हिउँदको अन्तिम दिनदेखि परेको वर्षाले धुवाँधुलो र तुवाँलो पखालेसँगै काठमाडौंको आकाश खुलेको छ भने प्रदूषण पनि घटेको छ । शुक्रबार र शनिबार हल्का वर्षा भएपछि आइतबार उपत्यकाबाटै वरिपरिका हिमाल स्पष्ट देखिएका छन् ।
शुक्रबार दिउँसोसम्म वायु प्रदूषणमा विश्वका शीर्ष पाँच सहरमा परेको काठमाडौं आइतबार राति १४औँ स्थानमा झरेको छ भने एक्युआई पनि ९६ मात्र छ । हावामा पार्टिकुलेट म्याटर (पिएम) २.५ भनिने आँखाले देख्न नसकिने र रौँभन्दा पनि साना धुलोका कण प्रतिघनमिटर ९६ मा झर्नु भनेको हावा पूर्ण स्वच्छ त होइन, तर मध्यम मानिन्छ । यो सूचकांक १०० माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वातावरण विभागका अनुसार यो सूचकांक आइतबार राति भैँसेपाटीमा ९५ र भक्तपुरमा ९२ मापन भयो ।