दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलोपटक बढेको सरकारी तथ्यांकले देखाएको छ। दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्मदर भएको देशमध्ये एक हो। यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसांख्यिकीय चुनौती प्रस्तुत गर्दछ।
सियोलले महिलाहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसंख्या स्थिर कायम गर्न अर्बौँ डलर खर्च गरेको छ। कोरियाको प्रारम्भिक सांख्यिकीय तथ्यांकअनुसार प्रतिहजार व्यक्तिमा जन्मिने शिशुको संख्या दर ४.७ रहेको छ, जसले सन् २०१४ देखि निरन्तर घट्दो जनसंख्याको प्रवृत्ति देखाएको थियो।
प्रजननदर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत संख्या सन् २०२४ मा ०.७५ पुगेको छ। यो सन् २०२३ को ०.७२ को तुलनामा ०.०३ ले बढी हो।
‘सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार तीन सयजनाको जन्म भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा आठ हजार तीन सय (३.६ प्रतिशत) बढी हो,’ प्रतिवेदनमा भनिएको छ।
जनसंख्याको अध्ययनमा जानकारी राख्ने कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड– १९ को महामारीपछि विवाहमा वृद्धि हुनुका साथै जनसांख्यिकीय परिवर्तनमा आएको परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताए। पार्कले एक पत्रकार सम्मेलनमा भने, ‘पछिल्लो एक दशकमा कोरियामा ३० वर्षभन्दा माथिका मानिसको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।’
सियोलका अनुसार सन् २०२४ मा बच्चा जन्माउने औसत मातृ उमेर ३३.७ वर्ष रहेको छ। तर, दक्षिण कोरियाको पाँच करोड १० लाख जनसंख्या कायम राख्न आवश्यक पर्ने २.१ जना बालबालिकाभन्दा प्रजनन दर निकै कम छ।
सियाटलस्थित युनिभर्सिटी अफ वासिङ्टनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दर कायम रहेसन् २१०० सम्ममा जनसंख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ।
विशेषज्ञहरूका अनुसार बच्चा हुर्काउने उच्च लागत र सम्पत्तिको मूल्यदेखि प्रतिस्पर्धात्मक समाज कम जन्मदरका धेरै कारणहरूमध्ये प्रमुख कारण मानिन्छन्। यसले राम्रो तलब आउने रोजगारीका अवसरहरू सुरक्षित गर्न गाह्रो बनाउँछ।
कामकाजी आमाहरूले आफ्नो पेसालाई कायम राख्दै घरको काम र बच्चाको हेरचाहको बोझ व्यवस्थापन गर्नु अर्को प्रमुख कारक भएको उनीहरूको भनाइ छ।
दक्षिण कोरियाली सरकारले जन्मदर वृद्धिका लागि नगद अनुदान, ‘बेबी सिटिङ’ सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्छ। तर, प्रजननदरले अहिलेसम्म आफ्नो दीर्घकालीन गिरावटलाई निरन्तरता दिएको छ।
मोनाकोपछि विश्वको दोस्रो सबैभन्दा धेरै वृद्ध जनसंख्या दर भएको देशको अपेक्षाकृत कडा अध्यागमन नियमको अर्थ यो हो कि यसले बढ्दो श्रम अभावको सामना गरिरहेको छ।