दलितको घरमा डोजर लगाउने पालिका अध्यक्षको संरक्षणमा जसपा नेपाल

रिहा गर्न जिल्ला प्रशासनमा ज्ञापनपत्र

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण
दलितको घरमा डोजर लगाउने पालिका अध्यक्षको संरक्षणमा जसपा नेपाल

शिवजी यादव, पालिका अध्यक्ष

  •  शिवजी र दिलीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप
  •  जाहेरी फिर्ता लिन पीडितलाई प्रलोभन र दबाब

सिराहामा महायज्ञका नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षको बचाउमा जनता समाजवादी पार्टी (जसपा) नेपाल लागेको छ । जसपाले औरही गाउँपालिका अध्यक्षसमेत रहेका पार्टी जिल्ला सदस्य शिवजी यादवलाई थुनामुक्त गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र नै बुझाएको हो ।

सिराहाको अर्नमा गाउँपालिका अध्यक्षसमेत रहेका जसपा जिल्ला अध्यक्ष अशोककुमार यादव नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई ज्ञापनपत्र बुझाउँदै शिवजीसहित गिरफ्तार भएका सबैलाई थुनामुक्त गर्न माग गरेको छ ।

महायज्ञका लागि मण्डप बनाउने भन्दै डोजर लगाएर औरहीका दीपक मल्लिक (डोम) को घर भत्काएपछि महायज्ञ आयोजक समिति अध्यक्षसमेत रहेका शिवजी र समिति सचिव रहेका औरही– ५ का पूर्ववडाध्यक्ष एवं जनमत पार्टीका पालिका अध्यक्ष दिलीपकुमार यादव गत शुक्रबार पक्राउ परेका थिए । उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आइतबारै पाँच दिन म्याद थपेको छ । दीपकको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूलपुजारी बजरंगी बाबा भने फरार छन् । 

पीडित दीपकले शनिबार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा उनीहरू तीनैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । तर, जसपाले भने निर्वाचित जनप्रतिनिधिलगायत व्यक्तिमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएको छ । ‘झुटा मुद्दामा अध्यक्षजस्तो मर्यादित व्यक्तिलगायत अन्य व्यक्तिलाई थुनिएको र उनीहरू चढेर आएको मोटरसाइकलसमेत राखिएको हुँदा अध्यक्षलगायतलाई अविलम्ब स–सम्मान थुनामुक्त गर्न माग गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।

त्यति मात्र होइन, जसपाले आन्दोलनको पनि चेतावनी दिएको छ । ‘आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थिति र क्षतिको जिम्मेवार जिल्ला प्रशासन, जिल्ला प्रहरी र सम्बन्धित सरोकारवालाहरू हुने जानकारी गराइन्छ,’ प्रशासनमा जसपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । अदालती प्रक्रियामा गइसकेको मुद्दाको अनुसन्धानमा पार्टीको तर्फबाट सहयोग गर्नुपर्ने होइन र ? भन्ने प्रश्नमा अध्यक्ष अशोककुमारले ‘पार्टीको कुरा ज्ञापनपत्रमा जे छ त्यही हो’ भन्दै थप बोल्न चाहेनन् । ‘ज्ञापनपत्रमा जे छ त्यही हो, अहिले बैठकमा छु, पछि कुरा गरौँला’ भन्दै उनले फोन काटिदिए । 

जनता आवास कार्यक्रममार्फत बनाइएको दुईकोठे पक्की घर भएको ठाउँमा विष्णु महायज्ञ लगाउने भन्दै बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी र पूर्ववडाध्यक्ष दिलीपकुमारले गत १० फागुनमा जेसिबी लगाएर दीपकको घर भत्काएका थिए । उनको परिवारलाई बिजुली र खानेपानीसमेत नभएको गल्फुधारको डिलमा बनाइएको सुरक्षित बाँसको कटेरोमा विस्थापित गराएका छन् । 

शिवजी र दिलीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप
औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न सिराहा जिल्ला अदालतले आइतबार पाँच दिनको म्याद दिएको छ । अदालतका स्रेस्तेदार निरज पोखरेलका अनुसार न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा पहिलोपटक अनुसन्धानका लागि हिरासतमा राख्न पाँच दिन अनुमति दिइएको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी रमेश पण्डितले फरार पुजारीको पनि खोजी भइरहेको बताए । 

जाहेरी फिर्ता लिन पीडितलाई प्रलोभन र दबाब
दीपक मल्लिक र उनको परिवारलाई जाहेरी फिर्ता लिन दबाब आउन थालेको छ । किटानी जाहेरी दर्तापछि दीपक र उनकी पत्नी अनितादेवीलाई पालिका अध्यक्षका छोरा रुकेश यादव, ज्वाइँ इन्द्रदेव यादवसहित जसपाका स्थानीय नेताले ‘एक कट्ठा नम्बरी जग्गा किनिदिने, पक्की घर बनाइदिने, खानेपानी, बिजुलीसहितको व्यवस्था गरिदिने’ प्रलोभन दिइरहेका छन् ।

मौखिक कबोलप्रति विश्वास नभए निश्चित समय किटान गरी कागज गरिदिने र तोकिएको समयभित्र काम नभए पुनः त्यही कागजले मुद्दा जोड्न सकिन्छ भन्दै फकाइरहेको पीडित परिवारनिकटले बताए । पालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई म्याद थपका लागि अदालत लगिने भएपछि आइतबार दिनभर श्रीमती, छोराछोरी र केही आफन्तसहितले सिराहा सदरमुकामै रहेका पीडित दीपकलाई विभिन्न ढंगले प्रलोभन र दबाब दिएर बयान फेर्न लगाउने प्रयास गरेका थिए ।

 १७ चैतदेखि औरही– ५ मा १० दिनसम्म गर्ने भनिएको विष्णु महायज्ञस्थलको पूर्वदक्षिण कुनामा घर रहेको डोम परिवारलाई पालिकाकै जेसिबी प्रयोग गरी १० फागुनमा उठीवास गराइएको घटना मिडियामार्फत उजागर भएको थियो । त्यसपछि गाउँपालिकाको संयन्त्र नै लागेर पीडितको घर भत्काएको भोलिपल्ट ११ फागुनको मिति राखेर फर्जी मन्जुरीनामा बनाई ६ चैतमा पीडितलाई ‘जग्गाको प्रमाण हो’ भन्दै झुक्याएर सही गराइएको खुलिसकेको छ । 

 सिराहा घटनाका दोषीमाथि कारबाही गर्न माग 
कांग्रेसले सिराहाको औरही– ५ मा विष्णु महायज्ञ आयोजना गर्ने उद्देश्यले दलित समुदायका दीपक मल्लिकको घर भत्काउने कार्य सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध भएको टिप्पणी गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले घटनामा दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । यस्ता घटना भविष्यमा निरुत्साहित गर्न पनि सरकारसँग कांग्रेसले आग्रह गरेको छ । जातीय भेदभाव र छुवाछुतजन्य कार्यविरुद्ध सामाजिक अभियान सञ्चालनमा लाग्न पार्टीपंक्तिलाई आह्वान गरेको छ । 

सुझावित समाचार