बर्दियामा जबर्जस्ती करणीको तीनवटा मुद्दाको एकैदिन फैसला भएको छ। बर्दिया जिल्ला अदालतले बिहीबार एकैदिन जबर्जस्ती करणीका तीन मुद्दामा तीनजनालाई कैद सजायको फैसला गरेको हो।
११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा न्यायाधीश मनोज श्रेष्ठको इजलासले बाँसगढी नगरपालिका– ४ का २१ वर्षीय अश्विनकुमार थारूलाई दोषी ठहर गर्दै १८ वर्ष कैद, सात लाख रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपूर्ति र २८ हजार रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत एवं सूचना अधिकारी अमृता केसीले जानकारी दिइन्।
थारूले बालिकालाई ०८० फागुन २७ गते जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, मोतीपुरमा उजुरी दिएको थियो।
त्यसैगरी, १५ वर्ष ११ महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा न्यायाधीश डल्लुराम चौधरीको इजलासले कसुर ठहर गर्दै गेरुवा गाउँपालिका– ६ नौरंगाका २० वर्षीय अनिल थारूलाई १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ।
पीडित बालिकालाई ०८० कात्तिक २२ गते जबर्जस्ती गरेको भन्दै पीडित पक्षले कात्तिक २७ गते इलाका प्रहरी कार्यालय, राजापुरमा उजुरी दिएको थियो।
त्यस्तै, ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको कसुरमा न्यायाधीश मनोज श्रेष्ठको इजलासले बढैयाताल– ४ बुटाहा खैरेनीका ५५ वर्षीय हाकिम थारूको कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको सूचना अधिकारी केसीले बताइन्। थारूले ०७९ पुस २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २७ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो।