ललितपुरमा चाडपर्वलक्षित आगलागी सचेतना अभियान

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले बुधबारदेखि आगलागी नियन्त्रण सचेतना अभियान सुरु गरेको छ । महानगरको विपत् व्यवस्थापन महाशाखाद्वारा आयोजित अभियानको बुधबार मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् ।

चाडपर्वका वेला मुख्य सहरी क्षेत्रमा आगलागीका घटना हुन सक्ने अवस्थालई मध्यनजर गर्दै महानगरपालिकाले सचेतना अभियान सुरु गरेको प्रमुख महर्जनले जानकारी दिए । उनका अनुसार महानगरमा विगतको तथ्यांक हेर्दा चार्डपर्वका वेला आगलागीका धेरै घटना भएका छन् । विशेषगरी तिहारको म्हपुजाको वेला आगलागीको जोखिम बढी हुन्छ ।

त्यसलाई लक्षित गरी सचेतना सुरु गरिएको मेयर महर्जनले जानकारी दिए । ०७८ यता आगलागीका घटनामा ललितपुर महानगरपालिकाभित्र ११ जनाले ज्यान गुमाएका छन् । यी घटनालाई हेर्दा धेरै घटना चाडपर्वकै वेला भएका छन् । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर, नागरिक समाज, नगर प्रहरीलगायतले आगलागी नियन्त्रणका लागि समन्वय गर्नेछन् ।

‘ललितपुर महानगरपालिका आगलागीको हिसाबले पनि जोखिम मानिन्छ, विगतमा त्यस्ता घटना भइरहेका छन्, हामीले यस्ता विपत् रोक्न सचेतना फैलाउँदै छौँ,’ मेयर महर्जनले भने, ‘आमनगरवासीको सुरक्षामा महानगरपालिका सचेत छ ।’ उनका अनुसार ललितपुरको महानगर क्षेत्रमा विपत्का घटना भएका चार मिनेटभित्र आवश्यक दमकल तथा जनशक्ति पुग्न सक्ने गरी प्रबन्ध मिलाइएको छ भने नगरवासीले एलएमसी अलर्टमार्फत महानगरवासीलाई सूचना तथा जानकारी पनि दिन सक्नेछन् ।

See More On

सुझावित समाचार