नेपाल–चीन परराष्ट्रमन्त्री वार्तामा बिआरआई कार्यान्वयनबारे नेपालको नयाँ प्रस्ताव

अनुदानमा आधारित परियोजनामा नेपालको जोड, अर्को साता निर्क्योल गर्ने चीनको जवाफ

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन योजना प्रस्तावको विकल्पमा नेपालले अनुदान र प्रत्यक्ष वैदेशिक लगानीमा जोड दिएको ‘अवधारणात्मक वैकल्पिक प्रस्ताव’ अघि सारेको छ । चीनको सिचुआन प्रान्तीय राजधानी छेन्दुमा शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँगको औपचारिक भेटवार्तामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआईबारे नेपाल सरकारको प्रस्ताव राखेकी हुन् ।

अनुदानमा आधारित बिआरआई परियोजनाहरू अघि बढाउने नेपालको प्रस्तावको  मुख्य ध्येय छ । चीनले नेपाललाई चार वर्षअघि पठाएको बिआरआई कार्यान्वयन योजना मस्यौदामा ऋणमा आधारित परियोजनाहरूको पनि प्रस्ताव गरिएको छ । अनुदान वा ऋणका परियोजनाबारे सत्तारुढ दल कांग्रेस र एमालेबिच एकरूपता नहुँदा दुवै पार्टीका नेता सम्मिलित कार्यदलले बनाएको नयाँ प्रस्ताव परराष्ट्रमन्त्री राणाले अगाडि सारेकी हुन् ।

नेपाली प्रस्तावमा सहमति जुटे प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा मंगलबार दुई देशबिच हस्ताक्षर हुनेछ । ‘अ कन्सेप्च्युएल प्रोपोजल अफ नेपाल गभर्मेन्ट अन्डर द बिआरआई (बिआरआईअन्तर्गत नेपाल सरकारको अवधारणात्मक प्रस्ताव’बारे चिनियाँ विदेशमन्त्री वाङले बेइजिङमा छलफल गरेर जवाफ दिने बताएका छन् । 

भेटमा सहभागी एक कूटनीतिक अधिकारीका अनुसार राणाको प्रस्तावबारे चिनियाँ विदेशमन्त्रीले थप छलफल हुने बताए । ‘म यस विषयमा राष्ट्रपतिलाई जानकारी दिन्छु र हामी आन्तरिक रूपमा छलफल गर्छौँ । प्रधानमन्त्री ओली चीन आउने वेलासम्म यसबारे एउटा निक्र्योलमा पुगौँला,’ चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै ती अधिकारीले नयाँ पत्रिकासँग भने । 

परराष्ट्रमन्त्री राणाले नेपाल अहिले कुनै पनि मित्रराष्ट्रबाट ऋण लिन सक्ने अवस्थामा नरहेको बताइन् । उनले विगतमा चिनियाँ नेतृत्वबाट प्रतिबद्धता जनाइएको अनुदान रकमबाट परियोजनाहरू छनोट गर्नुपर्ने र त्यसलाई बिआरआईअन्तर्गत राखेर कार्यान्वयन गर्न नेपाल तयार रहेको बताएको कूटनीतिक स्रोतले जनाएको छ । नेपालको वैदेशिक ऋण २६ खर्ब पुगेको छ, जसमध्ये चिनियाँ ऋण भने २.८ प्रतिशत मात्रै छ । 

भेटवार्तामा चिनियाँ विदेशमन्त्रीले दुई देशबिच आपसी समझदारीमा बिआरआई कार्यान्वयन गर्दै जनताको सामाजिक–आर्थिक जीवनस्तर माथि उठाउनुपर्नेमा जोड दिएका थिए । वाङले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको र नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने उनको विश्वास थियो । 

प्रस्तावमा ऋण तथा सुरक्षा एवं रणनीतिक अर्थ लाग्ने कुनै पनि बुँदा वा विषय नरहेको सम्बद्ध स्रोतले बतायो । चिनियाँ समकक्षीसँगको भेटवार्ताबारे परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलगायत नेपाल–चीन सम्बन्धका अनेकौँ पक्षबारे हामीले विचार आदानप्रदान गर्‍यौँ । अत्यन्तै न्यानो र हार्दिक वातावरणमा कुराकानी भयो ।’ 

परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकद्वारा जारी प्रेस नोटअनुसार दुई परराष्ट्रमन्त्रीबिच दुई देशको सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबिचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ । ‘वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो,’ प्रेस नोटमा छ । 

चीनले पठाएको बिआरआई कार्यान्वयन योजनाको मस्यौदामाथि कांग्रेस महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडा तथा कांग्रेसकै तर्फबाट अधिवक्ता सेमन्त दाहाल रहेको कार्यदलले वैकल्पिक प्रस्ताव तयार गरेको थियो । चरणबद्ध रूपमा छलफलपछि बिआरआई कार्यान्वयन योजनाको विकल्पमा बिआरआईअन्तर्गत नेपाल सरकारको अवधारणात्मक प्रस्तावमा कांग्रेस र एमालेबिच सहमति भएको थियो । 

कांग्रेस नेतृसमेत रहेकी परराष्ट्रमन्त्री राणाले एक चीन नीतिप्रति कांग्रेससहित सबै दल एकै ठाउँमा रहेको भन्दै आश्वस्त पारेकी थिइन् । उनले नेपाली भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग गर्न नदिने नीति दोहोर्‍याएकी थिइन् । ‘नेपाल एक चीन नीतिप्रति दृढतापूर्वक अडिग छ र तिब्बत र ताइवान चीनको अभिन्न अंग भएको विश्वास गर्दछ । यसले चीनको हितमा हानि पुर्‍याउने र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अन्य मुलुकको विरोध गर्ने गतिविधिमा संलग्न हुन नेपालको भूमि प्रयोग गर्न कुनै पनि शक्तिलाई कदापि अनुमति दिनेछैन,’ चिनियाँ विदेश मन्त्रालयले परराष्ट्रमन्त्री राणालाई उद्धृत गर्दै भनेको छ । 

चिनियाँ विदेशमन्त्रीले पनि बिपी कोइरालादेखि अहिलेसम्म कांग्रेसका नेताहरूले नेपाल–चीन सम्बन्धलाई सुदृढ गर्न योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेको सहभागी एक अधिकारीले बताए । द्विपक्षीय वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र नेपाल हिमाल र नदीले जोडिएको र पुस्तादेखि नै मित्रवत् रहेको उल्लेख गर्दै यी मुलुक असल छिमेकी, असल मित्र र असल साझेदार रहेको बताए ।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देश कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै ठुला र साना मुलुकबिच समान व्यवहारको उदाहरण प्रस्तुत गर्दै आएको उल्लेख छ । ‘आगामी वर्ष दुई देशबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठलाई संयुक्त रूपमा चीन–नेपाल सम्बन्धको विकासका लागि नयाँ सम्भावना खोल्ने अवसरका रूपमा लिन हामी नेपालसँग काम गर्न इच्छुक छौँ,’ चिनियाँ विदेशमन्त्रीले भने । 

चीनको ७५औँ स्थापना दिवस र आगामी वर्ष  नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ नागरिकलाई परराष्ट्रमन्त्री राणाले बधाई दिएकी थिइन् । उनले पछिल्लो समय नेपाल–चीन सम्बन्धमा उल्लेखनीय उपलब्धि हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको पनि उल्लेख गरेकी छिन् । 

वाङले नेपाललाई आफ्नो राष्ट्रिय परिस्थितिअनुकूल विकासमार्ग खोज्न चीनले समर्थन गर्ने पनि बताए । ‘इतिहास र तथ्यले चीन–नेपाल मित्रता नेपालको देश, राष्ट्र र जनताको आधारभूत र दीर्घकालीन हितअनुरूप रहेको प्रमाणित गरेको छ,’ उनले भने, ‘नेपालप्रति चीनको मैत्रीपूर्ण नीति सबै नेपाली जनताको पक्षमा सुसंगत र उन्मुख छ । चीन एक दीर्घकालीन साझेदार र मित्र हो, जसलाई नेपालले विकास र पुनरुत्थानको बाटोमा विश्वास गर्न र भर पर्न सक्छ ।’ 

उनले नेपालसँग उच्चस्तरीय आदानप्रदान कायम गर्न, चीन–नेपाल सम्बन्धको सही दिशा सुनिश्चित गर्न, राज्यशासनमा अनुभवको आदानप्रदानलाई सुदृढ गर्न र राजनीतिक पारस्परिक विश्वास र परम्परागत मित्रतालाई सुदृढ गर्न इच्छुक रहेको पनि बताए । 

नेपाल–चीनबिचका सबै परम्परागत सीमानाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्बाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने पनि परराष्ट्रमन्त्री राणाको विश्वास थियो । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबिच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको राणाको भनाइ थियो । चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल–चीन सम्बन्धमा नयाँ उचाइ थपेको र दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । 

०७६ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा दुई देशबिचको सम्बन्धलाई विकास र समृद्धिका लागि मित्रताको रणनीतिक साझेदारीमा स्तरोन्नति भएको पनि वाङले स्मरण गराएका थिए । परराष्ट्रमन्त्री राणाले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएकी छिन् । शुक्रबार साँझ चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।

प्रधानमन्त्रीको चीन भ्रमणकाे कार्यतालिका सार्वजनिक
नेपाल र चीनका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको चारदिने औपचारिक चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले आगामी साता सोमबारदेखि बिहीबार (१७ देखि २० मंसिर)सम्म चीन भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण तथा ३२ सदस्यीय भ्रमणटोली बिहीबार स्वीकृत गरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सोमबार बेइजिङ पुग्नेछन् भने उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता तथा चिनियाँ समकक्षी लीसँग औपचारिक वार्ता मंगलबार गर्नेछन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ । मंगलबारै नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ । 

सुझावित समाचार