सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आत्मनिर्भर बनाऔँ : सांसद श्रेष्ठ

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रस्तावित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आत्मनिर्भर र स्वायत्त बनाउन माग गरेका छन्।

राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’माथि प्रतिनिधिसभामा आइतबार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद श्रेष्ठले राजनीतिक हस्तक्षेप नहुने सुनिश्चित गरेर सञ्चालन गर्दा सुदूरपश्चिम र कर्णालीले न्याय पाउने बताए। 

‘यसलाई आत्मनिर्भर विश्वविद्यालय बनाऊँ। सरकारले जहिल्यै दायित्व बहन गरिराख्नुपर्ने, घाटा गइराख्ने र जनताको कर त्यहाँ गएको गयै, चरम राजनीतीकरण भइरहेको यस्तोबाट मुक्त बनाउन सक्यौँ भने अहिलेसम्मका बेथितिलाई सम्बोधन गर्न सक्छौँ,’ उनले भने।

श्रेष्ठले अर्बौँको लगानी भएर संरचना बनिसकेको भन्दै चाँडो ऐन बनाएर स्वास्थ्य सेवादेखि मेडिकल शिक्षामा पहुँच पुग्ने वातावरण बनाउनुपर्ने बताए। यसको सञ्चालनले सुदूरपश्चिम र कर्णालीले केही पाएन भन्ने भाष्य चिरिने, विकेन्द्रीकरण महसुस हुने, लुम्बिनीसम्म लाभान्वित हुने उनको भनाइ छ।

दार्चुला–डडेल्धुराका बिरामी सीमापारि उपचारका लागि जानुपर्ने बाध्यता पनि यसले अन्त्य हुने विश्वास उनले विश्वास व्यक्त गरे। अध्ययनमा पुँजी पलायन भइरहेका वेला आर्थिक गतिविधिहरू बढ्ने र सुदूरपश्चिमलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ थियो। सञ्चालनमा नआउँदा बनेका पूर्वाधार बिग्रिन सुरु भइसकेको भन्दै श्रेष्ठले छिटो सेवा सञ्चालन गर्न सुझाव दिए।

सुझावित समाचार