कविता : मेहेन्दी

शनिबार, १२ साउन, २०८१
डिजिटल संस्करण

गाउँमा बिहानैदेखि पेट भोकै राखेर 
मकै खेतमा धान रोप्न आत्तुर छिन् आमा, 
यता, सहरमा एकाबिहानैदेखि भोकै बस्दै 
हातमा मेहेन्दी लगाउने धोको बुन्दैछिन् छोरी । 

बिन्ती बिसाउँदै गाउँमा,
ऋण बटुलेर छोरीले भनेको गुन तिर्न 
अघिल्लो वर्षको उही धान चामल बेचेर
हरियो मखमलको कुर्ता र चुरा किन्दिने
आमाको हात आज
धानको बीउ उँखेल्दाउँखेल्दै
रगताम्मे भएको छ 
उता, सहरमा आमाले आफ्नो पीडा लुकाउँदै 
सुख जुटाउने बहानामा गरेको कर्मले 
यता मनसँगै छोरीको हात मेहेन्दीले 
रंगीन भएको छ । 

खासमा रङहरू एउटै हुनुपर्ने होइन र ? 
छोरी रंगीन भएर सजिँदा आमा पनि
उस्तै रङले सजिनुपर्ने होइन र ?

भन्छन् रङहरू गाढा हुन्छन्
मायाको रङले बाल्यकालदेखि रंगिएकी छोरीलाई 
टाढा भएका बाआमा कुप्रो पर्दासम्म रङ्गाउनुपर्छ र ? 

उनैले कोरिदिको हातको भाग्यरेखामा 
जिन्दगी सफल होस् भनेर गन्तव्यसम्म पुग्न
देखाएको बाटो छोडेर 
आफ्नै पारा
भुलेर जन्मदिने सारा
आज छोरी पर पुगेकी छिन्
जुनदिन आमाले पर सरेकी आफ्नी छोरीलाई 
नजिकै आफ्नै खाटमा सुताएर राखेकी थिइन् ।

मेहेन्दीमा कैयौं नाम कोर्दै हिँड्ने 
छोरीको काम देखेर 
आमालाई अब मेहेन्दीमा शंका छ । 
किनकि, मेहेन्दीमा कोरिएको नाम
छोरीलाई प्यारो लाग्ला 
तर,
आमाले मनमा कोरेको छोरीको नाम 
आफ्नो मन नमरुन्जेलसम्म भुल्न सक्दिनन् । 
त्यसैले बाआमा दु:खी छन् 
मेहेन्दीको रङ देखेर ।

See More On

सुझावित समाचार