भैँसेपाटी ‘हनी ट्रयापिङ’ प्रकरण : फरार इन्स्पेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण
भैँसेपाटी ‘हनी ट्रयापिङ’ प्रकरण : फरार इन्स्पेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस

बिनुकमारी शाही

प्रहरीकै मिलेमतोमा व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाउने भन्दै पैसा असुलिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरमा बुझाएको छ । फरार रहेकी इन्स्पेक्टर बिनुकमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबीले सिफारिस गरेको छ । 

एआइजी दीपक थापा निर्देशक, सिआइबी
अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालयमा बुझाएका छौँ । प्रहरीसहित ६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेका छौैँ ।

पक्राउ परेका चार र दुई फरारको घटनामा संलग्नता देखिएको भन्दै उनीहरूमाथि संगठित अपराध र आपराधिक लाभ मुद्दा चल्न लागेको हो । प्रहरीले सो घटनामा संलग्न इटहरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापा तथा प्रहरी प्रभाग भैँसेपाटीका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरेको छ । इन्स्पेक्टर शाहीसहित इटहरीका दर्शन पोखरेललाई फरार प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । गिरोहसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापाको बयान लिए पनि प्रमाण नपुगेको भन्दै उनीविरुद्ध भने मुद्दा नचलाउन सिआइबीको सिफारिस छ । सिआइबीका निर्देशक एआइजी दीपक थापाले अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालयमा बुझाइएको बताए । ‘प्रहरीसहित ६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेका छौैँ,’ उनले भने ।

गत ७ असोजमा प्रहरी प्रभाग भैँसेपाटीमा इटहरीका एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो । इटहरीकै सुष्मा विकसँग ती व्यापारी केही महिनाअघि इलाम घुम्न गएका थिए । तिनै युवतीलाई कुटपिटको उजुरी हाल्न लगाई बलात्कार मुद्दा चलाउने भन्दै प्रहरी कार्यालयमै बार्गेनिङ भएको थियो । 

प्रभागकी तत्कालीन प्रहरी प्रमुख इन्स्पेक्टर शाहीको समेत त्यसमा मिलेमतो देखिएपछि उनीहरूविरुद्ध डेढ महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो । तर, प्रहरीले माथिल्लो निकायको आदेश नभएको भन्दै उनलाई पक्राउ गरेन । उनको निर्देशनमा काम गर्ने हवल्दार हमाललाई भने थुनामा राखिएको छ । 

‘हनी ट्रयापिङ’को गिरोहसँग मिलेर पैसा असुलिएको घटना जिल्ला प्रहरी परिसर, ललितपुरले थाहा पाएपछि पक्राउ परेका र पीडित पक्ष सबैलाई झिकाएर छानबिन सुरु भएको थियो । जसमा प्रहरीको मिलेमतो पुष्टि भएको हो । यसरी उजुरी लिएर मिलापत्र गरेकोबारे इन्स्पेक्टर शाहीले माथिल्लो निकायलाई जानकारीसमेत गराएकी थिइनन् । 

सुरुमा ललितपुर परिसरले नै यो घटनाको अनुसन्धान गरेको थियो । तर, अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीमाथि नै फरार इन्स्पेक्टर शाहीले आरोप लगाएर उजुरी दिएर विवादमा पार्ने प्रयास गरेपछि परिसरले फाइल सिआइबीमा पठाएको हो । सिआइबीले बाँकी अनुसन्धान पूरा गरी प्रतिवेदन पठाएको हो । जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरका सूचना अधिकारी भरतकुमार मैनालीले सिआइबीबाट आएको प्रतिवेदन अध्ययनको क्रममा रहेको र केही दिनमै मुद्दा दायर गरिने बताए । 

ताज इस्लाम नेतृत्वको सोही गिरोहले गत जेठमा एक निर्माण व्यवसायीलाई त्यसैगरी ‘हनी ट्रयापिङ’मा फसाएको र १७ लाख रुपैयाँ लिएको छानबिनमा खुलिसकेको छ । प्रहरीमा बलात्कार मुद्दामै जाहेरी परेकोमा पछि जाहेरी फिर्ता लिन अर्काे निवेदन दिइएको थियो । यो घटनामा पनि एसपी थापाको भूमिका शंकास्पद रहेको छ । सो प्रकरणमा छुट्टै अनुसन्धान हुने सिआइबीका एआइजी थापाले बताए ।
 

सुझावित समाचार