१३ वर्षसम्म अधुरै सिराहाको खानेपानी आयोजना

ट्रान्सफर्मर चोरी, सोलार प्लान्ट जीर्ण

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

सिराहाको धनगढीमाई नगरपालिका क्षेत्रका चारवटा खानेपानी आयोजना वर्षाैँदेखि अलपत्र छन् । धनगढीमाई– ९ चैनपुर, १२ कुसमाहा सिमलटोकी, विष्णुपुरकट्टी तथा १३ को भोर्लेनीमा खानेपानी सरसफाइ उपभोक्ता समितिअन्तर्गतका खानेपानी आयोजना अलपत्र छन् ।

२५ सय घरपरिवारलाई खानेपानी पुर्याउने भन्दै १३ वर्षअघि चैनपुरमा सुरु भएको खानेपानी आयोजनामा साढे चार करोड खर्च भइसकेको छ । तर, आयोजना स्थलको बाउन्ड्री, साढे चार लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण, बोरिङ, विद्युतीकरणका लागि पोलिङ मात्र भएको छ । तीन फेजको दुई थान विद्युतीय मोटर, नयाँ ट्रान्सफर्मर र पाइप बिछ्याउने काम बाँकी नै रहेको धनगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सकिल अख्तरले बताए । ‘अझै १० करोड ३९ लाख बजेट लाग्ने अनुमान गरिएको छ,’ उनले भने । 

महुवाडाँडा, मुसहर्निया चैनपुर, श्यामपुर, जिरोमाइल र धनगढी बजार, सोनापुर, छपराढी र शान्तिपुरसम्म खानेपानी पुर्याउने भन्दै आव ०६८/६९ देखि खानेपानी आयोजना सुरु भएको हो । ‘आयोजनाका लागि किनिएको ट्रान्सफर्मर तेल चुहिएर पुरानो भइसकेको छ । ०७०/७१ मा खरिद भएको ६ र चार इन्चको पाइप विद्यालयको चौरमा थुपारेर राखिएको छ ।

खानेपानी आयोजना सञ्चालनका लागि नगरपालिका, खानेपानी डिभिजनमा धाए पनि सुनुवाइ नभएको धनगढीमाई– ९ का वडाध्यक्ष प्रकाश योञ्जनले बताए । ‘०७६/७७ देखि आयोजनाको काम ठप्प जस्तै छ,’ उनले भने । उनका अनुसार ०७९/८० मा डिभिजनले नै प्राविधिक पठाएर ट्यांकीको उत्तर र दक्षिणतर्फ रहेको दुईवटा बोरिङ सफा गरेर गएपछि फर्केर आएका छैनन् । ‘खानेपानी आयोजना सञ्चालन गर्न वडाको बजेटले धान्दैन,’ उनले भने, ‘राज्यको ठुलो लगानी भइसकेको आयोजना अलपत्र छोडिनुहुँदैन ।’ 

ट्रान्सफर्मर नै चोरी, सोलार प्लान्ट जीर्ण
धनगढीमाई– १२ (साबिक विष्णुपुरकट्टी ५, ६ र ७ नम्बर वडा) का करिब चार सय घरपरिवारलाई खानेपानी पुर्याउन १० वर्षअघि सुुरु खानेपानी आयोजनाको त झन् विद्युतीय ट्रान्सफर्मर नै चोरी भएको छ । खानेपानी तथा ढल निकास विभागको बजेटमा जडान गरिएको सोलार प्लान्टसमेत जीर्ण भएको वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए । 

उनका अनुसार थटिया, विष्णुपुरसहित १० गाउँका नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन आव ०७०/७१ मा थालिएको आयोजनाअन्तर्गत १२/१२ इन्चको दुई थान बोरिङ, २५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी, कार्यालय र आवास भवन निर्माणको काम भएको छ । ‘खानेपानी वितरणका लागि करिब ९५ प्रतिशत पाइप बिछ्याउने कामसमेत सकिएको छ,’ उनले भने, ‘आयोजनाको गत आवको ४८ लाख रुपैयाँ बजेट छ भन्ने सुनेँ, तर केमा खर्च भयो डिभिजनलाई नै थाहा होला ।’

कुसमाहा सिमलटोकी खानेपानी आयोजनाको हालत पनि उस्तै 
धनगढीमाई– १२ कै (साबिक ८ र ९ नम्बर वडाअन्तर्गत पर्ने) ३५० घरपरिवारका लागि पाँच वर्षअघि सुरु भएको कुसमाहा सिमलटोकी खानेपानी आयोजनाको हालत पनि उस्तै छ । 

कुसमाहा खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष ठाकुरका अनुसार एक सय घनमिटर क्षमताको ओभरहेड ट्यांकी, कम्पाउन्ड, कार्यालय र गार्ड आवास निर्माण गरिएको छ । आयोजना सञ्चालन नहुँदा स्थानीय बासिन्दा आहाले, गडम्मे, कुसमाहाका बासिन्दा खुट्टीखोलाको पानी प्रयोग गरिरहेका छन् । ‘अहिलेसम्म आयोजनाका लागि एक करोड १८ लाख खर्च भएको छ, तर स्थानीय बासिन्दा खोला, इनार, कुवाको पानीले तिर्खा मेटाउन बाध्य छन्,’ उनले भने । 

आयोजना सञ्चालनका लागि कुसमाहा सिमलटोकीमा विद्युतीकरण र ट्रान्सफर्मर खरिद, पाइपलाइन बिछ्याउने, तीन फेजको विद्युतीय मोटर खरिद, भवन मर्मत गरी ६ करोड ३२ लाख बजेट लाग्ने अनुमान गरिएको छ । 

विष्णुपुरकट्टी खानेपानी आयोजना सात वर्षदेखि अलपत्र
धनगढीमाई नगरपालिका– १३ भोर्लेनीस्थित विष्णुपुरकट्टी खानेपानी आयोजना पनि सात वर्षदेखि अलपत्र छ । आव ०७३/७४ देखि थालिएको खानेपानी आयोजनाका लागि ०७६/७७ को १० लाख पूरै र ०७९/८० को ३० लाखमध्ये २७ लाख ५९ हजार डिभिजन खानेपानीको कारणले फ्रिज भएको धनगढीमाई– १३ का वडाध्यक्ष सूर्यमान तामाङले बताए । 

गत आवको १० लाख बजेटमध्ये आयोजनाको कार्यालय भवन निर्माणका ठेकेदारलाई पाँच लाख भुक्तानी दिए पनि बाँकी पाँच लाख फ्रिज भएको छ । ‘तत्कालीन विष्णुपुरकट्टी गाविसको १, २ र ४ नम्बर वडाका ८८१ घरपरिवारलाई लक्षित गरी थालिएको आयोजना सञ्चालन गर्न करिब १२ वटा टोल–बस्तीमा पाइपलाइन खरिद र बिछ्याउने, भवन निर्माण, तीन फेज विद्युतीय लाइन जडान र मोटर खरिदसहित करिब एक करोड ३७ लाख रुपैयाँ आवश्यक पर्ने देखिन्छ,’ उनले भने । 

अधुरा आयोजनाका लागि बजेट नहुँदा समस्या 
राजविराजस्थित खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख विश्वनाथप्रसाद यादवले अधुरा खानेपानी आयोजनाका लागि आवश्यक बजेट नहुँदा समस्या भइरहेको बताए । ‘चालू आव ०८१/८२ का लागि चार करोड बजेट छ, त्यहीँबाट बाँडफाँट गरी धनगढीमाईका चार आयोजनामध्ये कम्तीमा एउटा सञ्चालन गर्ने योजनासहित काम गरिरहेका छौँ,’ उनले भने ।

उनका अनुसार संघीय ससर्त कार्यक्रमअन्तर्गत ३७८ वटा खानेपानी आयोजना मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको छ । अब डिभिजनको जिम्मेवारीमा ९९ आयोजना छन् । ‘प्रदेश सरकारलाई हस्तान्तरण गरिए पनि संघले ससर्तबाट बजेट पठाउँछ,’ उनले भने । 
 

सुझावित समाचार