपालिकामा १६, कुमाख गाउँपालिकामा ३ र दार्मा गाउँपालिकामा ५ गरी १६७ जना बिरामी पहिचान भएका उनको भनाइ छ।
गत आर्थिक वर्ष ०८०/८१ मा २६३ जना बिरामी फेला परेका थिए। कार्यालयका अनुसार क्षयरोगका कारण चालू आर्थिक वर्षमा ३ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्षमा १३ जनाको मृत्यु भएको थियो।
चालू आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेकाले बिरामीको संख्या बढ्न सक्ने सूचना अधिकारी डिसीले बताए। ग्रामीण बस्तीसम्म खकारको सहज चेकजाँच नहुने, समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, समाजबाट बहिस्कृत हुने डरले रोग लुकाउने, चेतनाको कमी, पूरा समय औषधि सेवन नगर्नुजस्ता कारण क्षयरोग नियन्त्रणमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए।
पालिका–पालिकामा नै क्षयरोग परीक्षणका लागि ल्याब सेवा भए चेकजाँच गर्न नागरिकलाई सहज हुने उनको भनाइ छ। उनले भने, ‘सल्यानमा जिल्ला अस्पतालमा मात्र क्षयरोगको परीक्षण हुन्छ। गाउँबाट कस्तो भाँडोमा खकार ल्यायो, तापक्रम के कस्तो छ? त्यसले पनि प्रभाव पार्छ। त्यसकारण पालिकाहरूमा नै ल्याब सेवा भइदिए सहज हुन्छ।’
नियमित रूपमा बिरामीले उपचार र औषधि सेवन गरेमा यो रोग निको हुने डा. बुढाको भनाइ छ। क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म किटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो। दुई हप्ता वा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण रहेको उनले बताए। ज्वरो आउनु, खाना नरुच्नु, छाती दुख्नु, खकारमा रगत देखापर्नु क्षयरोगका लक्षण भएकाले यदि कसैमा यस्ता लक्षण देखा परे स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न उनको आग्रह छ।