धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा क्यान्सर रोगको ‘स्क्रिनिङ’ सेवा सुरु भएको छ । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा सेतीमा क्यान्सर रोगको निदानका लागि क्यान्सर स्क्रिनिङ युनिट सञ्चालनमा आएको हो । अब हरेक महिनाको एक दिन क्यान्सर रोगसम्बन्धी ओपिडी सेवा सञ्चालन हुनेछ ।
ओपिडी सेवा सुरु भएको पहिलो दिन गत मंगलबार सयभन्दा बढीले सेवा लिएका अस्पतालले जनाएको छ । क्यान्सरको शंका लागेका, उपचार गराइरहेका र उपचार गराइसकेका बिरामीले ओपिडीबाट लाभान्वित हुने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. शेरबहादुर कमरले बताए । ‘महिनाको एक दिन क्यान्सरसम्बन्धी विशिष्टीकृत सेवा दिन थालिएको हो,’ उनले भने, ‘यहीँ सेवा उपलब्ध भएपछि क्यान्सरको उपचार गराइरहेका बिरामीले पनि फलोअपका लागि अब अन्यत्र गइराख्नुपर्दैन ।’
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट आउने चिकित्सकको टोलीले महिनाको एक दिन नाक, काँन, घाँटी, मुख, पाठेघर, स्तन, फोक्सो, रगत, पेटको क्यान्सरलगायत विभिन्न प्रकारका क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा दिनेछ । क्यान्सरको निदान र सामान्य उपचारका लागि अब यस क्षेत्रका बासिन्दाले अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको डा. कमरले बताए । किमो दिएर उपचार गर्नुपर्ने बिरामीलाई थप उपचारका लागि चितवन रेफर गरिने अस्पतालले जनाएको छ ।