सिराहाकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले सोधपुछका लागि आइतबार चारजनालाई पक्राउ गरेको छ । कर्तव्य ज्यान, बलात्कार, शरीर बन्धक र मिलापत्रमा जाहेरी परेका आठजना फरार रहे पनि प्रहरीले घटनाको १४औँ दिन सोधपुछका लागि चारजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरू इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा छन् ।
घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समिति संयोजक एसएसपी शान्तिराज कोइरालाले पञ्चायत भएका वेला सहभागी र घटनाबारे थाहा पाएका हुन सक्नेमध्ये चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए । ‘जाहेरी परेका सबै फरार नै छन् । तर, घटनाबारे थाहा भएका वा संलग्न हुन सक्ने आधारमा चारजनालाई नियन्त्रणमा लिइएको हो,’ एसएसपी कोइरालाले भने, ‘घटनामा संलग्न रहेको पाइए मुद्दा प्रक्रियामा लग्छौँ ।’ एसएसपी कोइरालाले जाहेरी परेका आठजनाको खोजी भइरहेको बताए ।
घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका चारमध्ये एक भने २९ र ३० माघमा भएको पञ्चायत र घटना सामसुम पार्न भएको पैसाको बार्गेनिङमा संलग्न देखिन्छन् । ‘जाहेरी नपरेकाहरू घटनामा संलग्न छैनन् भन्न मिल्दैन, अरू पनि घटनामा संलग्न हुन सक्छन् । हामीले पक्राउ गरेकामध्येका एकजना पैसाको बार्गेनिङ घटनामा संलग्न रहेको देखिन्छ, थप सोधपुछ भइरहेको छ,’ ती अधिकृतले भने । नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु २७ माघ राति शौच गर्न गएका वेला सामूहिक बलात्कारमा परेकी थिइन् । रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरू फरार छन् ।
घटना थामथुम पार्न २९ माघमा बोलाइएको पञ्चायतमा रिंकुले सामूहिक बलात्कार गरेको सुनाउँदा पनि वडासदस्यसहितको पञ्चायतले घटनामा संलनमध्ये रूपेशबाट एक लाख ५० हजार तिराउने निर्णय सुनाएको थियो । ३० माघमा रिंकु मृत फेला परेकी थिइन् । रिंकुको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइए पनि पोस्टमार्टम रिपोर्ट अझै आएको छैन ।
प्रहरीले ४ फागुनमा छानबिन समिति गठन गरेपछि पीडित परिवारले ८ फागुनमा पूरक जाहेरी दिएका थिए । मृतककी आमा सीतादेवीले रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलविरुद्ध जबर्जस्ती करणी र शरीर बन्धक तथा वडासदस्य नथुनी साहसहित पाँच पञ्चविरुद्ध मिलापत्र लेनदेन कसुरमा जाहेरी दिएकी हुन् । यसअघि १ फागुनमा उनले चारजनाविरुद्ध दिएको किटानी प्रहरीले जबर्जस्ती दुईपटकसम्म सच्याउन लगाएर रूपेशको नाममा मात्रै आत्महत्या दुरुत्साहन कसुरको जाहेरी दर्ता गरेको थियो । बलात्कारजस्तो जघन्य अपराध आर्थिक लेनदेनमा गुपचुप पार्न वडासदस्यकै रोहबरमा गाउँका अगुवाहरू पञ्चायत बसेकोदेखि प्रहरीले मृतककी आमाले दिएको जाहेरी नै सच्याएकोसम्मका लापरबाहीबारे समाचार आएपछि दबाबमा परेको प्रहरीले नै पीडित परिवारलाई पूरक जाहेरी दिन अनुरोध गरेको थियो ।
घटनामा संलग्नलाई पक्राउको माग गर्दै सिराहा, सप्तरी र धनुषामा प्रदर्शन
घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै सिराहा, सप्तरी, धनुषालगायतका जिल्लामा आइतबार प्रदर्शन गरिएको छ । केही ठाउँमा सडक अवरोधसम्म गरियो । सिराहास्थित अधिकारवादी संस्थाहरूले आइतबार लहानमा बृहत् प्रदर्शन गर्दै दोषीहरूलाई कारबाही र पीडित परिवारलाई न्याय, क्षतिपूर्ति र राहतको माग गरेका छन् ।
अधिकारकर्मीहरूले विभिन्न जिल्लामा दलित समुदायमाथि बलात्कार, हत्या, अपहरण, उठीवास, जातीय छुवाछुत भइरहेको आरोप लगाउँदै घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गरेका छन् । उनीहरूले रिंकुको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाको सूक्ष्म छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई न्यायका लागि राज्यपक्ष जिम्मेवार हुनुपर्ने मागसमेत गरेका छन् ।
त्यस्तै, रिंकुका लागि न्याय माग्दै मधेशको राजधानी जनकपुरधाममा सडक अवरोध गरी धर्ना दिइएको छ । जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ धनुषाले सडक अवरोध गरी केही घण्टा सडकमै धर्ना दिएका थिए । दलितमाथि बारम्बार ज्यादती र अत्याचार भइरहँदासमेत सरकार मौन बसेको उनीहरूको आरोप छ ।