राजतन्त्रबारे एमाले र राप्रपाबिच घोचपेच

सोमबार, ३ चैत, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभामा राजतन्त्रबारे एमाले र राप्रपा सांसदबिच सवालजवाफ चलेको छ । आइतबार बसेको बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्र षड्यन्त्रको शासन भन्दै विगतमा राजाहरूले गरेका गतिविधि र इतिहास उल्लेख गर्दा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले झुटो कुरा भनेर प्रतिवाद गरेका थिए । दुवै सांसदबिच केहीबेर सदनमै भनाभनसमेत चलेको थियो । सभामुख देवराज घिमिरेले माहोललाई साम्य पारेका थिए । 

प्रतिनिधिसभाको विशेष समयमा एमाले सांसद पन्तले गणतन्त्र प्राप्तिपछि केही भएन भनेर देशमा भ्रम र निराशाको खेती चलिरहेको बताएका थिए । तर, विभिन्न अनुसन्धानको तथ्यांकले बहुसंख्यक जनताको जीवनस्तर, आर्थिकस्तरमा सुधार आएको देखाएको उनको भनाइ थियो । पन्तले आर्थिक विकासका साथै लोकतन्त्र पनि महŒवपूर्ण कुरा भएको र अर्थतन्त्र राम्रो भए पनि बंगलादेशमा लोकतन्त्र नहुँदा शासक नै देश छाडेर भाग्नुपरेको उदाहरण दिए । राजाको ३० वर्षे पञ्चायती शासनकालभन्दा अहिले धेरै विकास भएको र पूर्वाधार निर्माणमा देश निकै अघि बढेको तथ्यबाटै देखिने उनको भनाइ थियो । सांसद पन्तले गणतन्त्रमा जनताका छोराछोरी राष्ट्रपति भएको पनि स्मरण गराए । 

पन्तले राजतन्त्रको इतिहास पनि प्रस्तुत गरे । पृथ्वीनारायण शाहपछिका राजाहरू आन्तरिक कलह, षड्यन्त्र, कोतपर्वबाट मारिएको र १०४ वर्षे राणा शासनको जन्म भएको इतिहास स्मरण गराउँदै राजा किन चाहियो भनेर प्रश्न गरे । जनताभन्दा पनि आफ्नै भाइभारदारको षड्यन्त्र, स्त्रीहरूसँगको मोजमस्तीले राजतन्त्र बदनाम भएको र पटक–पटक लोकतन्त्र खोस्ने काम गरेको उनको भनाइ थियो । 

सांसद पन्तले राजतन्त्रको इतिहासबारे उल्लेख गर्दै विभिन्न महिलासँग रसरंग मच्चाएको भनेपछि राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उठेर आपत्ति जनाएका थिए । पन्त र शाहीबिच सदनमै भनाभन परेको थियो । राजतन्त्रबारे गलत कुरा प्रस्तुत गरिएको भन्दै शाहीले विरोध जनाउँदा पन्तले तथ्यले खण्डन गर्न चुनौती दिएका थिए । ‘म इतिहासबाट साबित गरेर देखाइदिन्छु । इतिहासका पुस्तक पढेर आउनुस् । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाहु गरेर आएजस्तो होइन । इतिहास पढेर आऊ । तथ्यले गरौँ । मैले बोलेको गलत हो भने इतिहासका पुस्तक पढाएर साबित गर,’ पन्तले भने । शाहीले जथाभावी भन्न पाइन्छ भनेर प्रतिवाद गरेका थिए । 

पन्तले नेपालको संविधानले राजतन्त्र नचिन्ने भएकाले संसद्मा छलफल गर्न नपाइने बताए । ‘संविधानले गणतन्त्र मात्रै चिन्छ । राजतन्त्र इतिहासको विषय भइसक्यो । संसारमा धेरै राजतन्त्र इतिहासका विषय हुन्छन् । किनभने राजतन्त्र भनेको आफैँमा विशेषाधिकार हो । त्यसैले संसारको राजनीतिको प्रभाव गणतन्त्र हो,’ उनले भने । पन्तले अहिले युग गणतन्त्रको भएको पनि बताए । 

संसारभर नै राजतन्त्र भनेको षड्यन्त्रको शासन भएकाले कसैले पनि राजा राम्रा छन् भनेर नमानेको उल्लेख गर्दै पन्तले लोकतन्त्र र जनताको भावनालाई विश्वास गरेर अगाडि बढेको बताए । पन्तले बिदाइ गरिसकेको राजतन्त्र व्यवस्था फर्किएर नआउने भन्दै संविधानअनुसार अगाडि बढ्न राप्रपालाई आग्रह गरे । ‘आमाको पेटबाट जन्मिसकेको बच्चालाई फेरि अब आमाको पेटमा पठाउन सकिँदैन । लोकतन्त्र ल्याउने संघर्षका लागि हामीले एकपटक फेरि सडकमा उत्रिन नपरोस् । यसलाई एउटा बौद्धिक विमर्श गरौँ, ठिक छ, तर त्रास खडा गरेर वातावरण बिगार्न खोजिन्छ भने प्रतिपक्ष त गइसक्यो, सत्तापक्ष पनि सडकमा आउने दिन आउन सक्छ,’ उनले चेतावनी दिए । 

राप्रपा प्रमुख सचेतक शाहीले मिलेर खाइरहेकाहरू व्यवस्था जोगाउन उफ्रिरहेको बताए । ‘चुनाव हार्ने हरूवा–चरुवाहरू मन्त्री र प्रधानमन्त्री बन्ने, चुनावै नजितेर पनि सांसद बन्न पाउने व्यवस्था हो । यो १६ वर्षको अवधिमा १४ पटक सरकार परिवर्तन भए । झन्डै एक हजार मन्त्री भए । ३१ वटा मुख्यमन्त्री, ३० वटा प्रदेश प्रमुख, तीनजना राष्ट्रपति र उपराष्ट्रपति, झन्डै तीन हजार सांसद भए । सबै मिलेर खान पाएपछि उहाँहरूले यो व्यवस्था उत्तम हो भन्नु स्वाभाविक हो,’ उनले भने । शाहीले यहाँ बोल्ने नेता र उच्च कर्मचारीका छोराछोरी युरोप, अमेरिका पढ्ने, गरिब जनताका छोराछोरी दुबई खाडीमा गएर बेल्चा हान्नुपर्ने, यो १६ वर्षमा १४ हजार युवा बाकसमा शव भएर फिर्ता हुने बनाउन यो व्यवस्था चाहिएको भनेर प्रश्न गरे । ‘२६ खर्ब ऋण बढाउन यो व्यवस्था चाहिएको हो । सांसद, मन्त्री, कर्मचारी, नेता पाल्दापाल्दा यो देशमा एक वर्षमा १५ खर्ब खर्च हुन्छ । त्यो खर्च गरिराख्न यिनीहरूलाई यो व्यवस्था चाहिएको छ । जनतालाई यो व्यवस्था चाहिएको होइन,’ उनले भने । 

अहिलेको प्रधानमन्त्री र राष्ट्रपति जनताले नभई संसद्भित्रको केही व्यक्तिले चुनको भन्दै शाहीले थपे, ‘यदि जनतामा जाने दम, हिम्मत, क्षमता छ भने जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री स्विकार्नुस् । होइन भने यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने, व्यवस्थाको बचाउ गर्नुको तुक छैन ।’ शाहीले एमाले अध्यक्ष प्रधानमन्त्री भएका वेला मदन भण्डारीको हत्यारा किन पत्ता लागेन भनेर सोधे । शाहीले निर्मला पन्तको हत्यारा गणतन्त्रवादीले किन पत्ता लगाएनन् भनेर पनि सोधे । राजतन्त्रकालमा आफू थुनिएको भनेका पन्तलाई शाहीले गणतन्त्रकालमा ललितपुरमा चामल बाँड्दा नौ दिन थुनिएको जवाफ दिए । 

व्यवस्था जनताको हितका लागि हुने भन्दै शाहीले आज तीन सय प्रतिशत कर लगाइएको, पैतृक सम्पत्तिमा समेत लाभकर लिइएको उल्लेख गरे । यो व्यवस्था जनतालाई नचाहिएको भन्दै शाहीले थपे, ‘हामीले स्पष्ट भनेका छौँ, न प्रजातन्त्र, न लोकतन्त्र मासिन्छ । सबै अटाउने गरी मात्रै राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ । लोकतन्त्र र गणतन्त्रको उत्तम व्यवस्थाभित्र हामी छिर्न चाहन्छौँ । राजासहितको प्रजातन्त्र चाहिन्छ । खुलमखुला बहस गर्न तयार छौँ ।’

सुझावित समाचार