४५औँ विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको शंकराचार्य गेट भएर भारतबाट धार्मिक यात्रामा नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीले स्वागत गरेका छन् ।
होटेल तथा पर्यटन व्यवसायीले नेपालको धार्मिक पर्यटनलाई महत्त्व दिएर जनकपुरधाम र पशुपतिनाथ जान हिँडेका ६ जना भारतीय धार्मिक पर्यटकलाई दही र जुस खुवाएर स्वागत गरेका हुन् ।
भारतबाट नेपाल प्रवेश गरेका पर्यटकलाई स्वागत गरेर नेपालको धार्मिक पर्यटनलाई विशेष महत्त्व दिएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए ।
उनले पशुपतिनाथ, जनकपुर, गढीमाई र मुक्तिनाथजस्ता पवित्र र पौराणिक हिन्दु धामहरू मुलुकमा प्रशस्त रहे पनि राज्यले त्यस्ता धार्मिक पर्यटकीय स्थलहरूको प्रवर्द्धन र प्रचारमा ध्यान दिन नसकेको बताए ।
राज्यको ध्यान तान्नकै लागि पनि पर्यटन दिवसको अवसर पारेर धार्मिक पर्यटनलाई महत्त्वका साथ जोड्न खोजेको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका सचिव सन्दीप बस्नेतले बताए ।
उनले सम्भावना धेरै भए पनि नेपालको धार्मिक पर्यटन ओझेलमा परेको बताए । शंकराचार्य गेटमा औपचारिक कार्यक्रम नै गरेर पर्यटकहरूको स्वागत गर्दै पर्यटकहरूलाई व्यवसायीले गन्तव्यसम्म जान पुग्ने भाडाको समेत व्यवस्थापन गरिएको सचिव बस्नेत बताए ।