कूटनीतिक पहल गरे मात्रै भारतबाट बिजुली आउने, नआए उद्योगमा कटौती हुने

शनिबार, १ चैत, २०८१
डिजिटल संस्करण
कूटनीतिक पहल गरे मात्रै भारतबाट बिजुली आउने, नआए उद्योगमा कटौती हुने

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार राति १० बजे काठमाडौंको स्युचाटारस्थित भारप्रेषण केन्द्रको अवलोकन गर्दै

सरकारले कूटनीतिक पहलमार्फत भारतबाट नियमित बिजुली आपूर्तिको सुनिश्चितता नगरे लोडसेडिङ फर्कने जोखिम बढेको छ । 

विद्युत् प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग ४ मंसिरमा गरेको समझदारीअनुसार शनिबार रातिसम्म मात्रै बिजुली आपूर्ति हुनेछ । आइतबारदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म भारतले बिजुली दिने व्यवस्था छ । जसकारण रातिको माग धान्न मुस्किल भई प्राधिकरणले बिजुली कटौती गर्न सक्ने जनाएको छ । त्यसैले तत्काल विद्युत्को मागअनुसार आपूर्तिको सुनिश्चितता गर्न सरकारले कूटनीतिक संयन्त्रमार्फत भारतबाट हाल पाइरहेको २० घण्टा बिजुली खरिदको सुविधा यथावत् राख्न पहल गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, ३० माघमा नयाँदिल्लीमा नेपाल–भारत पावर एक्सचेन्ज कमिटी (पिइसी)को बैठकमा भएको सम्झौता कार्यान्वयन गर्न पनि सरकारले प्राधिकरणलाई तत्काल स्वीकृति दिनुपर्नेछ । सो बैठकमा भएको सम्झौता कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक राखेर पिइसीमा भएको सम्झौता स्वीकृत गर्ने र विद्युत् नियमन आयोगले पनि अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

३० माघमा नयाँदिल्लीमा बसेको पिइअसी बैठकले आइतबार (१६ मार्च)देखि खरिद गर्ने विद्युत्को नयाँ दर निर्धारण गरेको थियो । तर, नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उक्त बैठकमा नसोधी गएको र विगतको भन्दा बढी दरमा बिजुली किन्ने गरी सम्झौता गरेको दोष लगाएर ऊर्जामन्त्री खड्काले पदबाट हटाउने नियतका साथ स्पष्टीकरण सोधेका छन् । मन्त्री खड्काले दुई महिनादेखि प्राधिकरणको सञ्चालक समिति बैठकसमेत नराखेर नीतिगत निर्णय गर्नबाट अल्झाइरहेका छन् । ऊर्जामन्त्री खड्का प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुन् ।

पिइसी बैठकमा भएको निर्णय प्राधिकरणको बोर्ड बैठकबाट स्वीकृत हुनुपर्ने र विद्युत् नियमन आयोगले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । दुवै निकायले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई असहयोग गर्ने नियतका साथ भारतबाट किन्ने बिजुलीको नयाँ दररेट स्वीकृत गरेका छैनन् । जसकारण आइतबारदेखि भारतबाट रातभर बिजुली आयात रोकिने जोखिम छ । 

कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण  

भारतको इनर्जी एक्सचेन्ज मार्केटबाट आइतबारदेखि रातको समयमा विद्युत् आयात गर्न पाइँदैन । यद्यपि, त्यो समयमा हामीले कसरी हुन्छ, विद्युत् आपूर्तिलाई व्यवस्थित गर्न लागिपरेका छौँ । सकेसम्म औद्योगिक क्षेत्रमा पनि विद्युत् कटौती हुन दिँदैनौँ, यदि भयो भने रातिको केही समय मात्रै हुन सक्छ ।

See More On

सुझावित समाचार