रजिस्ट्रेसनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ। जमिनमा महिलाका स्वामित्व बढाउँदा छुट पाइने भएपछि महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै गएको हो। जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुट दिएको छ। डेढ दशकदेखि सरकारले महिलाको नाममा जग्गा किन्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा छुट सहुलियत दिएपछि यस्तो क्रम बढेको कपिलवस्तुका प्रमुख खेमनारायण पौडेलले बताए । ‘यो प्रावधान नहुँदा नगण्य मात्रामा महिलाको नाममा जग्गा पास गराइन्थ्यो, अहिले धमाधम महिलाकै नाममा जग्गा पास भइरहेको छ,’ उनले भने, ‘अहिले मालपोतमा महिलाको भिड नै लाग्ने गरेको छ ।’
यस्तै जिल्लाको मालपोत कार्यालय चन्द्रौटामा पनि महिलाको नाममा जग्गा पास गर्ने बढेको अधिकृत लक्ष्मणप्रसाद चालिसेले बताए । गत आर्थिक वर्ष ०८०/८१ मा कपिलवस्तुमा सात हजार सात सय ७९ जना महिला जग्गाको मालिक बनेका छन् । जसमध्ये भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा पाँच हजार पाँच सय ८४ र मालपोत कार्यालय चन्द्रौटामा दुई हजार एक सय ८५ जनाको नाममा जग्गा पास भएको बताएको छ । गत आर्थिक वर्षमा मालपोत कार्यालय तौलिहवामा कुल ६ हजार पाँच सय ७० र मालपोत चन्द्रौटामा पाँच हजार एक सय ३२ लिखित पास भएका थिए ।
आर्थिक वर्ष ०७९/८० मा कपिलवस्तुमा ६ हजार आठ सय दुईजना महिलाको नाममा जग्गा पास भएको थियो । गत वर्ष महिलाको नाममा रजिस्ट्रेसन पास हुँदा तीन करोडभन्दा बढी छुट भएको थियो । सरकारले गरेको छुटको प्रावधानले सकारात्मक सन्देश प्रवाह भएको महिला अधिकारकर्र्मी विमला पौडेलले बताइन् ।