‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेस्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ।
आइतबार सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिकी अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौंमा हुने जानकारी दिइन्।
मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्यांकनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उनले बताइन्। उनका अनुसार कुल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ।
उनले पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेको उल्लेख गर्दै यस विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिइन्।
कम्पनीका प्रबन्ध–निर्देशक फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउन ढिला गर्न नहुनेमा जोड दिए। मोक्तानले जलवायु परिवर्तनको असरका कारण सदियौँदेखि जमेका हिमतालहरू फुट्ने क्रम सुरु भएको, अधिक र न्यून वर्षा हुन थालेको, बाढीपहिरोजस्ता प्राकृतिक विपत् बढ्ने क्रममा रहेको उल्लेख गरे।
लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबका केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए। पत्रकार सम्मेलनमा उपस्थित आरोही मिंमातेन्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गरे।
‘मैले सन् २००७ मा काम सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक देख्न सकिन्छ । जलवायु परिवर्तनका कारण मौसम अस्थिर भएको छ । केही समयअघि खुम्बु क्षेत्रको थामेमा ठुलो विपत् आयो, पहिले हिउँमा आरोहण गर्ने गरेकामा अहिले ढुंगा र माटोमाथि आरोहण गर्नुपरेको छ । तसर्थ हिमाल जोगाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा हातेमालो गर्न विश्व समुदायको ध्यानाकर्षण हुन जरुरी छ,’ उनले भने।