बालबालिकाका लागि एक मात्र सरकारी विशिष्टीकृत अस्पताल कान्ति बाल अस्पताल आफैँ बिरामी हालतमा छ । कमजोर र साँघुरो संरचनाबिच बालबालिकालाई सबैखाले उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पताल पछिल्लो समय जनशक्ति र संरचना अभावको चुनौती झेलिरहेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै अगाडि निर्देशक डा. पंकज रायले देशभरका बिरामीको भिड लाग्ने भए पनि संरचना र जनशक्ति अभावले उपचारमा कठिन भइरहेको समस्या सुनाएका छन् । ‘प्रशासनिक भवन जीर्ण छ, उपचार कक्षहरू पनि पर्याप्त छैनन्, बिरामी फर्काउनुपर्ने अवस्था छ, प्रशासनिक भवनलाई अन्यत्रै सार्नुपर्ने अवस्था छ,’ अस्पतालको वार्षिकोत्सव कार्यक्रममा सोमबार उनले भने, ‘प्रयोगशालाको अभाव छ, एउटा एक्सरे मेसिन बन्द भए सेवा नै बन्द हुने अवस्था छ । डिस्चार्ज पद्धतिमा पनि परिवर्तन गर्नुपर्ने अवस्था छ, स्टाफका लागि क्वार्टर छैन, उपकरणहरू खरिद गर्नुपर्ने अवस्था छ, मास्टरप्लानअनुसारका काम गर्नुपर्नेछ ।’
कान्ति बाल अस्पतालले सन् १९६३ मा ५० शय्याबाट सेवा प्रारम्भ गरेको थियो । अहिले ३५० शय्याबाट सेवा दिइरहेको छ । निर्देशक रायले अस्पतालको वृद्धिविकासको अवस्था हेर्दा अधिकांश संरचना निर्माण र सेवा विस्तारको काम विभिन्न दातृ निकायहरूको सहयोगमा हुने गरेको छ ।
स्वास्थ्यमन्त्री पौडेलले कान्ति अस्पतालको समस्या सुधार गर्न मन्त्रालयले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । ‘अस्पतालको सेवा राम्रो भएर नै बिरामी धेरै आएका होलान् । केही व्यवस्थापकीय पक्षमा त्रुटि छ,’ उनले भने, ‘आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचना छैनन् । यहाँ काम गर्नेहरूले अन्तजति सेवा–सुविधा प्राप्त गर्नुभएको छैन । यी कुरालाई सम्बोधन गर्नु जरुरी छ ।’ उनले उपलब्ध साधनस्रोतभित्र अधिकतम सेवा प्रवाह गर्ने गरी काम गर्न अस्पताल टिमलाई निर्देशनसमेत दिए ।
कान्ति अस्पतालको प्रशासनिक भवन ०७२ को भूकम्पले जीर्ण पारेको थियो । त्यतिवेला भवन जोखिमपूर्ण भएको भन्दै रातो स्टिकर नै टाँसिएको थियो । तर, अझै पनि अस्पतालका कर्मचारीहरूले सोही भवनबाट सेवा दिइरहेका छन् ।
अस्पतालले कमजोर संरचनामा पनि वार्षिक दुई लाखभन्दा बढीलाई सेवा दिएको तथ्यांक सार्वजनिक गरेको छ । ०८०/८१ मा दुई लाख चार हजार २९९ बिरामीलाई सेवा दिएको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कान्तिमा सबै प्रकारका बिरामी आउँछन् । आर्थिक हैसियत भएका बिरामीले तोकिएको शुल्क तिरेर उपचार सेवा लिन्छन् भने कतिपय उपचार खर्चसमेत तिर्न नसक्ने अवस्थाका बिरामी आउँछन् । त्यस्ता बिरामीको उपचारमा अस्पतालले एक वर्षमा पाँच करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँ खर्च गरेको तथ्यांक छ । सो निःशुल्क सेवा विपन्नलक्षित सेवा हो । पछिल्लो समय सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचारसमेत गर्न थालेपछि निःशुल्क उपचारमा लाग्ने शुल्क बढ्ने अनुमान छ ।
कहाँ पुग्यो मास्टरप्लान ?
२२ पुस ०८० मा कान्ति बाल अस्पताल प्रशासन तथा विज्ञ टोलीले नयाँ कार्ययोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारी पारी स्वास्थ्य मन्त्रालयमा पेस गरेको प्रतिवेदन कार्यान्वयन हुने अवस्थामा छैन । गत वर्ष अस्पतालले सो प्रतिवेदन स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर, त्यतिवेला कतार सरकारले आर्थिक सहयोग गर्ने भनेपछि त्यही रकममा मास्टरप्लान अघि बढाउने सरकारको योजना थियो ।
तर, डा. भगवान कोइरालाले खोल्न लागेको बाल अस्पताल र कान्ति अस्पतालको प्रतिवेदन एकैसाथ कतार सरकारलाई पठाइएपछि दुवै संस्थालाई सहयोग गर्न नसकिने भन्दै कतारले हात झिक्यो । ‘यो विषय अर्थ मन्त्रालयसम्म पुगेर धेरै छलफल भयो । कतार सरकारले बनाइदिने भनेर प्रस्ताव पनि गरेका थियौँ, तर दुईवटा प्रतिवेदन एकैसाथ पेस भए । त्यसपछि दुई संस्थालाई सहयोग नगर्ने भनेर जवाफ आयो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘अहिले यो विषय ओझेलमा छ ।’
उनले कान्तिलाई एक हजार शय्याको बनाउने योजना निकै कठिन र खर्चिलो भएको बताए । प्रारम्भिक योजनाअनुसार एक हजार शय्याको अस्पताल निर्माण गर्न बहुवर्षीय योजनामा जाँदा पनि ६ वर्ष लाग्ने देखिन्छ । सरकारले एक वा दुई वर्षमा अस्पताल निर्माणका लागि ठुलो आकारमा बजेट विनियोजन गर्न नसक्ने भएकाले यसलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउनेबारे स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग पहलसमेत गर्दै आइरहेको छ । हाल अस्पतालको कुल ३५० शय्यामा पिआइसियू र एनआइसियूलगायत गम्भीर बिरामीको उपचार गर्ने शय्या ४२ मात्र छन् । अस्पतालमा लाग्ने भिड थेग्न यो संख्या निकै कम हो । अस्पतालमा एमबिबिएस र विशेषज्ञ गरी ९८ चिकित्सक छन् भने २२३ नर्स छन् । त्यस्तै, प्यारामेडिक्सतर्फ ५० जनाको जनशक्ति छ ।