सन् २०२० : ब्रेक्जिट चुनावपछिको तीन वर्ष लामो प्रक्रियापछि अन्ततः बेलायत औपचारिक रूपमा युरोपेली संघबाट बाहिरियो ।
सन् १६०६ : विद्रोही गाय फोक्सलाई झुन्ड्याएर (मरेपछि चार हातखुट्टा काटेर) मृत्युदण्ड दिइयो । उनलाई इंग्ल्यान्डको संसद् भवन बमले उडाउने र देशका राजा जेम्स प्रथमको हत्याको असफल ‘गनपाउडर प्लट (षड्यन्त्र)’मा संलग्न भएको आरोप थियो । गायको समूह इंग्ल्यान्डमा इसाई धर्मभित्रै क्याथोलिक सम्प्रदायप्रतिको दमनले आक्रोशित थियो ।
सन् १८६५ : अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ले दासप्रथा उन्मूलन गर्ने संविधानको १३औँ संशोधन पारित गर्यो । उक्त संशोधन देशका तीनचौथाइ राज्यबाट अनुमोदन भएपछि अन्ततः सोही वर्षको अन्त्य अर्थात् डिसेम्बर ६ देखि कार्यान्वयनमा आएको थियो ।
सन् १९४३ : जर्मन फिल्ड मार्सल फ्रेडरिक पोलस र उनको नेतृत्वमा रहेको जर्मन छैटौँ सैन्य विभागका बाँकी रहेका केही सैनिकले सोभियत संघको लालसेनासामु आत्मसमर्पण गरे । पाँच महिना लामो युद्धपछि जर्मन सेना लगभग समूल नष्ट भएको थियो । योसँगै दोस्रो विश्वयुद्धको सबैभन्दा भयानक संघर्ष मानिने ‘स्टालिनग्रादको युद्ध’ अन्त्य भयो ।
सन् १९५८ : अमेरिकाले देशको पहिलो मानव निर्मित भूउपग्रह ‘एक्स्प्लोरर प्रथम’ प्रक्षेपण गर्यो । एक वर्षअघि सोभियत संघले विश्वको पहिलो भूउपग्रह स्पुतनिक प्रक्षेपण गरेपछि अमेरिका यस्तो खालको सफलताको उच्च दबाबमा थियो । यी दुई प्रक्षेपणले दुई देशबिच अन्तरिक्ष दौड सुरु गर्यो ।
सन् १९६६ : अमेरिकी राष्ट्रपति लिन्डन बी जोनसनले ३७ दिनको युद्धविरामपछि कम्युनिस्ट शासन रहेको उत्तर भियतनाममा पुनः बमबारी सुरु भएको घोषणा गरे ।
सन् १९६६ : सोभियत संघले चन्द्रमामा पहिलो ‘सफ्ट ल्यान्डिङ’ गर्ने अन्तरिक्षयान लुना नवौँ प्रक्षेपण गर्यो ।
सन् १९७९ : अमेरिका भ्रमणका क्रममा चिनियाँ नेता देङ सियाओपिङ र अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले सांस्कृतिक सम्बन्ध, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्यलगायत कैयौँ ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरे । यस सम्झौताले दुई देशको सम्बन्ध थप सहजीकरण गर्न सघायो ।
सन् १९८१ : श्रमिक नेता लेख वालेसाको नेतृत्वमा भएको मजदुर आन्दोलन आजको दिनमा पोल्यान्डमा श्रमिकलाई कैयाँै सुविधा दिने सम्झौता गराउन सफल भयो ।