सन् १८९६ : थियोडोर हरजलले ‘डेर जुडेनस्टाट (यहुदी राज्य)’ नामक पर्चा प्रकाशित गरे । पर्चामा हरजलले पहिलोपटक युरोपभर दमन खेपिरहेका यहुदीहरूले प्यालेस्टाइन गएर जमिन किनेर बसाइँ सर्नुपर्ने आह्वान गरे । यो पर्चाले इजरायल निर्माणका लागि बिउको काम गरेको विश्वास गरिन्छ ।
सन् १५५६ : १४ वर्षीय अकबरको तेस्रो मुगल सम्राट्का रूपमा राज्याभिषेक सम्पन्न भयो ।
सन् १८४९ : म्याथ्यु ब्राडी नामक फोटोग्राफरले आजकै दिन अमेरिकी राष्ट्रपति जेम्स नोक्स पोल्कको फोटो खिचेका थिए, जुन अमेरिकी राष्ट्रपति पदमा रहँदा खिचिएको पहिलो फोटो बन्यो ।
सन् १८७० : उताह राज्यको विधायिकाले महिलालाई मताधिकार प्रदान गरेपछि सेराफ योङ अमेरिकामा सम्पन्न मतदानमा आधिकारिक रूपमा मत हाल्ने पहिलो महिला बनिन् ।
सन् १८७६ : एलेक्ज्यान्डर ग्राहम बेल र एलिसा बेलले एकै दिन केही घण्टाको फरकमा आफूले टेलिफोन आविष्कार गरेको दाबीसहित ‘प्याटेन्ट’ दर्ता गरे । त्यही वर्ष मार्च ७ मा बेलले प्याटेन्ट पाए । ग्रेले बेलविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरे, तथापि सर्वोच्चले बेलकै पक्षमा फैसला गर्यो ।
सन् १९४९ : इजरायल स्थापनापछि भएको पहिलो संसदीय निर्वाचनपछि गठन भएको संसद्को पहिलो सत्र आजकै दिनबाट जेरुसेलममा बस्यो ।
सन् १९५८ : सिरिया र इजिप्टबिचको गणतान्त्रिक एकताबाट त्रसित भएर इराक र जोर्डनका राजाहरू एक भएर जाने घोषणा गरे । यसबिच इराकमा राजतन्त्र पतन भएपछि यो एकता ६ महिनाभित्र टुट्यो ।
सन् १९८९ : सलमान रुस्दीले उनको उपन्यास ‘सटानिक भर्सेस’मा मोहम्मदको अपमान गरेको भन्दै इरानका सर्वोच्च नेता आयतोल्ला खोमेनीले उनको हत्या गर्न फत्वा जारी गरे ।
सन् १९८९ : ग्लोबल पोजिसनिङ सिस्टमका पहिलो २४ भूउपग्रह पृथ्वीको कक्षमा पुर्याइयो ।
सन् १९९० : अन्तरिक्षयान ‘भोयाजर प्रथम’ले सम्पूर्ण सौर्य प्रणालीको पहिलो तस्बिर खिचेर पृथ्वीमा पठायो । यस चर्चित तस्बिरलाई ‘पेल ब्लु डट’को नामले चिनिन्छ ।
सन् २००५ : युट्युब सार्वजनिक भयो ।