पशुपति क्षेत्रमा शतबीज छरियो (फाेटाेफिचर)

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

पशुपति क्षेत्रमा दिवंगत पितृका नाममा शतबीज छरिएको छ । प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवंगत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो । शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  

शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको थियो ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ । बालाचतुर्दशीको पशुपतिनाथ मेला समापन गर्न पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका छन् ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ । 







तस्बिर : संजित परियार/नयाँ पत्रिका

See More On

सुझावित समाचार