बर्दियामा जंगली हाती मृत अवस्थामा फेला परेको छ । ठाकुरबाबा नगरपालिकावडा नम्बर ४ खैलार गाउँमा रहेको नजिकैको खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जले मृतक हात्ती करिब ३० वर्षका भाले भएको अनुमान गरेको छ। मृत हात्तीको शरिरिक अवस्था हेर्दा हात्ती बिरामी भएर प्राकृतिक कारणले मृत्यु भएको जस्तो देखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताए । उनले भने, ‘हात्तीको छालामा स–साना फोका उठेकोले अलि समस्याग्रस्त पनि देखिएको छ ।
हात्ती पटक पटक गेरुवादेखि बबई चेपाङसम्म आउने जाने गरेको देखिएको छ। हात्ती प्रायः हिँडिरहने भएकोले चोट लागेर स्वास्थ्य अवस्था बिग्रेको पनि हुन सक्छ ’पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुन्छ।’मृत हात्तीको पोस्टमार्टम गरी अन्त्येष्टि समेत भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।