अध्यागमनमा अब ‘एपिस’ प्रणाली : नेपाल आउने यात्रुको विवरण पहिल्यै थाहा हुने, बाहिरिनेहरू पुगेको गन्तव्य पनि ‘ट्रयाकिङ’ गर्न सकिने

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

नेपालको अध्यागमनमा ‘एड्भान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम (एपिस) प्रणाली जडान गर्ने गृहकार्य अघि बढेको छ । अध्यागमन विभागले यसका लागि समिति गठन गरेर तयारी थालेको हो । 

विभागका निर्देशक अनुप न्यौपानेको नेतृत्वमा समिति गठन गरिएको अध्यागमनका महानिर्देशक गोविन्दप्रसाद रिजालले बताए । एपिस लागू भएपछि विदेशबाट आउन लागेका यात्रुहरूको विवरण पहिले नै नेपालले प्राप्त गर्नेछ भने बाहिरिने यात्रुहरू कुन देश पुगे भनेर पनि ट्रयाकिङ गर्न सकिन्छ । 

गोविन्दप्रसाद रिजाल निर्देशक, अध्यागमन विभाग
यो प्रणालीले शंकास्पद व्यक्तिहरूको निगरानी र नियन्त्रण सहज हुन्छ । हाम्रो देशबाट बाहिरिने यात्रुहरू पनि कुन देश गए भनेर ट्रयाकिङ गर्न सकिन्छ । सुरक्षाका लागि यो एकदमै आवश्यक ठानेर हामीले लागू गर्न लागेका हौँ । यसका लागि बजेट विनियोजन भएको अवस्था छ ।

‘यो प्रणालीले शंकास्पद व्यक्तिहरूको निगरानी र नियन्त्रण सहज हुन्छ,’ महानिर्देशक रिजालले भने, ‘हाम्रो देशबाट बाहिरिने यात्रुहरू पनि कुन देश गए भनेर ट्रयाकिङ गर्न सकिन्छ ।’ 

एपिस लागू गर्न सुरुमा सफ्टवेयर खरिद गर्ने र यस्तो प्रणालीमा आबद्धता हुनुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय डाटा प्रणालीमा आबद्ध हुनुपर्छ । अमेरिकाको कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सिबिपी)लगायतले यस्तो प्रणाली बनाएका छन् । 

एपिस लागू भएपछि नेपाल आउने एयरलाइन्सहरूले उताबाट ‘चेक इन’ भएलगत्तै सबै यात्रुको विवरण नेपाल पठाउनुपर्ने महानिर्देशक रिजालले बताए । ‘सुरक्षाका लागि यो एकदमै आवश्यक ठानेर हामीले लागू गर्न लागेका हौँ,’ महानिर्देशक रिजालले भने, ‘यसका लागि बजेट विनियोजन भएको अवस्था छ ।’ नेपालबाट एउटा देश भनेर गएका व्यक्ति अर्काे देशमा पुगेमा पनि नेपालबाटै अध्यागमन प्रणालीमार्फत ट्रयाकिङ गर्न सकिने उनको भनाइ छ । हाल भिजिट भिसामा एउटा देश भनेर गए पनि त्यहाँबाट अर्काे देश पुग्ने समस्या छ । 

विश्वका धेरैजसो देशले एपिस प्रणाली लागू गरिसकेका छन् । नेपालमा पनि लामो समयदेखि यसको बहस भए पनि कार्यान्वयन हुन सकेको छैन । यो प्रणालीले कालोसूचीमा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन तथा प्रवेश रोक्न सहज हुने अध्यागमन अधिकारीहरू बताउँछन् । 

अध्यागमनमा यस्तो प्रणालीका लागि कतिपय शक्तिराष्ट्रहरूले पनि चासो राख्दै आएका छन् । अमेरिकाले पाइसेस सफ्टवेयर प्रणाली जडानका लागि पनि नेपालसँग प्रस्ताव गर्दै आएको छ । तर, अध्यागमनको संवेदनशील डाटाको सुरक्षाका लागि भन्दै नेपालले अध्यागमन प्रणालीमा विदेशी सहयोगको प्रस्ताव स्थगन गर्दै आएको छ । सरकारले पनि अध्यागमन सुरक्षा प्रणालीमा पर्याप्त लगानी गर्न सकेको छैन ।

पर्यटकलाई अनलाइन पेमेन्ट गर्न मिल्ने सुविधा मिलाउँदै अध्यागमन
विदेशबाट आउने पर्यटकले विमानस्थलमा आफ्नो कार्डबाट पैसा तिर्न मिल्ने गरी अध्यागमनले तयारी गरेको छ । हाल नेपाल आउने पर्यटकले भुक्तानीका लागि सुरुमा बैंकमा र पछि अध्यागमनमा दोहोरो लाइन बस्नुपर्ने अवस्था छ । 

विदेशबाट आउने पर्यटकलाई छिटो र सरल रूपमा भिसा दिनका लागि उनीहरूले कार्डमार्फत नै भिसा शुल्क तिर्न मिल्ने गरी प्राविधिक तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक रिजालले बताए । 

नेपालले १२ देशबाहेकका नागरिकलाई विमानस्थलमा अनअराइभल भिसा दिने गरेको छ । विमानस्थलमै आएर भिसाको प्रक्रिया गर्दा समय लाग्ने भएकाले अध्यागमनमा भिडभाड हुने गरेको छ । पर्यटकले सास्ती नपाउन् भनेर सेवालाई सहज बनाउन लागिएको विभागले जनाएको छ । 
 

सुझावित समाचार