६०% सम्म मूल्यवृद्धि गरेपछि कोशीका व्यवसायीले गरे सिमेन्ट बिक्री बन्द

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशमा निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक सामग्री सिमेन्टको अभाव सुरु भएको छ । उद्योगहरूले लोडसेडिडको बहाना बनाउँदै मूल्यमा उच्च वृद्धि गरेको भन्दै विक्रेताले बिक्री गर्न छाडेसँगै कोशी प्रदेशका मुख्य सहरमा सिमेन्ट अभाव चरम सुरु भएको हो । प्रदेशको इनरुवा, इटहरी, धरानलगायतका हार्डवेयर व्यवसायीले शुक्रबारदेखि नै सिमेन्ट बिक्री नगर्ने निर्णय गरेका छन् । अचानक उद्योगहरूले सिमेन्टको मूल्यमा भारी वृद्धि गरेपछि थोक र खुद्रा विक्रेताले यस्तो निर्णय गरेका हुन् ।  

विराटनगरमा रहेका दुई सय ५० वटा हार्डवेयर थोक तथा खुद्रा पसलले आनाकानी गर्दै सिमेन्ट बिक्री गरे पनि उद्योगहरूलाई मूल्य घटाउन दबाब दिएका छन् । विराटनगर हार्डवेयर संघका वरिष्ठ उपाध्यक्ष तथा सिमेन्ट मूल्यवृद्धि खारेज संघर्ष समिति संयोजक भानु पौडेलले उद्योगहरूले विनासूचना ६० प्रतिशतसम्म मूल्यवृद्धि गरेपछि विक्रेता र उपभोक्ता दुवै मारमा परेको बताए । उनले भने, ‘मूल्यवृद्धि पनि अलि–अलि होइन, अचाक्ली भएको छ, यसैले हामीले उद्योगीहरूलाई सचेत गराएका छौँ, नसच्चिएमा हामीले पनि अर्को सूचना जारी नभएसम्म सिमेन्ट बिक्री बन्द गर्न भनेका छौँ ।’

हार्डवेयर संघ विराटनगरका सचिव जितेश कोइरालाका अनुसार सुनसरी र मोरङका हार्डवेयर व्यवसायीले अचानक भएको मूल्यृवद्धिविरुद्ध निर्णय नै गरेर सिमेन्ट खरिद–बिक्री नगर्ने निर्णय गरिसकेका छन । उद्योगले मागअनुसार सिमेन्ट बिक्री नगरी बजारमा सिन्डिकेट लाद्ने काम गर्दा व्यापारीले कालोबजारी गरेको आरोप खेप्नुपरेको उनको गुनासो छ । हार्डवेयर व्यवसायीका अनुसार उद्योगीहरूले पछिल्लो समयमा ५० प्रतिशतसम्म उत्पादन कटौती गरी विक्रेतालाई मागअनुसार सिमेन्ट दिएका छैनन् । जसले गर्दा बजारमा कृत्रिम अभाव पनि सिर्जना भएको छ । 

पछिल्लो दुई महिनामा प्रतिबोरा पाँच सयमा पाइने ५० केजी सिमेन्टको मूल्य प्रतिबोरामा दुई सय ७५ रुपैयाँसम्म वृद्धि गरिएको छ । ‘अझै डिजेल, कोइला र अरू कच्चा पदार्थको मूल्यवृद्धि भएको छैन, तर स्वदेशी खानीबाट उत्पादित क्लिंकरबाट बनाइने सिमेन्टमा एक्कासि मूल्यवृद्धि गरिनु कार्टेलिङ नै हो,’ सिमेन्ट मूल्य खारेज संघर्ष समिति संयोजक भानु पौडेलले भने । हार्डवेयर संघका अनुसार विराटनगरमा करिब १५ वटा उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री–वितरण हुँदै आएको छ । 

See More On

सुझावित समाचार