पछिल्ला वर्ष हिउँद घर्किन थालेपछि मात्र हिमपात हुन थालेको छ । तापक्रम उकालो लागिसक्दा फाट्टफुट्ट पर्ने हिउँ चाँडै पग्लिने गर्छ । लामो समयसम्म टिक्ने गरी पर्याप्त हिउँ नपर्दा जनजीवनमै नकारात्मक असर पार्ने भएकाले यो नकारात्मक सन्देश हो । शुक्रबार पश्चिम नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम हिमपात भएको छ, मध्य नेपाल र पूर्वी नेपालमा भने हल्का हिउँ परेको छ ।
तीन वर्षयता हिउँद सकिएपछि मात्र हिउँ पर्न थालेको अनुभव मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेको छ, ‘पर्नुपर्ने पुस–माघमा हिउँ पर्दैन ।’ गत वर्ष पनि फागुन–चैतमा हिउँ परेको थियो, यसपटक पनि फागुनको दोस्रो साता लागेपछि मात्रै हिउँ पर्यो ।
मनाङ सदरमुकाम चामेआसपास गत शनिबार (१० फागुन) मात्र हिउँ परेको थियो । यो हिउँदकै पहिलोपटक चामेदेखि उत्तरक्षेत्रसम्म हिमपात भएको, तर छिट्टै पग्लिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । ‘यस वर्ष निकै ढिलागरी हिमपात भयो । तर, गर्मी चढ्न थालिसकेकाले हिउँ एक दिन पनि नटिकी निख्रियो । पुस–माघमा पर्ने हिउँ चिसोका कारण लामो अवधिसम्म टिक्छ, तर गर्मीका कारण अहिलेको हिउँ भने छोटो समयमै पग्लिन्छ,’ उनले भने ।
मनाङबाट मुस्ताङ निस्किने, नेपालकै सबैभन्दा अग्लो पाँच हजार ४१६ मिटर उचाइको थोरंलापासको उचाइसम्म पनि हुनुपर्ने जति हिउँ देखापरेको छैन । थोरङफेदी (चार हजार ४५० मिटर) मा होटेल सञ्चालन गर्ने व्यवसायीका अनुसार फागुनको पहिलो सातापछि भने त्यहाँ हिउँ पर्न सुरु गरेको छ । तर, फेदीसम्म भने पातलो मात्रामा हिउँ देखिएको छ ।
होंगेल घले समुद्र सतहबाट तीन हजार ५४० मिटरमाथि मनाङ ङिस्याङ गाउँपालिकामा होटेल चलाउँछन् । पुस–माघमा छपक्क हिउँले जमिन ढाकेको दृश्य र ठिहिर्याउने जाडोसँग खेल्दै ६० हिउँद पार गरेका उनी अहिले मनाङको हावापानीमा फरक महसुस गरिरहेका छन् । पछिल्ला वर्ष हिमाली ऋतुचक्र नै फेरिएको छ भने समयमा हिउँ परेको छैन । उतिविधि जाडो पनि भएन । ‘म जन्मेहुर्किँदाको समयमा पुस–माघमा छपक्क हिउँ पथ्र्यो । अहिले त्यस्तो हिउँ देख्न पाएको छैन,’ घले आफ्नो अनुभव सुनाउँछन्, ‘उहिलेजस्तो चिसो पनि छैन ।’
हुन पनि मध्यफागुन लागेर गर्मी चढिसक्दासमेत मनाङ क्षेत्रमा हिउँ परेको छैन । १६ मंसिरदेखि १६ फागुनसम्मको अवधिलाई हिउँद मानिन्छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले गाउँपालिका क्षेत्रमा यो वर्ष हिउँ नै नपरेको बताउँछन् । ‘पुस–माघमा समेत हिउँ परेन,’ उनी भन्छन् । माथिल्लो हिमाली क्षेत्रमा केही दिनयता फाट्टफुट्ट हिउँ पर्न थाले पनि तल्लो क्षेत्रमा झरेको छैन ।
१२ वर्षदेखि बेँसीसहर–मनाङ सडकमा जिप चलाउँदै आएका सुदीप तामाङको अनुभवमा पछिल्लो समय पहिलाजस्तो हिउँ छैन । ‘पहिले हिउँदमा गाडी चलाउनै सकिन्नथ्यो । ३–४ फिटसम्म हिउँ हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त हिउँ नै पर्दैन ।’
मनाङजस्तै मुस्ताङमा पनि हिउँ परेको छैन । जिल्लाको तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ क्षेत्रसम्म पनि हिउँ परेको छैन । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा होटेल गरिरहेकी ५० वर्षीया खन्डु गुरुङका अनुसार त्यस क्षेत्रमा गएको हिउँदमा हिउँ नै परेन । ‘बस्तीमा हिउँ नपरेको त दुई–तीन साल नै भयो,’ उनी भन्छिन् । मनाङका होंगेल घलेलेझैँ गुरुङले पनि पछिल्ला वर्षमा हिउँदमा चिसो कम भएको महसुस गरेको बताइन् । ‘हामी सानो छँदा धेरै जाडो हुन्थ्यो । त्यसबाट जोगिन हामी छालाको कपडा र जुत्ता लगाउँथ्यो,’ उनी भन्छिन्, ‘तर, अहिले त्यति जाडो लाग्दैन ।’
मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकी उपाध्यक्ष छिरिङ ल्यामो गुरुङ यो वर्ष एक थोपा पनि हिउँ नपरेको बताउँछिन् । ‘पोहोर–परार पनि हिउँदभरि हिउँ परेन । फागुनको अन्तिमतिर, त्यो पनि अलिअलि मात्र पर्यो,’ उनी भन्छिन् । पहिला नियमित रहेको मौसम यसरी फेरिएको तीन–चार वर्ष भएको उनको अनुभव छ । अहिले हिउँदमा हिउँ नपर्ने बर्खामा बढी पानी पर्ने भइरहेको उनको भनाइ छ । ‘पहिलाको हेरी मौसम धेरै बिग्रेको छ । अहिले हिउँदमा तातो हुने र वर्षायाममा चिसो हुने भएको छ । बर्खामा विगतको तुलनामा पानी बढी परेको छ,’ उनी भन्छिन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय वातावरण तथा जलवायु परिवर्तन परिषद्का विज्ञसदस्य डा. माधव कार्की जलवायु परिवर्तनका कारण यस्ता असर देखिएको बताउँछन् । जलवायु परिवर्तनले मौसमका चक्र बिथोलिदिएको उनको भनाइ छ । ‘हिमाल र उच्च पहाडी क्षेत्रमा हिउँ पर्न तराई–पहाडमा पानी पर्नुपर्यो । तर, पानी परिरहेको छैन । यसपटक पानी पार्ने पश्चिमी वायु नेपालसम्म आउँदा कमजोर रह्यो,’ उनले भने ।
जलवायु परिवर्तनको उच्च जोखिम झेल्दै हिमाली क्षेत्र
नेपाल नै अहिले जलवायु परिवर्तनको असरका हिसाबले जोखिम क्षेत्रमा छ । जलवायु परिवर्तनको अहिले सबैभन्दा ठुलो असर हिमाली क्षेत्रमा परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा गरेको अध्ययनले नेपालमा उचाइमा आधारित तापक्रमको वृद्धिद्धर उच्च रहेको देखाएको थियो । अहिले संसारमै औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा बढी भएको अवस्थामा त्यसलाई जोखिम ठानिएको छ । यसैअनुसार विश्वमा ०.१ डिग्री तापक्रम बढ्दा नेपालको हिमाली क्षेत्रमा भने ०.५६ डिग्रीले बढेको छ । त्यस्तै, नेपालमा प्रतिवर्ष ०.०५६ र प्रतिदशकमा ०.५६ डिग्रीको हिसाबले तापक्रम बढ्ने अनुमान छ ।
जलवायु परिवर्तन परिषद्का विज्ञसदस्य डा. कार्की विश्वमा गएको १०० वर्षमा तापक्रम १.३ डिग्रीले बढ्दा नेपालमा १.५ डिग्रीले बढेको बताउँछन् । ‘विश्वको तापक्रमको तुलनामा नेपालको हिमाली क्षेत्रमा २० देखि ३० प्रतिशत बढीले तापक्रम वृद्धि भएको देखिन्छ,’ उनी भन्छन्, ‘यथार्थमा तापक्रम झनै बढेको छ ।’ हिमाली क्षेत्रमा हिउँ घट्नुको प्रमुख कारणमध्ये तापक्रम वृद्धि एउटा रहेको उनी बताउँछन् ।
हिन्दुकुश हिमालय क्षेत्रको जलवायु र वातावरणीय अध्ययन गर्ने इसिमोडमा हिमनदीबारे अध्ययन गरिरहेका अध्येता शरदप्रसाद जोशी अहिले दिन र रातहरू नै बिस्तारै तातो बन्दै गएका बताउँछन् । ‘उचाइका क्षेत्रमा तापक्रम औसतभन्दा बढेर गएको छ,’ उनी भन्छन्, ‘यो उचाइमा आधारित तापक्रम वृद्धि हो ।’ यही तापक्रम वृद्धिले हिउँ पग्लिने क्रम तीव्र बनाएको छ ।
हिमालमा हिउँ पातलिँदै गएको आभास, तर छैन ठोस अध्ययन र विश्लेषण
हिमाली क्षेत्रमा हिउँ पातलिँदै गए पनि समग्रमा अध्ययन भएको पाइँदैन । जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थ हिमालमा हिउँ र तल्लो क्षेत्रमा वर्षा हुने कुरा एकअर्कासँग अन्तरसम्बन्धित छन् । तर, वर्षा तथा हिउँ पर्नेक्रम विगत केही वर्षदेखि घटिरहेको उनी बताउँछन् । हिउँदेयाममा पश्चिमी वायुका कारण वर्षा हुने भए पनि अघिल्लो र यस हिउँदमा निकै कमजोर रह्यो ।
विगत २५–३० वर्षको तथ्यांकको तुलनामा यो हिउँदमा १० प्रतिशत पनि वर्षा नभएको र त्यसमा पनि विगत दुई–तीन वर्षदेखि कम हुँदै आएको उनको भनाइ छ । हिमाली क्षेत्रमा विगत ८–१० वर्षदेखि नै हिउँ क्रमशः घट्दै गएको अनुभव भएको कायस्थ बताउँछन् । ‘तर, हिउँ कति घट्यो भन्ने तथ्यांकीय र तुलनात्मक अध्ययन तथा विश्लेषण भएको छैन,’ उनी भन्छन् । हिउँ नपर्ने यो असर घरेलु मात्र नभएर क्षेत्रीय तथा विश्व ‘फेनोमेना’ नै भएको उनी बताउँछन् ।
हिमाली क्षेत्रमा हिउँ घट्दै गएको पुष्टि गर्ने गरी समग्रमा व्यवस्थित अध्ययन भएको देखिँदैन । यद्यपि, इसिमोडले यसबारे सन् २०२३ मा एउटा अध्ययन गरेको छ । इसिमोडका हिमनदी विशेषज्ञ शरदप्रसाद जोशीसहितको टोलीले गरेको अध्ययनले सन् २०२३ मा रसुवाको लाङटाङ क्षेत्रको याला हिमनदी १.३ मिटर पग्लिएको देखाएको थियो । यसले हिमाली क्षेत्रमा हिउँ द्रुतगतिमा पग्लिएको देखाएको छ । यो पग्लिने क्रम पछिल्लो वर्षमा थप बढ्दै गएको जोशी बताउँछन् ।
तातोपन बढ्दै गएकाले हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम बढेको अनुसन्धानकर्ताले बताएका छन् । हिमाली क्षेत्रका क्रमशः तल्लो उचाइमा हिउँ पातलिँदै गएका छन् । यसैअनुसार हिमनदी पनि खुम्चिँदै गएका छन् ।
वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढेको र यसले विभिन्न आयाममा असर गरेको बताउँछन् । तर, नेपालसँग जलवायु परिवर्तनको असर कम गर्ने नीतिगत प्रयास राम्रो भए पनि स्रोतसाधनको अभाव रहेको उनको भनाइ छ । उनका अनुसार अहिले नेपाल सरकारको कुल बजेट योजनाको ६ प्रतिशत जलवायु परिवर्तन केन्द्रित छ, १६औँ पञ्चवर्षीय योजनाले २० प्रतिशत पुर्याउने भनेको छ । छिमेकी र व्यापक कार्बन उत्सर्जन गर्ने विकसित औद्योगिक राष्ट्रका कारण पनि नेपालमा जलवायु परिवर्तनको असर बढेर गएको ढकाल बताउँछन् । ‘यसको असर घटाउन र हिमाल संरक्षणका लागि नेपालले लबिङ गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘यसका लागि निरन्तर अध्ययन, अनुसन्धान र अनुगमनको खाँचो छ ।’
पानीको मुहान सुक्दा हिमाली बस्ती नै विस्थापित, कृषि उत्पादनदेखि मानव स्वास्थ्यसम्मै असर
हिमाली क्षेत्रको पारिस्थितिक र जैविक प्रणाली नै हिउँमा आधारित हुन्छ । समयमा हिउँ नपर्नुलाई हिमाली क्षेत्रमा सुक्खा मानिन्छ । यो सुक्खा बढ्दा यसको असर अन्नबाली र पशुचौपायामा पर्ने स्थानीय बताउँछन् । हिउँ नहुँदा हिमाली अन्नबालीका लागि आवश्यक पर्ने जमिनको चिस्यान पुग्दैन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष घलेका अनुसार समयमा हिउँ नपर्दा यसको असर खेतीपातीमा पर्छ । आलु, फापर, स्याउलगायतका चिस्यान आवश्यक पर्ने उत्पादनमा यसले असर गर्ने उनले बताए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्रकी खन्डु गुरुङ हिउँ नपर्दा चरन क्षेत्रमा च्याङ्ग्रा, चौँरीलगायतका लागि आवश्यक घाँस नै नपुग्ने बताउँछिन् । ‘हिउँले घाँस र बालीका लागि सिँचाइ प्रदान गर्छ,’ उनी भन्छिन्, ‘समयमा हिउँ परेन भने ती घाँस, बाली र बिरुवामा सिँचाइ पुग्दैन । जसका कारण ती राम्रोसँग हुर्किन पाउँदैनन् । यसको असर चौपाया र कृषि उत्पादनमा पर्छ ।’
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकी उपाध्यक्ष छिरिङ समयमा हिउँ नपर्दा धेरै असर देखिएको बताउँछिन् । ‘खानेपानीको मुहान सुकेर हाम्रै पालिकाको धे गाउँका २६ घरधुरी नै विस्थापित भई खोलाकिनारामा गएका छन्,’ उनले भनिन्, ‘यसका धेरै कारण हुन सक्छ, तर हिउँ कम पर्नु पनि एउटा कारण हो ।’ हिउँ नपर्दा कृषिप्रणाली नै डामाडोल हुन पुगेको उनी बताउँछिन् । ‘यसबाट कृषिमा आधारित जनसंख्या अप्ठ्यारोमा परेको छ । जलवायु परिवर्तन विश्वव्यापी हो । तर, हिमाली क्षेत्रमा बढी असर गरेको छ,’ उनले भनिन् ।
राष्ट्रिय वातावरण तथा जलवायु परिवर्तन परिषद्को विज्ञसदस्य डा. माधव कार्की हिउँ नपर्दा स्थानीयस्तरमा हिउँमा आधारित खानेपानीको समस्या पैदा भएको बताउँछन् । मुस्ताङका कतिपय गाउँ नै सर्नु यसैको असर भएको उनको भनाइ छ । ‘हिउँ नहुँदा भूमिगत पानीको ‘रिचार्ज’ घट्छ । जसका कारण पानीका मुहान सुक्छन् । हाम्रा धेरैजसो जलविद्युत् आयोजना नदीप्रणालीमा आधारित छन् । अन्ततः यसको असर विद्युत् उत्पादनमा समेत पर्छ,’ उनी भन्छन् ।
हिमाली क्षेत्रका बासिन्दाका अनुसार समयमा हिउँ नपर्दा कृषि बालीमा नयाँनयाँ रोग देखिने, हिमाली पशुपन्छी विस्थापित हुनेदेखि मानव स्वास्थ्यसम्मै असर देखिएको छ । ऋतुचक्र फेरिएर समयमा हिउँ नपर्दा त्यसले मानव स्वास्थ्यमा रोगव्याध निम्त्याउन थालेको उनीहरूको भनाइ छ । हिउँको सम्बन्ध मानव स्वास्थ्यमा कसरी जोडिन्छ भन्ने कुरालाई थप प्रस्ट पार्दै कार्की भन्छन्, ‘हिउँले हावामा उपयुक्त मात्रामा आद्र्रता सन्तुलन गर्छ । हिउँ नपर्दा हावामा आद्र्रता कम हुन्छ । यसले स्थानीयस्तरमा मात्र नभएर त्यसबाहिरको वातावरणसम्मै असर गर्छ,’ उनले भने, ‘सुक्खा वायुले स्वास्थ्यमा प्रतिकूल असर पर्छ । यसले मान्छेमा मुटु, फोक्सो र छालासम्बन्धी रोगको जोखिम बढाउँछ । बालीनाली उत्पादनमा पनि असर पुर्याउँछ ।’ जलवायु परिवर्तनको असर सामना गर्ने अनुकूलन तथा उत्थानशीलता बढाउने विधि अपनाउनु जरुरी भइसकेको उनी बताउँछन् ।
मनाङ र मुस्ताङका जनप्रतिनिधि भन्छन्– पोहोर–परार जस्तै यसपालि पनि हिउँदमै हिउँ परेन
हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमै हिउँदमै हिउँ नपर्नु सामान्य विषय होइन । वातावरणीय परिवर्तनका हिसाबले गम्भीर सवाल हो । मनाङको मनाङ डिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले तीन वर्षयता हिउँद सकिएपछि मात्रै हिउँ पर्न थालेको अनुभव सुनाउँछन् ।
गत वर्ष फागुन–चैतमा हिउँ परेकोमा यसपालि पनि फागुन दोस्रो सातापछि मात्रै पर्न थालेको उनले बताए । मुस्ताङको ले–घेकर दामोदरकुण्ड गाउँपालिकाकी उपाध्यक्ष छिरिङ ल्यामो गुरुङ पनि हिउँदका पुस–माघमा एक थोपा हिउँ नपरेको बताउँछिन् । पोहोर–परार पनि फागुन अन्तिमतिर मात्रै अलिअलि हिउँ परेको उनको अनुवभ छ ।