बाढीले भजनी र कैलारीका अधिकांश बस्ती जलमग्न

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

गएरातिबाट परिरहेको अविरल वर्षाका कारण आएको बाढीले कैलालीको भजनी नगरपालिका तथा कैलारी गाउँपालिकाका अधिकांश बस्ती डुबानमा परेका छन्। त्यस्तै, गौरीगंगा नगरपालिका– ९, मा पनि केही बस्तीहरू डुबानमा परेका छन्।

बाढीका कारण कैलारी र भजनीमा दर्जनौँ परिवार प्रभावित भएका छन्। बाढीले घर डुबानमा परेपछि कैलारीमा ४२४ घरमा पानी पसेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए। चौधरीका अनुसार वडा नम्बर १ डम्मरा, हरिनगर, शिवटोल, डाँडाटोल, विसनपुरलगायत अधिकांश बस्ती डुबानमा परेका छन्। वडा नम्बर १ मा एक सय घरधुरी डुबानमा परेका उनले जानकारी दिए।

त्यस्तै, वडा नम्बर ५ पुरानो मनिकापुर, नयाँ मनिकापुर, बंगालीपुर, पवेरा मण्डी, बनरगौडी गाउँ र सपना शिविर डुबानमा परेका गाउँपालिकाले जनाएको छ। यो वडामा १७४ घर डुबानमा परेका अध्यक्ष चौधरीले बताए। त्यस्तै, वडा नम्बर ७ को भुँइयाफाँटा, बसन्ता, छटकपुर बसन्ता, नारायणपुर र वडा नम्बर ८ को पृथ्वीपुर, भाघा, पूर्वतेडीलगायत बस्तीहरू डुबानमा परेका गाउँपालिकाले जनाएको छ।

‘घर डुबानमा परे पनि प्रभावित परिवारले घर छोड्न मानेका छैनन्, कतिपय व्यक्ति वडा र विद्यालयमा बसेका छन्,’ अध्यक्ष चौधरीले भने, ‘वर्षा रोकिएको छैन, बाढीको सतह बढ्दै छ।’  बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीका कारण कैलारीमा ९४ परिवार विस्थापित भएका थिए। बुधबार मनिकापुरमा बाढीमा बगेकी एक महिलाको उद्धार गरिएको थियो । बाढीले बगाएको घरको सामान बचाउन खोज्दा ४३ वर्षीया लोकमाया चौधरी बगेकी थिइन् । बाढीमा बगेकी उनी करिब तीन सय मिटर पर रुखमा अड्किएपछि सख्त घाइते अवस्थामा उद्धार गरिएको वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए। 

बाढीले कैलारीको वडा नम्बर ५ मा हुलाकी राजमार्गमा पनि क्षति गरेको छ। करिब सय मिटर क्षेत्रमा बाढीले कालोपत्रे सडकवरिपरिको माटो बगाएपछि ठुला सवारीसाधन सञ्चालन हुने अवस्था नरहेको वडाध्यक्ष चौधरीले बताए । स्थानीय कटैनी नदीमा आएको बाढी पसेपछि कैलारीका अधिकांश बस्ती डुबानमा परेका हुन्।

भजनी नगरपालिकाका अधिकांश बस्ती डुबानमा परेका छन्। वडा नम्बर १, २, ३,४, ५, ८ र ९ का अधिकांश बस्ती जलमग्न भएका नगर प्रमुख केवल चौधरीले बताए । विस्थापितको विवरण भने नआएको उनले बताए । ‘नगरका अधिकांश बस्ती जलमग्न बनेका छन्, स्थानीयका घरमा बाढी पसेको छ,’ उनले भने, के–कति परिवार विस्थापित भए भन्ने आइसकेको छैन।’ बाढीबाट विस्थापित भएकाहरू डुबानमा नपरेका आफन्त र छरछिमेकका घरमा बसेका भजनी– ५, का अध्यक्ष केशवबहादुर बुढाले बताए। 

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले डुबान भएका क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् । उनले अहिलेसम्म पाँच परिवार पूर्ण रूपमा विस्थापित भएका जानकारी दिए । त्यस्तै बाढीमा १६ जनाको उद्धार गरिएको उनले बताए।

‘कैलारीमा चार सयभन्दा बढी घर डुबानमा पसेका छन्, उद्धारकर्मी पुगे पनि प्रभावितहरूले घर छोड्न मानेका छैनन्,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने, ‘भजनीमा पनि ४१५ घरधुरीमा पानी पसेको छ ।’ त्यस्तै, घोडाघोडी नगरपालिकामा २२ घरधुरी र गौरीगंगा नगरपालिकामा एक घरधुरी डुबानमा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

सुझावित समाचार